0
आठौ राष्ट्रिय सूचना अधिकार दिवसको अवसरमा पोखरामा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा कास्कीस्थित विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरुको सहभागिता थियो । सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन भएको ७ वर्ष भैसकेको अवस्थामा यसबारे समीक्षा तथा सरोकारवालासँग भएको अन्तरक्रियामा कास्की जिल्लामा सूचनाको हकमा ऐनको पालना सन्तोषजनक रुपमा रहेको पाइयो । राष्ट्रिय सूचना आयोग र जिल्ला प्रशासन कार्यालय कास्कीको सहकार्यमा मानव विकास मञ्च नेपाल र सूचनाको हकका लागि नागरिक अभियानको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सरकारी कार्यालयका सूचना अधिकारीहरुले ऐन कार्यान्वयन गर्दै आएको र आगामी दिनमा पनि यसको पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त गौतमले जिल्लाका हरेक सरकारी कार्यालयमा सूचनाको हक पूर्णरुपमा पालना गराउन आफू प्रतिबद्ध रहेको र सूचना अधिकारी नतोकिएका कार्यालयमा समेत परिपत्र गरी यसको कार्यान्वयनमा सघाउ पु¥याउने बताए । उनले अधिकार र कर्तव्य दुबै सँगसँगै जोडिएर आउने हुँदा सूचना माग गर्नेले पनि ऐनको बारेमा जानकारी लिएर सूचना माग गर्न आग्रह गरे । कास्कीका प्रहरी प्रमुख बसन्तकुमार लामाले सूचनाको सवालमा बढी क्रियाशील रहनुपर्ने उल्लेख गर्दै सूचना दिने सम्बन्धमा आफ्नो कार्यालय बढी संवेदनशील रहेको बताए । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले नगरपालिकाले गरेका काम कारबाहीहरु सेवाग्राहीसमक्ष जानकारी दिन पारदर्शिता अवलम्बन गरेको बताए । कार्यक्रममा मानवअधिकारकर्मी टेकनाथ बराल, जिल्ला विकास समिति कास्कीका योजना अधिकृत निशानराज गौतम, आन्तरिक राजश्व कार्यालय कास्कीका सूचना अधिकृत रहेका शाखा अधिकृत विजयराज लामिछाने, मालपोत कार्यालय कास्कीका सूचना अधिकृत ऋषिराम लामिछाने लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top