0
नेपालीहरुको महान् चाड वडादशैंको अवसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सब हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा हुने शोभायात्रामा नवदुर्गाका नौ रुप सहित एक सय आठ कलश, विन्ध्यवासिनी मन्दिरको झाकी, विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहने छ । मन्दिर परिसरमा घटस्थापना को दिनदेखि नवदुर्गा महोत्सव अन्तर्गत महानवमीको दिनसम्म दैनिक संगीतमय श्रीमद्देवी भागवत कथा वाचन हुने विन्ध्यवासिनी धार्मिक क्षेत्रविकास समितिका अध्यक्ष कार्यवाहक अध्यक्ष योगेन्द्र प्रधानले जानकारी दिए ।
मन्दिर परिसरबाट निस्केर नवदुर्गाको नौ रुपको झाँकी सहितको ¥यालीले पोखराको मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, अर्चलबोट हुँदै पुन मन्दिरमा पुगि समापन हुने बताइएको छ । विन्ध्यवासिनी मन्दिरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने उद्देश्यले बडादशैको अवसरमा विगत चार बर्षदेखि नवदुर्गा महोत्सवको आयोजना गरिंदै आएको सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । साढे ३ सय बर्षको ईतिहास बोकेको मन्दिरमा कास्कीको साथै अन्य जिल्लाहरुबाट दर्शनार्थीहरु आउने गर्दछन् साथै पोखरा आउने आधा भन्दा बढि पर्यटकहरु मन्दिर अवलोकन एवं दर्शनका लागि समेत आउने गरेको सचिव श्रेष्ठले जानकारी दिए ।

Post a Comment

 
Top