0

अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त लायन्स क्बलहरुले संचालन गर्ने कार्यक्रमहरु समाजमा प्रभाव पार्ने किसिमका हुनुर्ने पोखरामा मंगलबार आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । लायन्स क्लब अफ पोखरा भद्रकालीको आठौं पदस्थापनमा बोल्दै लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ का डिस्ट्रिक्ट गभर्नर भूगोल शेरचनले पुराना मान्यतालाई चिर्दै अघि बढ्नुपर्ने अवस्था आएको बताइन् । समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु समाजसेवाका लागि प्रेरित भएर लायन्समा आबद्ध भएको भन्दै उनले परिवर्तित समयमा सोही अनुसारको भूमिका निभाउन आग्रह गरिन् । शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापनका क्षेत्रमा क्रियाशील हुनुपर्नेमा उनले जोड दिइन् । सकारात्मक शक्ति भन्ने उद्घोषका साथ आफूले यो वर्षको लागि कार्यक्रमहरु अघि सारेको त्यसलाई सघाउन मातहतका सबै क्लबको सामूहिक सहयोग आवश्यक रहने उनको भनाई थियो । अहिले विपद् व्यवस्थापन कोष स्थापनाका लागि आफूले अभियान थालेको र नेपाल लायन्स फण्डमा समेत रकम जम्मा गरेर सामाजिक काम गर्दै अघि बढ्ने उनले प्रतिवद्धता समेत जनाइन् । पदस्थापन र अन्य नाममा भब्य पार्टी गरेर रकम खर्चिनुभन्दा त्यो रकम विपन्नको हितको खर्चिन सके बल्ल राम्रो हुने उनले बताइन् । पूर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठले क्लबहरुले क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक छाप पार्ने खालका काम गर्नुपर्ने बताए । भद्रकाली लायन्सका संस्थापक अध्यक्ष विश्वप्रकाश सिग्देलले रक्तदान र वृक्षरोपणमा मात्र अब अल्झिएर नबस्न सुझाव दिए । विपद् व्यवस्थापन कोष भन्दा पनि विपद् आउनु अघि नै जनमानसलाई सचेत गराउने खालका कार्यक्रम गर्न उनले आग्रह समेत गरे ।
जोन ३३ का अध्यक्ष देवकुमारी हिराचनले अन्य क्लब भन्दा भद्र्रकाली अलि परक किसिमको भएको भन्दै  यस्ता क्लबहरु रहेको जोनको अध्यक्ष बन्न पाउँदा खुसी लागेको बताइन । उनले डिस्ट्रिक्टले संचालन गरेको विपद व्यवस्थापन कोषका लागि १० हजार रुपैयाँ प्रदान गरिन् । कार्यक्रममा फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापा, सेकेण्ड भाइस भाइस डिस्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी, भद्रकाली क्लबका पूर्व अध्यक्ष शंकर ज्ञवाली, प्रथम उपाध्यक्ष खुबबहादुर बराल लगायतले बोलेका थिए । लायन वर्ष २०१४ ÷१५ को कार्यसमिति लाई गभर्नर शेरचनले पदस्थापन गरिन् । फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापाले क्लबका नवप्रवेशीको परिचय गराएका थिए । सो अवसरमा लायन वर्ष २०१३ ÷१४ का अध्यक्ष दीपकराज तिवारीले एक वर्षको अवधिमा आफूले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । कास्की र पर्वतका गाउँहरुमा बाख्रा पैंचो कार्यक्रमबाट आर्थिक अवस्था कमजोर भएका १३ विद्यार्थीलाई क्बलले सहयोग गर्दै आएको उनले बताए । लायन वर्ष २०१४ ÷१५ का अध्यक्ष केशव अमगाईंले वार्षिक कार्यक्रमको सूची प्रस्तुत गर्दै अग्रजहरुकै सल्लाहबाट अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रम संचालक तथा क्लबका कोषाध्यक्ष भरत कोइरालाले लायन्सले जनचेतनामूलक काम गर्नुपर्नेमा जोड दिएका थिए ।

Post a Comment

 
Top