0
नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले धार्मिक एवम् सांस्कृतिक गतिविधिले मुलुकको सद्भाव र अनुशासन कायम राख्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराको आयोजनामा बिहीबारदेखि विन्ध्यवासिनी मन्दिरमा शुरु भएको नवदुर्गा महोत्सवको शुभारम्भ गर्दै उनले नजिक आइरहेको विजयादशमीको अवसरमा सम्पूर्ण पोखरावासीलाई हार्दिक मङ्गलमय शुभकामनासमेत दिए ।    मन्त्री डा. रिजालले तोकिएको मिति माघ ८ गतेभित्र नयाँ संविधान जारी गर्न सरकार प्रतिवद्ध रहेको बताए । कार्यक्रममा सभासद यज्ञबहादुर थापा र सचिव तीर्थ श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । यसअघि नवदुर्गाका नौ रूपसहित एकसय आठ कलस, विभिन्न भजन समूह, जातजातिको भेषभूषा र सांस्कृतिक झाँकीसहितको शोभायात्राले नगर परिक्रमा गरेको थियो । विन्ध्यवासिनी मन्दिर परिसरबाट शुरु भएको शोभायात्रा पोखराको मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल हुदै पुन मन्दिरमा पुगि समापन भएको थियो । शोभायात्रामा मन्त्री डा. रिजाल सहित नबदुर्गाको ९ रुपको झाँकी, एकसय आठ कलश, विन्ध्यवासिनी मन्दिरको झाँकी, विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा धार्मिक, सामाजिक, शैक्षिक संघ–संस्थाहरुको सहभागिता रहेको थियो ।
मन्दिर परिसरमा बिहीबारदेखि महानवमीको दिनसम्म दैनिक सङ्गीतमय श्रीमद्देवी भागवत कथा वाचन शुरु भएको छ ।  नवरात्रिभर बिहान साढे ४ बजेदेखि साँझ ८ बजेसम्म मन्दिर दर्शनको लागि खुल्ला राखिने भएको छ । विन्ध्यवासिनी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यले वडादसैंको अवसरमा विगत चार वर्षदेखि नवदुर्गा महोत्सवको आयोजना गरिदै आएको छ । पोखरा आउने आधाभन्दा बढी पर्यटकले मन्दिरको अवलोकन एवम् दर्शन गर्ने गरेकोे बताइएको छ ।  त्यसैगरि नयाँ बजारको र छोरोपाटनमा रहेका दुगाए मन्दिरमा समेत नवदुर्गा नवाह संचालन भएको छ ।

Post a Comment

 
Top