0
हंसपुर गाविसस्तरीय आदिवासी जनजाति समितिले ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थीलाई हालै सम्मान गरेको छ । विश्व आदिवासी जनजाति दिवसको अवसरमा समितिले हंसपुर गाविसका १० जना आदिवासी जनजाति ज्येष्ठ नागरिक र एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने एक छात्रा र एक जना छात्रालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा हंसपुर गाविस–२ का ८१ वर्षीय रेशमलाल श्रेष्ठ, ८१ वर्षीय कृष्णमान श्रेष्ठ, हंसपुर गाविस–४ का ८२ वर्षीय गनबहादुर भुजेल, ८२ वर्षीया मायादेवी भुजेल, ८२ वर्षीय दिलबहादुर गुरुङ, हंसपुर गाविस–६ की ८८ वर्षीया नन्दमाया गुरुङ, ८४ वर्षीय बागसिंह गुरुङ, हंसपुर–७ का ८४ वर्षीय बुद्धिबल गुरुङ, हंसपुर गाविस–८ का ८१ वर्षीय ओमबहादुर गुरुङ, र हंसपुर गाविस–९ का ८० वर्षीय देउबहादुर गुरुङ छन् । त्यसैगरी एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने हंसपुर–२ की छात्रा संगीता श्रेष्ठ र हंसपुर गाविस–४ का सञ्जीव मगरलाई सम्मानपत्र र खादा सहित सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हंसपुर गाविसका सचिव धर्मदत्त बरालले आदिवासी जनजातिहरु आफ्नो हक, अधिकारको लागि संगठित भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । सोही अवसरमा हंसपुर गाविसका सचिव धर्मदत्त बराललाई दीर्घ सेवा सम्मानले सम्मानित गरिएको थियो । कार्यक्रममा सहभागीहरुले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमा शैक्षिक, सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा टेवा पुग्ने धारण व्यक्त गरे । कार्यक्रममा नेकपा एमाले गाउँ कमिटी अध्यक्ष तारानाथ सुवेदी, राप्रपा गाउँ इकाई अध्यक्ष टेकनाथ सुवेदी, नेकपा(माओवादीका गाउँ कमिटी संयोजक चित्रबहादुर भुजेल, ज्येष्ठ नागरिक रेशमलाल श्रेष्ठ, ओमबहादुर गुरुङ, समाजसेवी भोजराज सुवेदी, यामबहादुर भुजेल, हंसपुर आयुर्वेदिक औषधालयका प्रमुख वेतन शाह, शिक्षक विष्णुप्रसाद भट्टराई, सम्मानित विद्यार्थी संगीता श्रेष्ठ र सञ्जीव मगरले बोलेका थिए । समितिका अध्यक्ष गंगाबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव भैरवलाल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top