0
हास्यव्यङ्ग प्रस्तुतिमा अरुको आवाज नक्कल गरि दर्शकलाई मनोरञ्जन दिंदै आइरहेको त हामीले सुनेका, देखेका र हेरका पनि थियौं । तर दोहोरी गीत गाउने दुरुस्तै अर्काको स्वरमा त्यो पनि एक जनाको होइन दश–दश जनाको । सुन्दा अचम्म र विश्वास  नलाग्न सक्छ तर यो सबै गर्न सक्छन् लोक दोहोरी गायक राजन कार्की । उनले दश जना लोक दोहोरी क्षेत्रका हस्तीको आवाज जस्ताको तस्तै निकाली गीत गाउने गरेका छन् । यसरी गीत गाउन थालेको एक वर्षभन्दा बढि भइसकेको छ । ‘पहिला त रहरै रहरमा साथीहरुसँग रमाइलो गर्दा त्यस्तो आवाज निकाल्ने गरें, पछि सबैले हौसला दिएपछि खुलेरै साँगीतिक कार्यक्रममा प्रस्तुति राख्न शुरु गरें’ उनी सुनाउँछन् ।
पुरुषोत्तम न्यौपाने, विष्णु खत्री, पशुपती शर्मा, राम्जी खाँड, कुलेन्द्र वि.क., राजन ठकुरी, विमल डाँगी, एक नारायण भण्डारी, राजु परियार र आफ्नो समेत गरी दश कलाकारको आवाज उनले जस्ताको तस्तै निकाली पुरा गीतनै गाउन सक्छन् । प्रतिभा भएर पनि सांगीतिक क्षेत्रमा हुने भेदभावका कारण देश, विदेशमा हुने कार्यक्रममा सहभागी हुने मौका भने उनले विरलै पाउने गरेका छन् । त्यसोत पर्याप्त अवसर दिएको खण्डमा नेपाली साँगीतिक क्षेत्रमा केहि परिवर्तन गर्ने सक्ने खुबी उनमा रहेको उनका सहयात्री संगीतकर्मीहरु स्वीर्काछन् । लोक दोहोरी गीतको उर्वरभूमि पोखरा अनि समग्र पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरमा स्थापित हुने अभिलाषा लिएर उनी अगाडि बढिरहेका छन् ।
बुबा पद्मबहादुर र आमा रिमाको कान्छो सन्तानको रुपमा विचारीचौतारा–९, स्याङजामा वि.सं. २०४५ साल मंसिर महिनामा जन्मिएका कलाकार कार्की बाल्यकालदेखि नै गीत–संगीतको क्षेत्रमा रुचि राख्ने गर्दथे । गाउँमा हुने विभिन्न प्रतियोगितामा भाग लिई थुप्रै पुरस्कार जित्न सफल भएका उनी लोक तथा दोहोरी गीतको क्षेत्रमा अगाडि बढ्न चाहन्थे । पढाइको शिलशिलामा बाग्लुङ बस्नेक्रममा उनको यात्राको शुभारम्भ भएको हो । जब बाग्लुङबाट पोखरा हुँदै उनी क्यारियर निर्माणका लागि राजधानी काठमाडौ छिरे, त्यसपछि उनको जीवनले कोल्टे फे¥यो ।
जब काठमाडौंको भीडमा उनको भेट विष्णु खत्रीसँग भयो, त्यसपछि उनको यात्राले नयाँ मोड लिन पुगेको हो । एकवर्ष खत्रीसँगै बसे । धेरै कलाकार चिन्ने मौका पनि प्राप्त गरे । साथमा धौलागिरी क्यासेट सेन्टरमा मिडिया मेनेजरको रुपमा काम गरे । जसले सांगीतिक यात्रामा अगाडि बढ्न सजिलो भयो । दुईवर्ष काठमाडांैको बसाई पश्चात् अध्ययन तथा आफ्नो यो यात्रालाई निरन्तरता दिन पोखरा रहि अगाडि बढिरहेका छन् । हालसम्म लगभग एकसय भन्दा बढि उनले आवाज र लय संकलन गरेका गीत बजारमा आइसकेका छन् भने एकदर्जन गीतमा शब्द सिर्जना समेत उनले गरेका छन् ।
