0
कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान), कास्कीको छैटांै वार्षिकोत्सव समारोह सोमबार पोखरामा सम्पन्न भएको छ । सन् २००८ मा स्थापित क्यान कास्कीको स्थापनाको छैटौ वार्षिकोत्सव समारोहमा संस्थाका नवनिर्वाचित अध्यक्ष गुणानीधि पाण्डेले केक काटेका थिए ।
समारोहका प्रमुख अतिथि क्यानका संस्थापक अध्यक्ष बिमलकुमार शर्माले क्यान कास्कीको अझ प्रगतिको शुभकामना दिए । उनले सूचना प्रविधिको विकासमा लाग्नुपर्ने सुझाव दिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मी त्रिपाठी, पोखरा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेल, लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारी, प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले सूचना प्रविधिको क्षेत्रमा क्यान कास्कीले गरेको योगदानको सह्राहना गरे । संस्थाका अध्यक्ष पाण्डेले यस आ.व.मा गर्ने विभिन्न कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने निवर्तमान अध्यक्ष चण्डिप्रसाद अर्यालले आफ्नो कार्यकालमा सम्पन्न विभिन्न कार्यक्रमका संयोजकलाई मायाको चिनो प्रदान गरेका थिए । यसैबीच, क्यान कास्कीले पोखरामा सूचना प्रविधिको क्षेत्रमा नयाँ प्रयोग थालेको छ । उसले इन्स्टिच्यूटमा अध्ययन गर्न आउने विद्यार्थीहरुको अनलाइन परीक्षा लिई प्रमाणपत्र दिने व्यवस्था मिलाएको हो । जसमा बगरस्थित आदर्श सफ्टवेयर एजुकेशनका विद्यार्थी रवी गुरुङलाई सो अवसरमा अनलाइन परीक्षाको प्रमाणपत्र क्यानका सचिवसमेत रहेका कार्यक्रम संयोजक विकास भुर्तेलले हस्तान्तरण गरे । त्यस्तै, यसै साता अमेरिका जान लागेका क्यान कास्कीका निवर्तमान महासचिव अच्यूत अनियाँलाई सो अवसरमा विदाइ गरियो । क्यान कास्कीका अध्यक्ष गुणानीधि पाण्डेको अध्यक्षतामा सम्पन्न सो समारोहमा संस्थाका प्रथम उपाध्यक्ष एवं वार्षिकोत्सव समारोह संयोजक चिन्तामणि बास्तोलाले गरेका थिए भने संचालन महासचिव विश्वास भण्डारीले गरेका थिए ।

Post a Comment

 
Top