0
राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम मंगलवारदेखि पोखरामा शुरु भएको छ । तीन दिने सो प्रशिक्षक प्रशिक्षण कार्यक्रममा १६ जिल्लाका ३६ जना पार्टी कार्यकर्ताको सहभागिता रहेको छ । देशमा नयाँ संविधान निर्माणको संघारमा पार्टीको अवस्थालाई मजवुत बनाउन पार्टीले सो प्रशिक्षण कार्यक्रम आयोजना गरेको राप्रपा नेपाल कास्कीका सचिव अर्जुनवहादुर वस्नेतले जानकारी दिएका छन् ।  कार्यक्रमको उद्घाटन गर्दै राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले गर्ने भनेको राष्ट्रिय सभा कानुन विपरितको अभ्यास भएको बताएका छन् । देशमा कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीले कानून विपरितको राजनीतिक अभ्यास गर्दै माओवादीले भने जस्तो राष्ट्रिय सभा गर्ने निर्णय गरेपनि त्यो संविधान नवनाउने खेलको एक सूचक भएको अध्यक्ष थापाले आरोप लगाए ।
राष्ट्रिय सभाको नाउँमा प्रमुख राजनीतिक दलहरुले अहिले नेपाली जनताको आँखामा छारो हाल्ने काम गरेको भन्दै उनले यसले संविधान निर्माणमा झन् ठूलो तगारो लगाउने वताए । उनले कानून विपरित हुने राष्टिूय सभाको कुनै अर्थ नरहेको वताए । अध्यक्ष थापाले दलहरुले मोहन वैद्य सँग गर्ने भनेको वार्ता प्रमुख तीनदलहरुको नाटकमात्र भएको वताए ।
देशमा रहेका सवै जात जाति र भाषा भाषीको स्थान सुरक्षित हुने संविधानले मात्र मुलुकमा रहेको समस्याको स्थायी समाधान गर्ने अध्यक्ष थापाले बताए । उनले अहिले कै अवस्थामा संविधान जारी भएपनि त्यो संविधान टिकाउ नहुने भन्दै अन्तिममा केही विवादित विषयमा जनमत संग्रह गर्नुको विकल्प नरहेको स्पष्ट पारे । नेपालमा थोरै भएपनि सनातन हिन्दू राष्ट्र र राजसंस्थालाई स्थान नदिएसम्म देशका यावत समस्याहरु ज्युँका त्युँ रहने अध्यक्ष थापाले टिप्पणी गरे । देशमा संघीयता हुने नहुने भन्ने कुरा पनि जनता सँग सोध्नु पर्ने भएकोले यो विषयमा पनि जनमत संग्रहको विकल्प नभएको अध्यक्ष थापाको भनाई छ । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष डा. धवलशमशेर राणाले देशलाई उन्नतिको पथमा लैजान पार्टी कार्यकर्ताहरु चनाखो भएर वस्नुपर्ने वताए । उनले देशमा फेरी आन्दोलन गर्नै पने अवस्था आउन सक्ने भन्दै त्यसको लागि तयार रहन पनि कार्यकर्तालाई आग्रह गरे ।
सो अवसरमा एन्फा कास्कीका पूर्व अध्यक्ष खेमवहादुर गुरुङ सहितका ९ जना व्यक्तिहरु पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष कमल थापाले पार्टीको सदस्यता हस्तान्तरण गरेका थिए । राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महामन्त्री चन्द्रवहादुर गुरुङ, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख सुशिलकुमार श्रेष्ठ,  जिल्ला उपाध्यक्ष भीमराज भण्डारी र सचिव अर्जुनवहादुर वस्नेतले आ आफ्ना भनाई राखेका थिए । 

Post a Comment

 
Top