0
कास्कीको लेखनाथमा विहीबारदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको उद्घाटन गर्दै समाजसेवी सूर्यमोहन भट्टराईले आफ्नो गाउँ÷ठाउँ बनाउनका लागि आफै अघि सर्नुपर्ने बताए ।  भट्टराईले हिन्दु धर्मलाई बचाईराख्नु पर्नेमा समेत जोड दिए । युवा पण्डित कमलनयन गौतमले मानिसको जीवन कतिबेला के हुने हो निश्चित नभएकाले समयमा नै परोपकारको काम गरिहाल्नुपर्ने बताए । नेपाली कांग्रेस कास्की सभापति एवं सभासद् यज्ञबहादुर थापाले सुख, शान्ति र समृद्विसँगै नयाँ लोकतान्त्रिक संविधान मुलुकको आवश्यकता भएको बताए । कार्यक्रममा नेपाली काङ्ग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने, लेखनाथ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष सुमनमोहन भट्टराई र राष्ट्रिय परोपकार महासङ्घका उपाध्यक्ष ललित बहादुर भण्डारीले महायज्ञले धार्मिक जागरणसँगै समाज रुपान्तरणमा पनि ठूलो भूमिका खेलेको बताए । कार्यक्रममा दुर्गा मन्दिरका लागि मूर्ति उपलव्ध गराउने लेखनाथ–५ का नारायण रानाभाट र सरस्वती रानाभाटलाई सम्मान गरिएको थियो । महायज्ञ उद्घाटन पूर्व तालचोकबाट  बाजागाजा सहित निकालिएको शोभायात्रा विभिन्न स्थान परिक्रमागर्दै महायज्ञस्थल पुगेपछि उद्घाटन समारोहमा परिणत भएको थियो । राष्ट्रिय परोपकार महासङ्घ नेपाल लेखनाथ वडा इकाई समिति–५ को अग्रसरता र स्थानीय सङघ÷ संस्थाको सहयोगमा आयोजित महायज्ञ १६ गतेसम्म चल्ने छ । निर्माणाधिन दुर्गा मन्दिर एवं सामुदायिक भवनको अधुरो काम पुरा गर्नका लागि अर्थ संकलन गर्ने उदेश्यले महायज्ञ आयोजना गरिएको प्रचार संयोजक मोती गिरीले बताए । महायज्ञ लेखनाथ–५ विजयपूरस्थित निर्माणाधिन दुर्गा मन्दिर तथा सामुदायिक भवनमा संचालन भएको छ ।
महायज्ञबाट ५१ लाख रुपैया संकलन गर्ने लक्ष्य लिइएको मूल आयोजक समितिका कोषाध्यक्ष डम्बरबहादुर थापाले बताए । महायज्ञमा युवा पण्डित कमलनयन गौतमले भागवत् वाचन गर्ने छन् ।

Post a Comment

 
Top