0
कास्कीको चापाकोट गाविसमा रहेको सिद्धवराह उच्च मा.वि.ले सोमवार विद्यालयका शिक्षकलाई सम्मान तथा विद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरेको छ । विद्यालयका दलित विद्यार्थी तथा एस.एल.सी.मा धेरै विद्यार्थी पास गराउने विषयगत शिक्षक तथा शिक्षिकालाई कास्कीका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यले सम्मान गरेका हुन् । विद्यालयका २ सय ४० जना दलित विद्यार्थीहरुलाई ४ सय रुपैयाँ प्रति विद्यार्थी छात्रवृत्ति रकम प्रदान गरीएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पराजुलीले जानकारी दिए । कक्षा ६ देखि १२ सम्म पढाई हुने सिद्धावराह उच्च माविका १ सय ३० जना दलित छात्रा र १ सय १० जना दलित छात्रहरुले छात्रवृत्ति रकम पाएका हुन् ।
यसैगरी विद्यालयका शिक्षकहरु प्रेमराज पराजुली, देवराज पराजुली, सेतीमाया पराजुली, केदारनाथ पराजुली र वोधराज पौडेललाई पनि शिक्षा अधिकारी आचार्यले सम्मान गर्नुभयो भने विद्यालयका प्रधानाध्यापक ठाकूरप्रसाद पराजुलीलाई दीर्घ सेवा पदकवाट सम्मान गरिएको थियो । सेवा क्षेत्रका उत्कृष्ट विद्यालयका रुपमा पञ्चकोशी नि.मा.विलाई सम्मान गरियो भने, कार्यक्रममा प्रधानाध्यापक ठाकूरप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सम्मान कार्यक्रममा वोल्दै, कास्कीका शिक्षा अधिकारी आचार्यले विद्यालयको भौत्तिक पूर्वाधार राम्रो भएर मात्रै नपुग्ने हुँदा गुणस्तर वढाउने कार्यमा लाग्न आग्रह गरे । उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर वढाउन सके मात्रै गरिव जनताका छोराछोरीको भविष्य उज्जवल वन्ने दावी गरे ।
विद्यालयका संरक्षक एवं सेकोर्स अफ वेल्जियमका नेपाल प्रमुख रामप्रसाद तिमिल्सनाले विद्यालयको भौक्तिक पूर्वाधार निर्माणका लागि आफूले सदैव सहयोग गर्ने बताए । विद्यालयको १४ कोठे पक्की भवन तिमिल्सना कै आर्थिक सहयोगमा पहिले नै वनीसकेको छ भने, अहिले पनि १० कोठे थप नयाँ भवन समेत तिमिल्सिना कै आर्थिक सहयोगमा निर्माण सुरु भएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले गणित र विज्ञानका २ जना शिक्षक दरवन्दी समेत शिक्षा अधिकारीसंग माग गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपाने, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दामवहादुर वि.क., विद्यालय व्यवस्थापन समितिका सदस्यहरु हरि भण्डारी र टंकप्रसाद सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष एकनाथ पराजुली, मणिरत्न वद्यसरा छात्रवृत्ति अक्षयकोषका संस्थापक विश्वेश्वर पराजुली, विद्यालयका सहायक प्रधानाध्यापक वद्रीनाथ पराजुली लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
यसैगरी मणिरत्न वद्यसरा छात्रवृत्ति अक्षयकोषवाट प्रत्येक वर्ष विद्यालयका ६ देखि १० सम्मका प्रथम ५ जना र १ जना जेहन्दार विद्यार्थीलाई प्रतिविद्यार्थी १ हजार रुपैयाँ र कक्षा ११ र १२ का ४ जना उत्कृष्ट विद्यार्थीलाई १५ सय रुपैयाँका दरले छात्रवृत्ति समेत दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पराजुलीले जानकारी दिए।  कार्यक्रममा विद्यालयको रजत जयन्तीको अवसरमा प्रकाशन गरिएको स्मारिकाको पनि जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यले विमोचन गरेका थिए ।



Post a Comment

 
Top