0
पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक दुइ÷दुई वर्षमा प्रदान गर्दै आएको ललितकला पुरस्कार यस वर्ष कलाकार लोकप्रसाद गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी सोम बज्राचार्य स्मृति संगीत पुरस्कार कन्दरा व्याण्डका सुनिल थापालाई प्रदान गर्ने निणर्य गरेको छ ।
 विगत दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाएर कलाको उन्नयनमा गुरुङले पु¥याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै उहाँलाई ललितकला पुरस्कार अर्पण गर्न लागिएको परिवारले बताएको छ । यस अघि नै क्षेत्रीय प्रतिभा पुरस्कारबाट पुरस्कृत भइसकेका कलाकार गुरुङले विभिन्न एकल तथा सामूहिक चित्रकला प्रदर्शनहरु सम्पन्न गरिसकेका छन् । गुरुङ सिर्जनशील कलाकार समूह, नेपाल वाटर कलर सोसाइटी र कोलाज समूहसँग आबद्घ छन् । यसै गरी  पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाइ संगीतको क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय थापाको अथक मेहनत र साधनाको कदर गर्दै, उहाँको योगदानको सम्मानस्वरुप सोम बज्राचार्य स्मृति संगीत पुरस्कार अर्पण गर्न लागिएको परिवारले जानकारी दिएको छ ।
चर्चित ब्याण्ड कन्दरा ब्याण्डको माध्यमबाट गीत, संगीतको क्षेत्रमा विभिन्न एल्बमहरु लगायत थुप्रै कन्सर्टहरुमा सहभागिता जनाइसकेका थापा बेस्ट म्यूजिक डाइरेक्टर अवार्ड–२०६१, हिट्स एफ एम अवार्ड, सम्पदा प्रतिभा पुरस्कार  लगायत दर्जनांै पुरस्कार तथा सम्मानहरुबाट सम्मानित भइसकेका छन् । हङकङ पोखरा, लेककी हे माया, चाइना कम्पनी, तगारोमा रुमाल राखी जस्ता चर्चित गीतका संगीतकार पनि हुन् ।
कलाकार दुर्गा बरालले अक्षयकोष खडा गरी स्थापना गर्नु भएको ललिकतला पुरस्कारबाट यस अघि कलाकारहरु कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्घि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भुर्तेल र सरोजा खड्की पुरस्कृत भइसकेका छन् । आगामी भाद्र  १७ गते पोखरामा उक्त पुरस्कार प्रदान गरिने परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षाले जानकारी दिनु भएको छ । दुवै पुरस्कारको राशी जनही रु.  हजार एक सय एघार, ताम्रपत्र र दोसल्ला रहेको छ ।

Post a Comment

 
Top