
स्थापनाकालको प्रारम्भमा ४० मात्र सदस्य रहेको युनियनमा हाल करिब पाँच हजारभन्दा बढी साधारण सदस्य आबद्ध छन् । आगामी भदौ २१ र २२ गते हुन गइरहेको प्रेस युनियनको आठौँ राष्ट्रिय महाधिवेशन कास्की जिल्लाको पोखरामा हुँदैछ । यसअघि प्रेस युनियनको सातौँ राष्ट्रिय महाधिवेशन सुनसरी जिल्लाको इटहरीमा भएको थियो । प्रत्येक तीन वर्षमा हुने महाधिवेशनले नेतृत्वसमेत चयन गर्दै आएको छ । इटहरीमा सम्पन्न सातौँ राष्टिूय महाधिवेशनबाट पत्रकार किरण पोखरेलको नेतृत्वमा ६१ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।
निवर्तमान अध्यक्ष पोखरेलले नेपाल पत्रकार महासङ्घको निर्वाचनमा प्रजातन्त्रवादी पत्रकार पोषण केसीको नेतृत्वलाई विजयी गराउन नसकेको भन्दै नैतिकताका आधारमा आफ्नो पदबाट राजीनामा दिएका थिए । पोखरेलको राजीनामा लगत्तै वरिष्ठ उपाध्यक्ष बद्री सिग्देलले कार्यबाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सिग्देल प्रजातान्त्रिक प्रक्रियाबाट प्रेस युनियनको नेतृत्वलाई स्थापित गराउन कम्मर कसेर लागेकोे बताइन्छ । वरिष्ठ उपाध्यक्ष सिग्देल, उपाध्यक्ष गङ्गाधर पराजुली, महासचिव शिव लम्साल, पूर्व वरिष्ठ उपाध्यक्ष दामोदर दवाडी, पूर्व कोषाध्यक्ष जुनारबाबु बस्नेत, भुवन भट्ट, बिन्दुकान्त घिमिरेले अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा रहेको छ । तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार रहेका जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा २०४८ सालमा युनियनको गठन भएको हो । यसअघि युनियनको अध्यक्षमा क्रमशः हरि अधिकारी, तारा बराल, रमेश तूफान, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजङ्ग शाह र आठौँमा किरण पोखरेलले नेतृत्व गरिसकेका छन् ।
पोखरामा हुने महाधिवेशनबाट कसलाई निर्वाचित गर्ने हो त्यो भविष्यकै गर्भमा रहे पनि युनियनमा आबद्ध अधिकांश पत्रकारहरू प्रजातान्त्रिक पद्धतिअनुसार निर्वाचन गर्नुपर्ने पक्षमा जुटेका छन् । तथापि युनियनको इतिहासमा हालसम्म दुईपटक मात्र निर्वाचन भएको छ भने सातवटा महाधिवेशनबाट नेतृत्व निर्विरोध चयन भएको छ । पाल्पामा सम्पन्न तेस्रो महाधिवेशन र सिरहाको लहानमा सम्पन्न पाचौँ अधिवेशनबाट मात्र प्रजातान्त्रिक पद्धतिअनुसार नेतृत्व निर्वाचित भएको थियो जसको नेतृत्व तारा बराल र कुलचन्द्र वाग्लेले गरेका थिए । युनियनको पहिलो राष्ट्रिय महाधिवेशन काठमाडौँ, दोस्रो वीरगन्ज, तेस्रो पाल्पा, चौथो दाङ, पाँचाँै, लहान, छैठौँ पोखरा र सातौँ इटहरीमा सम्पन्न भएको थियो । आठौँ राष्ट्रिय महाधिवेशन पोखरामा हुँदैछ । चौथो राष्ट्रिय महाधिवेशन दाङमा सम्पन्न भए पनि निर्वाचन भने सुनसरीको इटहरीमा भएको थियो । स्थापनाकालको २३ वर्षपछि हुन गइरहेको यस अधिवेशनमा करिब एक हजार १०० सदस्यले निर्वाचन प्रक्रियामा भाग लिने जानकारी सुदूर पश्चिमाञ्चल संयोजक भीष्म ओझाले दिए । युनियनको विधान २०४८ ले युनियनको गठनमा कुल ६१ सदस्य निर्वाचन हुने व्यवस्था गरेको थियो । यो विधान चौथोपटक २०६७ सालमा संशोधन भएको थियो । आठौँ राष्टिूय महाधिवेशनको आयोजना गर्ने सौभाग्य कास्की जिल्लाले प्राप्त गरेको छ । आठौँ राष्ट्रिय महाधिवेशनले आगामी तीन वर्षे कार्यकालको नेतृत्व चयन गर्ने छ । यसअघिको विधानलाई समयानुकूल परिवर्तन गर्ने सोच रहेको कार्यबाहक अध्यक्ष सिग्देलले बताए । कार्यबाहक अध्यक्ष सिग्देलले ६१ सदस्यीय कार्यसमिति लाई घटाएर ५१ कार्यसमिति बनाउने तयारीमा युनियन जुटेको पनि जानकारी दिए ।
Post a Comment