0
लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष जोशेफ जोयफ पे्रष्टनले पहिलो पटक नेपालको भ्रमण गर्नेक्रममा पोखराको समेत भ्रमण गरेका छन् । पोखरा स्थित लायन्स र लियो क्लवहरुको निमन्त्रणामा सोमबार पोखरा आएका प्रेष्टनले सोमबार नै छुट्टा–छुट्टै कार्यक्रममा सहभागी भई लायन्सको लक्ष्य र उद्देश्य एवं लायनवादका बारेमा प्रकाश पारे । पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले लायन्सले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको स्पष्ट पारे । लायन्सका कारण सदस्यहरुमा सेवा भावनाको विस्तार भएको, नेतृत्व क्षमता बढेको र समाजले लायन्स क्लवका सदस्यहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको स्पष्ट पार्दै उनले समुदायका लागि विभिन्न परियोजनाको संचालन गर्न स्थानीय लायन्स क्लवहरुले लायन्स अन्तर्राष्ट्रियमा प्रस्ताव पठाउन समेत आग्रह गरे । लायन्सका अगुवाहरु र पत्रकारहरुसंग छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरिएकोमा अन्तर्राष्ट्रिय अध्यक्ष प्रेष्टनले पोखरामा आफूले पाएको सम्मानले धेरै खुशी लागेको बताए ।
पत्रकार भेटघाट कार्यक्रममा दिईएको जानकारी अनुसार दुई सय नौ मुलुकमा लायन्सको विस्तार भएको र १४ लाख बढी सदस्य रहेका छन् । नेपालमा पाँचसय ३६ वटा लायन्स क्लवमा करिब १२ हजार सदस्य रहेको र पोखरामामात्र पनि ५७ वटा लायन्स तथा लियो क्लव रहेको र एकहजार पाँचसय सदस्य रहेका छन् । लायन्स अन्तर्राष्ट्रियको सहयोगमा नेपालमा पनि मोतियाविन्दुको निःशुल्क शल्यक्रिया, मिजेल्स रुवेला विरुद्ध खोप अभियान, विभिन्न सामुदायिक अस्पताल, सामुदायिक भवन र विद्यालय निर्माण, खानेपानी जस्ता परियोजना संचालन भैरहेका छन् ।
यसैबीच लायन्स अन्तर्राष्ट्रिय र नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको संयुक्त पहलमा नेपाल सोसल विजनेश कार्यान्वयनमा ल्याइएको छ । नेपालका सामाजिक समस्यालाई सोसल विजनेशद्वारा समाधान गर्न र सामाजिक रुपमा पछि परेका वर्ग, क्षेत्र र समुदायको आर्थिक एवं सामाजिक विकासको पहल गर्न नेपाल सोसल विजनेशको शुरुवात गरिएको हो । यसका लागि चौधरी ग्रुप नेपालले प्रत्येक वर्ष एकलाख अमेरिकी डलर र लायन्स अन्तर्राष्ट्रियले दुईलाख २० हजार अमेरिकी डलर जम्मा गर्ने सहमति समेत भएको छ ।
नेपाल सोसल विजनेशको काम जुम्लामा शुरु गरिसकिएको र आगामी ५ वर्षमा देशका विभिन्न जिल्लामा लायन्स क्लवहरुको सहकार्यमा करिब तीनसय वटा व्यवसायिक परियोजना शुरु गरिने लक्ष्य राखिएको चौधरी ग्रुपका कार्यकारी अध्यक्ष विनोद चौधरीले जानकारी दिए । जुम्लामा शुरु गरिएका चारवटा पाइलट प्रोजेक्टमा कर्णाली मितेरी उद्योग, तातोपानी पर्यापर्यटन, अर्गानिक फलफूल एवं खाना प्रशोधन उद्योग र मितेरी शान्ति वाटिका रहेको जानकारी चौधरीले दिए । उनले पोखराका पत्रकारहरु माझ र पोखरा स्थित लियो तथा लायन्स क्लवका अगुवाहरुसंगको छुट्टा–छुट्टै कार्यक्रममा बोल्नेक्रममा लायन्स क्लवमा लाग्दा नेतृत्व विकास र सामाजिक प्रतिष्ठा बढ्ने भएकोले पनि लायन्सप्रतिको आकर्षण बढेको बताए । कार्यक्रममा लायन्सका निवर्तमान मल्टिपल काउन्सिल चियर पर्सन दीपक श्रेष्ठले समाजमा देखा पर्ने समस्याको समाधानका लागि सरकार र सामाजिक संस्थाको प्रयासलेमात्र सार्थकता नपाउने भएकोले सबै पक्षको सहयोग र समर्थनको खाँचो औंल्याए । यसैगरी पूर्व मल्टिपल काउन्सिल चियर पर्सन तथा अन्तर्राष्ट्रि डाइरेक्टरका प्रत्यासी सञ्जय खेतानले लायन्स अन्तराष्ट्रियसंग सहकार्य गरेर नेपालमा धेरै परियोजना संचालन गर्नुपर्ने खाँचो औंल्याए । अमेरिकाको हवाइमा २०१५ जुलाईमा  हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट पहिलो पटक आफू इन्टरनेशनल डाइरेक्टर पदमा उम्मेदवार बनेको कारण त्यस सम्मेलनमा सहभागी भएर तन, मन र धनले सहयोग गर्न र नेपालको झण्डा फहराउन सबैसंग उनले आग्रंह गरे । कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठ, डिष्ट्रिक्ट गभर्नर भुगोल शेरचन, फष्ट भाइस डिष्ट्रिक्ट गर्भनर ध्रुव थापा, डिष्ट्रिक्ट एड्भाइजर सोनाम साङ्पो, पत्रकार भेटघाट कार्यक्रमका संयोजक दुर्गा हुमागाईं र लायन्सहरुसंगको भेटघाट कार्यक्रमका संयोजक ध्रुव श्रेष्ठ लगायतले लायनवाद र अन्तर्राष्ट्रिय लायन्सबाट नेपालीहरुले गरेको अपेक्षाका बारेमा चर्चा गरेका थिए । सोही कार्यक्रममा शारदा पराजुली र राधा पौडेललाई एमजे एफको प्रमाणपत्र तथा अन्य सहभागीहरुलाई लायन्स पिनमार्फत अन्तर्राष्ट्रिय अध्यक्षले सम्मान गरेका थिए । सोमबार अपरान्ह पोखरा आएका अन्तर्राष्ट्रिय अध्यक्ष प्रेष्टन र अरवपतिको रुपमा परिचित विनोद चौधरी सहितको टोली मंगलबार बिहान काठमाडौं फर्किने कार्यक्रम छ । 

Post a Comment

 
Top