0

पोखरा सुन्दर पर्यटकीय नगरी हो । सुन्दर नगरी भएपनि पोखरामा दिनप्रतिदिन जनसंख्या र वातावरण प्रदुर्षण बढ्दै गइरहेको छ । बढ्दो जनसंख्या र सवारी चापले पोखराका अधिकांश सडक अस्तव्यस्त बन्ने गरेका छन् । पोखराको सडकमा प्रत्येक दिन विभिन्न किसिमका सवारीसाधन एक लाख बढी गुड्ने गर्दछन् भने साईकलमात्र १ हजारको हाराहारीमा गुड्ने गरेका छन् । साईकलयात्रीका लागि छुट्टै लेन नहुँदा साईकल यात्रीहरु संधै जोखिममा यात्रा गर्न बाध्य छन् । अस्तव्यस्त सडकमा गुडेका ठूला सवारी साधनहरुको चेपुवामा पर्दै गरेका साइकल यात्रीको सुरक्षामा आजसम्म कसैले ध्यान दिन सकेका छैनन् । यसका कारणले साइकलयात्री दुर्घटनामा समेत पर्ने गरेको कैयौं उदाहरण छन् । यसैलाई मध्यनजर गर्दै साईकल सिटी पोखराले आवाज उठाउन थालेको छ । साइकल सिटीले साईकल लेनको माग गर्दै सोमबार विभिन्न सरकारी कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको छ । साइकल सिटीका अध्यक्ष कमलमोहन कोइराला नेतृत्वको टोलीले सडक डिभिजन कार्यालय पोखरा, क्षेत्रीय प्रशासन कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला विकास समिति कास्की, उपत्यका नगर विकास समिति पोखरा, पोखरा उप–महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, नेपाल पर्यटन बोर्ड पोखरा लगायतका कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको हो । साइकल सिटी पोखराले स्थापना कालदेखि नै साइकल यात्रीको बढवा दिनुका साथै साईकल सम्बन्धी जनचेतना कार्यक्रम अगाडि बढाउँदै आइरहेको छ ।
ज्ञापनपत्र बुझ्दै सडक डिभिजन कार्यालय पोखराका  निमित्त कार्यालय प्रमुख विश्वविजयलाल श्रेष्ठले वातावरण पर्यावरण र मानव स्वास्थ्यका लागि साइकल अति उपयोगी भएकाले साईकल लेनको मागप्रति आफू सकारात्मक रहेको बताए । त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले पोखरा वरपर १ सय १५ कलोमिटर साईकल लेन बनाउने अवधारणा अगाडि आईसकेकोले त्यसको निर्माणलाई छिट्टै तीव्रता दिने बताए ।
ज्ञापनपत्र बुझदै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले साइकल सिटीका अवधारणालाई सम्बन्धित निकायमा पठाई साइकल लेन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले साईकल लेनको अवधारणा पर्यटकीय नगरी पोखराका लागि सकारात्मक रहेको स्पष्ट पार्दै  साइकल लेनको बारेमा सकारात्मक सोच राखेर नगरपालिकाले विशेष योजना ल्याउने बताए । उनले भएको बजेट  र संरचनामा के कस्तो कार्य गर्न सकिन्छ त्यसमा आफूहरुले छलफल गरेर अघि बढ्ने स्पष्ट पारे ।
पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष विष्णुप्रसाद बाँस्तोलाले छुट्टै साइकल लेन बनाउन पोखराको संरचना नै बदल्नुपर्ने आवश्यकता औंल्याउँदै  पोखराको जिरोकिमिदेखि विन्ध्यवासिनी सम्म बन्न लागेको नयाँ ६ लेनको सडकमा साइकल लेन बनाउन पहल गर्ने प्रतिवद्धता जनाए ।
साइकल सिटी पोखराले विभिन्न सहकारी कार्यालयमा बुझाएको ज्ञापनपत्रमा स्वस्थ्य, वातावरण र पर्यटनको नाराका साथ विश्वको कैयौं विकसित राष्ट्रहरु वातावरणको संरक्षण गर्न लागिपरेको र नेपालमा पनि त्यस्तो अवधारणा ल्याउन माग गरिएको सचिव प्रकाश वज्राचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top