२०६३ सालमा ‘कस्लाई दिनु दोष’ एल्बमबाट औपचारिकरुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका उनले २०६३ सालमा नै ‘करुवाको जल’ एल्बम निकालेका थिए । यी एल्बमबाट सफलता मिले पश्चात् थप उर्जा यिनमा थपियो वि.सं.२०६५ सालमा ‘छोराले बाहु भुल्ने बेला भो’ एल्बम बजारमा ल्याए यसरी उनको लोकप्रियता चुलिंदै गएको थियो । त्यसपछि आएका भाउजुको भाई राम्रो, सुःख दुःख साट्न पाइएन, फेरि भेट हुन मन लाग्छ, मनको रहर, साचे झैं भएत, आँखा झिमिझिमि, सीसा जस्तै फुटेको लगायतका गीत बढि मात्रामा चर्चित बनेका थिए । उनले आवाज भरेको तिमीसँग नजर जुधाई बोलको सुगम संगीतले समेत उनलाई भर्सस्टाइल गायको परिचय दिएको थियो । रेडियो सराङ्कोटमा लोक गीत सम्बन्धी कार्यक्रम प्रस्तोताको रुपमा स्थापना कालदेखि काम गर्दैआएका उनी रुपाहिल दोहोरीसाँझ पोखरामा गीत गाउने गर्दछन् । त्यसोत यसअघि बिसौनी दोहोरीसाँझ र फेवा दोहोरी साँझमा समेत उनले गीत गाइसकेका छन् । कार्यक्रमको शिलशिलामा काठमाडांै, पोखरा, बाग्लुङ, पर्वत, स्याङजा, जाजरकोट, दैलेख, पाल्पा लगायतका नेपालका ५० भन्दा बढी जिल्ला पुगिसकेका छन् । हुनत दुवई र भारतमा समेत उनी पुगि आफ्नो क्षमता देखाइसकेका छन् । पे्ररणाको श्रोत विष्णु खत्री, पुरुषोत्तम न्यौपाने र हीरा गोैतमलाई लिन्छन् । आफूले सिर्जना गरेको गीत सकेसम्म आफैले आवाज दिनुपर्ने जसले गर्दा गीतको मर्म नमर्ने तर्क यिनको छ । केही गीतमा अभिनय गर्न समेत भ्याएका कार्की स्टेज तताउने नाच्न मिल्ने रमाइला गीत सिर्जना गर्ने रुचाउँछन् । देउराली, तपाईको स्वर हाम्रो सन्देश नामक रेडियो कार्यक्रममा पनि प्रतिभा प्रस्फुटन गरी यात्रा अगाडि बढाएका यिनी यस्ता कार्यक्रमले नवोदित प्रतिभालाई अगाडि बढ्न हौसला प्रदान गर्ने बताउछन् । विभिन्न सांगीतिक कार्यक्रममा निर्णायकको भूमिका निभाइसकेका कार्कीलाई लोक दोहोरी क्षेत्रमा पु¥याएको योगदान स्वरुप सुनौलो एफएम, क्षेत्री युवा समाज नेपाल, बाटुले तीज मेला, विष्णु पादुका क्लव हेम्जा, सिने दर्पण फिल्म प्रा.लि., रेडियो सराङ्गकोट, जनमुक्त्ति युवा क्लव, धवलागीरी उफ एम लगायतका संघ–संस्थाबाट उनी सम्मानित भैसकेका छन् । सुरुको एल्बम निकाल्दा लगानी गरे पनि त्यसपछि लगानी गर्नु नपरेको तर प्रतिफल भने मिलिरहेको भन्न पछि पर्दैनन् । नवोदित कलाकारलाई बुझेरमात्र यस क्षेत्रमा आउन आग्रह गर्दै ऋण काढेर एल्बम ननिकाल्न सल्लाह दिन्छन् । अडियोको बिक्री कम भएपनि सांगीतिक कार्यक्रम तथा सिआरबिटीबाट राम्रो आम्दानी भएको बताउँदै पाइरेसी कम गर्न सरकारले केही व्यवस्था गरे यसको भविष्य उज्ज्वल हुने तर्क उनको छ । पोखरामानै रहेर निरन्तर यसै क्षेत्रमा लाग्ने प्रण गरेका उनी आगामी दिनमा पनि यसरी नै साथ सपोर्ट गर्न आग्रह गर्दै आफूले पनि सदैव श्रोता तथा दर्शकलाई सहयोग गर्ने वाचा गर्छन् ।

Post a Comment

 
Top