0
श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्र, पोखरा १, बगरको आयोजनामा ईन्देणी एकीकृत विकास क्लबको भवनमा बालमैत्री स्थानीय शासन अबलम्बन विषयक अन्तक्र्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो । 
पोखरा नगरलाई सन् २०१८ सम्म बालमैत्री नगरको रुपमा स्थापना गर्ने पोखरा उप महानगर पालिकाको योजनालाई सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतमा कार्यक्रम सम्पन्न  भएको थियो । कार्यक्रमका पोखरा उपमहानगरपालिका वडा नं. १ का वडा सचिव मञ्जुबहादुर बस्नेत र बालश्रम न्युनिकरण कार्यक्रमका अध्यक्ष रमेश कर्माचार्य, सामुदायिक सेवा केन्द्रका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, वडा प्रहरी कार्यालय वडा नं. १ का प्रहरी निरीक्षक अमर बहादुर थापा लगायत वडा नं. १ का टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरु सहभागी भएका थिए ।
अन्तरक्रियामा बोल्ने वक्ताहरुले वडा नं. १ लाई बालश्रम मुक्त टोल बनाउनका लागि सबै एकजुट भई काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले बालश्रम प्रयोग नभएको घरमा हरियो झण्डा झुण्ड्याउने अभियानलाई अगाडि बढाउँदै  बालश्रम प्रयोग गर्ने घरलाई सामाजिक बहिष्कार गर्न अभ्यास गर्नैसम्मको विषयमा छलफल गरेका थिए । कार्यक्रममा पूर्व बालमैत्री स्थानीय शासन कार्यक्रमका संयोजक दीपक ढुंगानाले बालअधिकार र बालमैत्री स्थानीय शासन विषयमा अभिमुखिकरण गरेका थिए । श्रमिक बालबालिकाहरु को सम्पर्क केन्द्र बगरको प्रगति सहितको कार्यपत्र केन्द्र प्रमुख संगीता पौडेलले प्रस्तुत गरेकी थिइन् । बालश्रम न्युनिकरण कार्यक्रमका पैरवी अधिकृत भक्तराज रसाइलीले हाम्रो समाज निर्देशनात्मक पद्धतिबाट हुर्किदै आएकोले अझैसम्म पनि ठूलाले सानाको मर्म, भावना र चाहनालाई बेवास्ता गरि ठूलाले गरेको निर्णयनै सानाको हितमा हुन्छ भने परम्परागत सोच रहेको बताइन ।
उनले बालमैत्री स्थानिय शासनले सहयोग पुर्याउने भएकोले सबै सरोकारवालाहरुले बालमैत्री नगर स्थापनाका लागि सक्दो सहयोग गर्नुपर्नेमा जोड दिइन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको वडा सचिव मञ्जु बहादुर बस्नेतले पोखरा बालमैत्री नगर स्थापना गर्ने अभियानको क्रममा रहेको र यस्ता खालका अन्तरक्रिया कार्यक्रमहरुले बालमैत्री स्थानिय शासनको बारेमा जनचेतना जगाउन योगदान पुर्याउने बताए । उनले यस किसिमको कार्यक्रमहरु अन्य समुदाय स्तरमा पनि आयोजना गर्दै लैजानु पर्नेमा जोड दिए ।
केन्द्रकी अध्यक्ष सीता गुरुङले बालश्रमिक नभएको घरमा हरियो झण्डा अभियानको बारेमा चर्चा गर्दै सबै सरोकारवालाहरुलाई यस अभियानमा साथ दिन आग्रह गरिन । कार्यक्रमको संचालन बालश्रम न्युनिकरण कार्यक्रमकी सामाजिक परिचालक बिजया अधिकारीले गरेकी थिइन् ।

Post a Comment

 
Top