0
पोखरा विश्वविद्यालयमा बिएस्सी नर्सिङ्गमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा निःशुल्क आँखा शिविर तथा स्वास्थ्य जनचेतना प्रदर्शनी सोमबार लेखनाथमा सम्पन्न भएको छ । विद्यार्थीहरुको कम्युनिटी वर्क अन्तर्गत दुई हप्ता देखि सोही स्थानमा बसेर २०० घरपरिवारमा अनुसन्धान गरेपश्चात विद्यार्थीहरुले शहिद स्मारक प्राथमिक विद्यालयमा सो कार्यक्रम सम्पन्न गरेको आयोजक मध्येकी एक विद्यार्थी तारा लामिछानेले जानकारी दिइन् ।
कार्यक्रमलाई उद्घाटन गर्दै लेखनाथ नगरपालिका कार्यालयका कानुनी अधिकृत राममणी अधिकारीले ग्रामिण स्तरसम्मका जनतालाई स्वास्थ्य सेवाको पहुँच पु¥याउन यस्ता कार्यक्रमहरु प्रभावकारी हुनेमा जोड दिएका थिए । कार्यक्रमलाई लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, लेखनाथ वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल, सामुदायिक प्रहरी लेखनाथ वडा नं. १२ का अध्यक्ष शेरबहादुर गुरुङ्ग, समाजसेवी राधाकृष्ण शर्मा लगायतले पनि कार्यक्रमको प्रशंशा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सुनौलौ बिहानी शीर्षकका स्वास्थ्य चेतनामूलक नाटक प्रदर्शन समेत गरेका थिए । त्यसै गरी कार्यक्रममा विभिन्न जनचेतनामूलक पम्प्लेट, चित्रकला तथा जानकारीहरुको पनि प्रदर्शनी पनि गरिएको थियो । चौथो ब्याचमा अध्ययनरत २० जना विद्यार्थीहरुको सहभागिता रहेको सो शिविरलाई हिमालन आँखा अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो । शिविरमा कुल ११३ जनाको सहभागिता रहेकोमा ३ जनामा मोतविन्दु र २० जनामा अदुरदृष्टीको समस्या देखिएको थियो । १५ जनालाई आँखा रोगीहरुलाई निःशुल्क चश्मा बितरण गरिएको सो शिविरमा ५ जनालाई भने थप उपचारका लागि रिफर गरिएको थियो । कार्यक्रमलाई गुरुकुल विद्याश्रम वोर्डिङ स्कूल, बिएमजी बोर्डिंग स्कूल, लेखनाथ वडा नं. १२ कार्यालय, लेखनाथ १२ मगर समाज लगायतका संघ संस्थाहरुले सहयोग गरेको आयोजक समितिका अर्का सदस्य बिनिता ओलीले जानकारी दिइन् । कार्यक्रम शिखा बस्नेतको अध्यक्षता, मनिषा न्यौपानेको स्वागत मन्तव्य तथा तारा लामिछाने र कल्पना बरालको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top