0
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आवद्ध संस्था सुनास कास्कीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रदान गरिएको सेवा प्रवाहका विषयमा मंगलवार गुनासो संकलन गरेको छ । विहान १० वजेदेखि दिउँसो १ वजेसम्म भएको कार्यक्रममा विभिन्न खालका १६ वटा गुनासो संकलन भएको सुनासका कार्यक्रम अधिकृत भानु पराजुलीले जानकारी दिए । सेवाग्राहीले प्रशासन कार्यालयमा नागरिकता तथा पासपोर्ट वनाउने क्रममा वढि दुख झेल्नुपरेको गुनासो गरेका छन् ।
सेवाग्राही नागरिकहरुले नागरिकतामा नाम ठेगाना उल्टोपाल्टो वनाईदिने, तोकिएको म्यादमा पासपोर्ट नपाईने, फोटो खिच्ने ठाँउमा कर्मचारीको मिलेमतो हुने गुनासो पनि सेवाग्राहीको छ । कार्यालयमा आईपर्ने कतिपय जटिल काममा फाँटवाला कर्मचारी र विचौलिया दलालहरुको आन्तरिक नेटवर्क मार्फत रकम लिएर काम गर्ने गुनासो पनि सेवाग्राहीहरुको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीको सार्वजनिक शौचालय फोहर भएको, सहायता कक्षा व्यवस्थित अझै नभएको तगथा कर्मचारीहरुको काम परम्परागत शैलीको भएको तथा ढिलासुस्ती गराउने पनि सेवाग्राहीको गुनासो छ । सुशासनका लागि नागरिक समाज कास्की मार्फत आएका सेवाग्राहीका गुनासा प्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर राउतले बताए । गुनासो संकलन मार्फत आएका गुनासाका वारेमा सुनास टोलीसंगको भेटका प्रजिअ राउतले सुधारको लागि अधिकतम प्रयत्न गर्ने प्रतिवद्धता पनि जनाए । उनले कार्यालयको एक्लो प्रयासले मात्रै सुधार संभव नभएकाले नागरिक समाजको खवरदारी संधै हुनुपर्ने आवश्यकता पनि औल्याए । सुनासका अध्यक्ष पुण्य पौडेलले आमजनता र सेवाग्राहीलाई प्रत्यक्ष प्रभावपार्ने विभिन्न अनियमित काम र त्यस्ता कार्यमा संलग्न कर्मचारी माथि निगरानी मात्रै गर्दा पनि सुशासन प्रदान गर्न थप वल मिल्ने विश्वास व्यक्त गरे । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका महासचिव भरतवहादुर थापा, पूर्वउपाध्यक्ष आनन्दराज मुल्मी, सुनासका अध्यक्ष पुण्य पौडेल, सुनासका पदाधिकारी तथा सदस्य, ईन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल, नागरिककर्मी विष्णु वराल सहितको टोलीले जिल्ला प्रशासन कार्यालय कास्कीको अनुगमन समेत गरेको सुनासका कार्यक्रम अधिकृत भानु पराजुलीले जानकारी दिए ।

Post a Comment

 
Top