0
एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चले काठमाण्डौमा दशौं स्थापना दिवस मनाउनुका साथै अधिवेशन गरी निरज थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सबै पदहरु सर्वसम्मत चयन भएका उक्त समितिको उपाध्यक्षमा छ्याम बहादुर थापा, महासचिवमा मान बहादुर थापा, कोषाध्यक्षमा मन बहादुर श्रेष्ठ र सदस्यहरुमा सरिता अर्याल, भक्तराम लामिछाने रहेका छन् । निवर्तमान अध्यक्ष र पाँच विकास क्षेत्रका क्षेत्रीय अध्यक्षहरु पदेन सदस्य हुने संस्थाको विधान अनुसार रिक्त पदहरु पछि पूर्ति हुनेछन् ।
यसअघि कार्यक्रमको शुभारम्भ गर्दै संस्थापक अध्यक्ष एवं संस्थाका परिकल्पनाकार सिद्धिचन्द्र बरालले संस्थाले संचालन गर्दै आएका कार्यक्रमबारे जानकारी गराए । यसैगरी नवगठित समितिका अध्यक्ष निरज थापाले प्रतिवद्धता मन्तव्य राख्दै सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताए । कार्यक्रम महासचिव मानबहादुर थापाले संचालन गरेका थिए ।
कोरियाको अनुभव लिएर फर्केका साथीहरु मिलेर वि.सं.२०६२ साल भाद्र ८ गतेको पहिलो भेलाद्वारा शुरु भएको यस संस्थाले हाल भक्तपुरमा ३ सय विद्यार्थी पढिरहेका सरस्वती निमावि र साप्ताहिक निःशुल्क क्लिनिक, काठमाण्डौमा सि सेन्टर, लमजुङ्गमा भानु सामुदायिक स्वास्थ्य केन्द्र, अन्तर्राष्ट्रिय विमानस्थलमा र काठमाण्डौ लैनचौरमा भएको केन्द्ीय कार्यालयमा वैदेशिक रोजगार सूचना केन्द्र, गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति, नेपालका विभिन्न गाउँमा होमस्टेको व्यवस्था आदि संचालन गर्दै आइरहेको छ । नेपालको पाँच विकास क्षेत्रमा क्षेत्रीय समिति र कास्की लगायत १२ जिल्लामा जिल्ला समिति गठन भैसकेको यस संस्थाले समय समयमा स्वास्थ्य शिविर, अन्तरक्रिया, तालिम जस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।

Post a Comment

 
Top