0
न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक कार्ययोजना को कार्यान्वयन सम्बन्धी अन्तक्र्रिया सम्पन्न भयो ।  न्यायपालिका प्रति जनताको आस्था र विश्वास अभिबृद्धि गर्ने उद्देश्यले २०६१ सालदेखि पञ्चवर्षीय रणनीतिक कार्ययोजना मार्फत काम हुँदै आएको र २०७१ श्रावण १ गतेदेखि लागू भएको तेस्रो पञ्च वर्षीय रणनीतिक कार्ययोजना लाई सफल बनाउने उद्देश्यले पोखरामा आयोजित १ दिने अन्तरक्रिया कार्यक्रम पुनरावेदन अदालत पोखराका कामु मुख्य न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा मुख्य न्यायाधीश श्रेष्ठले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक कार्ययोजनाले ८८ प्रतिशतसम्म सफलता मिलेको बताउँदै गण्डकीका ६ वटा जिल्लाको वार्षिक मुद्दाको स्थिति एवं फछ्र्यौट भएका मुद्दा र प्रतिशतबारे जानकारी गराएका थिए । पुनरावेदन अदालत पोखरामा ७४.७९ प्रतिशत, कास्की जिल्ला अदालतमा ५९.१९ प्रतिशत, तनहुँमा ७६.७ प्रतिशत, स्याङजामा ७५.९५ प्रतिशत, लमजुङमा ७८.८७ प्रतिशत र गोर्खामा ६२.८७ प्रतिशत रहेकोले रणनीतिक कार्ययोजनाको लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट भएको हुँदा रणनीतिक कार्ययोजना सफल भएको बताए । न्याय सम्पादनको प्रक्रियालाई छिटो छरितो न्याय, सबैका लागि न्याय भन्ने उद्घोषका साथ देशभरिका जिल्ला, पुनरावेदन तथा सर्वोच्च अदालतमा लागू गरिने यो रणनीतिक योजनाले न्याय सम्पादनमा देखिएका जटिलतालाई समयानुकुल समाधान गर्दै सर्वसुलभ न्यायमा सबैको पहुँच पुग्न सकोस् भन्ने उद्देश्य रहेको कुरा कार्यक्रम संयोजक पुनरावेदन अदालत पाटनका न्यायाधीश राजेन्द्र खरेलले बताए । सो अवसरमा उनले विगतका वर्षहरुको कार्यप्रगति एवं कार्ययोजनाको मूल्यांकन प्रस्तुत गर्दै आगामी वर्षहरुमा सूचना र प्रविधिको अधिकतम प्रयोग गरी न्यायको अवधारणालाई सुधार गर्दै जाने बताए । कार्यक्रममा पुनरावेदन सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता नारायण प्रसाद पौडेल, पुनरावेदन बारका अध्यक्ष खगेन्द्र राज आचार्य, कास्की बारका अध्यक्ष पदमपाणि देवकोटा, जिल्ला प्रहरी प्रमुख वसन्त कुमार लामा लगायतले आम जनतामा न्यायलाई सहज बनाउने उद्देश्यले पञ्चवर्षीय रणनीतिक कार्ययोजना लागू भएपछि निश्चित सफलता मिलेको धारणा राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा पुनरावेदन तथा जिल्ला बारका ३५ जना कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पुनरावेदन पाटनका श्रेस्तेदार नृपध्वज प्रधानले गरेका थिए ।

Post a Comment

 
Top