0
00अखिल क्रान्तिकारीले निजी विद्यालय तथा उच्च माद्यामिक तहमा भइरहेको शुल्क वृद्धिको विरुद्धमा आन्दोलनको घोषणा गरेको छ । पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलन कार्यक्रमको जानकारी दिएको हो ।
गत ज्येष्ठ ७ गते भएको शुल्क समायोजनको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने, उच्च मावि अध्ययनको लागि छात्रवृत्ति पाएका विद्यार्थीबाट लिइएको शुल्क विना शर्त फिर्ता गरी छात्रवृत्ति वितरणलाई पारदर्शी गर्नुपर्ने, सीटीइभीटी अन्तर्गतका नसिङ्ग लगाएतमा भएको शुल्क वृद्धि गरी शूल्कको वैज्ञानिक मापदण्ड तोकिनुपर्ने लगाएतका माग राख्दै अखिल क्रान्तिकारीले आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको क्रममा आगामी २७ गते शुल्क समायोजनको सहमति पत्र समावेश गरी अभिभावकहरुलाई पत्रचार गरिने, २९ गते सवै विश्वविद्यालय कमिटी र राज्य कमिटीहरुको सरोकारवालाहरुसंग संयुक्त अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष शरद रसाइलीले जानकारी दिएका छन् । त्यस्तै ३१ गते, असोज १ र २ गते सबै आन्दोलन केन्द्रीत शिक्षण संस्थाहरुको लेखा शाखा र प्रशासनहरुमा तालाबन्दी गर्ने पनि रसाइलीले जनाए ।
असोज ३ गतेदेखि ५ गते देशव्यापी रुपमा निजी शैक्षिक संस्थाहरुमा शैक्षिक हड्ताल गरिने भएको छ । निजी शैक्षिक संस्थाहरुमा शुल्क वृद्धि हुदा गरिब तर पढ्न चाहाने विद्यार्थीहरु मारमा परिरहेकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए । दशै तिहार अगाडि कुनै पनि समाधान ननिस्किए अझै कडा आन्दोलनमा उत्रिने चेतावनी समेत रसाइलीले दिएका छन् । उनले भने( “दशै तिहार भन्दा अगाडि कुनै निष्कर्ष आएन भने कडा आन्दोलनमा उत्रन्छौँ, जसमा हामीलाई अरु विद्यार्थी संगठनहरुले पनि साथ दिने प्रतिबद्धता जनाएका छन् ।” केन्द्रीय अध्यक्ष रसाइलीले विभिन्न विद्यार्थी संगठनहरु हतियार बिनाको सेना भएपनि अहिलेको समयमा कमजोर हुदै गएको बताए । “विभिन्न पार्टी भित्र एकआपसमा झैझगडा, गुटउपगुट जस्ता घटनाहरु मौलाउँदै गएका छन्, त्यसैले गर्दा पनि विद्यार्थी संगठनहरु कमजोर हुन पुगेका हुन् । त्यस्तो अवस्थामा विद्यार्थीहरुले आफूहरुलाई कसरी व्यवस्थापन गरेर लैजान सकिन्छ त्यो भने आफैले साच्नुपर्छ ।”रसाइलीले भने । अहिलेको समयमा नेपाली युवाहरुमा विदेश जाने कि राजनीति गर्नेे भन्नेमा दुविधा भएकाले पनि विद्यार्थी संगठनहरुमा समस्या धेरै आइरहेको उनको भनाई थियो । नेपालको शिक्षामा भ्रष्टाचारीकरण, माफियाकरण दैनिक रुपमा मौलाउँदै गइरहेको अवस्थामा आन्दोलनमा जाने निणर्य गरेको रसाइलीले बताएका छन् ।

Post a Comment

 
Top