0

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखराको लामाचौरमा मंगलबारदेखि हरितालिका तीज महोत्सव–२०७१ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाली सँस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्दै प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले संस्थाको १८ औं वार्षिकोत्सवको अवसर पारी तीज महोत्सव सुरु भएको हो ।
महोत्सव स्थानीय इन्द्रराज्य लक्ष्मी उच्चमाविको प्राङ्गणमा ३ दिनसम्म चल्नेछ । अन्य मेला महोत्सवभन्दा फरक खालको यो महोत्सवलाई सफल पार्न स्थानीय विभिन्न संघसंस्था तथा व्यक्तिहरु लागिपरेका छन् । हरेक वर्ष तीजको अवसरमा महोत्सव गरी संकलित रकम संस्थाले विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएको संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए । महोत्सवको एक समारोहबीच पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले उद्घाटन गरे । यस क्षेत्रमा अघिल्लो दिनमात्र क्षेत्रीय प्रशासकको पदभार ग्रहण गरेका थपलियाले आफूले यस क्षेत्रका साथै नवआदर्श सामुदायिक विकास समाजको हितमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले राज्यको श्रोत र साधनको सही सदूपयोग गर्दै सामाजिक क्रियाकलाप अघि बढाउन र विकास निर्माणमा जुट्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले विभिन्न सामाजिक संस्थाहरु सरकारी क्रियाकलापसँग हातेमालो गर्दै अघि बढेमा उपर्युक्त नतिजा निकाल्न सहज हुने पनि बताए । पोखराको सुन्दरताको व्याख्या गर्दै उनले यस क्षेत्रमा क्षेत्रीय प्रशासक भएर आउन पाउँदा आफू धन्य भएको उल्लेख गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले यस संस्थाले गरेको सामाजिक क्रियाकलापको प्रशंसा गर्दै सक्दो सहयोगको प्रतिबद्धता जनाए । संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्वागत प्रथम उपाध्यक्ष शोभा केसी, संचालन सचिव लक्ष्मी पाण्डेले गरेका थिए । समारोहमा सभासद शारदा पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि उद्घाटन समारोहमा उपस्थित थिए ।  तीजको दिन हुने मुख्य समारोहमा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको उपस्थिति रहने आयोजकले जनाएको छ । महोत्सवमा उपस्थित दर्शकका लागि कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रममार्फत् मनोरञ्जन दिने गरेका छन् । पहिलो दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहाल, घनश्याम रिजाल, राजन कार्की, निशा पोखरेल, रतिमाया खड्का, सरस्वती लामिछाने लगायतले गीत प्रस्तुत गरेका थिए । बालकलाकारले हाँस्य प्रहशन पस्केका थिए । 
महोत्सवको आकर्षणको रुपमा खुला तीज गीत प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा १२ टिमले भाग लिएको निर्णायक समितिका संयोजक गायक पद्मराज ढकालले बताए । तीज गीतमा प्रथमलाई १५ हजार १०१, दोस्रोलाई १० हजार १०१, तेस्रोलाई ७ हजार १०१ तथा ५ समूहलाई ३ हजारसहित सान्त्वना पुरस्कार दिइने प्रचारसंयोजक संजयकुमार अधिकारीले बताए । नरबहादुर स्मेति सितेरियो कराँते प्रतियोगिता सुरु भएको छ भने अन्तरमावि लोकनृत्य प्रतियोगिता बुधबार सुरु हुनेछ ।

Post a Comment

 
Top