0

गंगाधर पराजुली

नेपाल र भारतबीचको सम्बन्ध सदियौं पुरानो छ । दुई देशको सम्बन्ध यति धेरै कुराहरूसँग जोडिएको छ कि जुनसुकै सन्दर्भमा कुनै न कुनै प्रकारले जोडिएर आउने गर्छ । एक किसिमले भन्ने हो भने अहिले पनि कतिपयले नेपालीको भुभागलाई समेत भारतवर्षको रुपमा लिने  गर्दछन् । सुगौली सन्धि अघिको नेपाल निकै ठूलो थियो, त्यसपछिको नेपाली भूभाग भौगोलिक दृष्टिले भारतको तुलनामा सानो भए पनि राष्ट्रियताका दृष्टिले स्वाधीन र स्वतन्त्र रहेको धेरैको बुझाइ छ । हुन त कतिपयले अहिलेपनि नेपालमा भारतीय प्रभाव धेरै रहेको आरोप लगाउने गर्दछन् । भारतमा अंग्रेजहरुले शासन गर्नेक्रमा नेपालसंग चलेको युद्ध र नेपालीहरुले प्राप्त गरेको विजय एवं दुई पक्षको सन्धि र समझदारी पछि नेपालमा शासन सञ्चालनका अनेकौं रूपहरू आए तापनि नेपाल भारतको सदियौंदेखिको परम्परागत सम्बन्ध भने निरन्तर कायम रहँदै आएको छ ।
राजनीतिक रुपमा दुई देशका बीचमा जनस्तरमा पनि उत्तिकै सम्बन्ध छ । नेपालमा एकतन्त्रीय राणाशासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्नमा भारतले नेपाललाई गरेको सहयोगलाई नेपाली जनताले र  भारतीय स्वतन्त्रता संग्राममा नेपालीले गरेको सहयोगलाई भारतीय जनताले कहिल्यै भुल्न सक्ने अवस्था छैन । राजनीतिक आन्दोलनमा दुवै देशका जनताले गरेको सहयोगोको आदान–प्रदानसंगै नेपाली जनताले स्वतः स्फूर्त र कतिपय नेपाली युवाहरु भारतीय सेनामा रहेर भारतको स्वाधीनता र स्वतन्त्रताको आन्दोलनमा खेलेको भूमिका पनि महत्वपूर्ण रहेकोछ । त्यस्तै भारतले नेपालको शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, विद्युतलगायतका पूर्वाधार निर्माण तथा विकासमा खेलेको भूमिका पनि महत्वपूर्ण र स्मरणीय रही आएको छ । विगतदेखिको नेपाल भारतको सम्बन्ध सुमधुर रही आएता पनि नेपाल र भारतको राजनीतिक अवस्था र परिवर्तन सूगै त्यसको सापेक्षतामा नेपाल भारतको सम्बन्धलाई परिभाषित गर्दै जानु आवश्यक छ ।
नेपाल र भारतबीचको सम्बन्धको चर्चा गर्दा तत्कालिन बडा महाराजधिराज पृथ्वीनारायण शाहको पालामा रहेको नेपाल भारत सम्बन्ध, तत्कालिन जंगबहादुर राणा र राणाकालीन नेपाल भारत सम्बन्ध, तथा तत्कालिन राजा त्रिभुवन र महेन्द्रको पालामा अर्थात पञ्चायतकालीन अवस्थामा नेपाल भारत सम्बन्धका बारेमा बुझ्न आवश्यक छ । त्यसपछि मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ मा भएको आन्दोलन देखि २०६२÷०६३ सम्मका चरणवद्ध आन्दोलनहरुका साथै पछिल्लो समयमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चरणसम्म आइपुग्दा नेपाल भारत सम्बन्धलाई फरक फरक दृष्टिकोणबाट हेरिनु पर्छ । हुकुमी, निरंकुश र शाही शासनकालको नेपाल भारत सम्बन्ध र संविधानतः जनता सार्वभौमसत्ता सम्पन्न भई सकेको अवस्थामा नेपाल भारत सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्नु जरुरी छ । विगतका वर्षहरुदेखि नै नेपालीहरूले रोजगारीको पहिलो अवसरको रूपमा भारतलाई नै लिने गरेका छन् । पछिल्लो समयमा विश्वमा आएको आर्थिक उदारीकरण र श्रमबजारको विस्तार सँगै तेस्रो मुलुकहरूमा जाने प्रचलन बढेपछि भने भारत नेपाली श्रमिकहरुका लागि मनग्य अर्थोपार्जन गर्ने मुलुक बन्न सकेको छैन । तर भारतीय गोर्खा सैनिकको रुपमा नेपाली युवाहरुले प्राप्त गर्दै आएको सेवा सुविधा भने आकर्षक मानिन्छ ।  पहिला पहिला रोजगारीका लागि लाहुर जाने भन्ने कुरा त गाउँघरमा एउटा फेसनकै रूपमा थियो । हिमाल र पहाडी क्षेत्रका बासिन्दाहरूको प्रायः घरबाट लाहुर जाने चलन थियो ।
जुन घरमा लाहुर गएर कमाएर ल्याउने जवानहरू हुन्नथे त्यो परिवारको वार्षिक घर खर्च चलाउन पनि कठिन हुन्थ्यो । केही धनीमानीहरू बाहेक धेरैजसोको स्थिति त्यस्तै रहेको थियो । अहिले लाहुरको ठाउँमा अरबीयन मुलुकमा रोजगारीमा जाने कुराले बढी ठाउँ लिएको छ । अलिक सम्भ्रान्त र केही हुने खाने ठहरिएकाहरू पनि रोजगारको राम्रो अवसर, शिक्षा र सीपको खोजीमा युरोपियन मुलुकमा जाने र उतै बस्ने क्रम पनि बढ्दो छ । नेपालबाट अहिले सरदर दैनिक १५ सयका दरले शिक्षा, सीप र रोजगारीको अवसरका नाममा विदेश जाने गरेको विभिन्न तथ्याङ्कबाट देखिन आउँछ ।  सूचना र प्रविधिमा आएको चमत्कारिक विकास र विश्वव्यापीकरणले कतिपय परम्परागत कुराहरूमा जबर्जस्त परिवर्तन ल्याएको छ । यो परिवर्तन संगै भारतीय श्रम बजार कमजोर मानिएपनि नेपालको धार्मिक, सांस्कृतिक र खुला सीमाका कारण जोखिम रहित किसिमले भारतमा जाने र विभिन्न रोजगारीमा लागेर आर्जन गरेको रकमले नेपालमा घर परिवार चलाउने यथार्थता भने कसैबाट लुकेका छैन । 
.विगतमा ‘शिक्षाका लागि भारतको काशी जानू न्यायका लागि नेपालको गोरखा जानु’ भन्ने उक्तिको नेपालीहरूमा अझै पनि छाप रहेको छ । त्यस हिसाबले पनि शिक्षाको महत्वपूर्ण स्रोतको रूपमा भारत रहेको छ भन्ने कुरा स्पष्ट नै छ । यद्यपि अहिले शिक्षाका लागि नेपालीहरु भारतमा जानै पर्ने बाध्यता क्रमशःघट्दै गएको अवस्था छ । नेपालमा २०४६।४७ को आन्दोलनले बहुदलीय व्यवस्थाको पुनःस्थापना गरे यता शासन सञ्चालनमा अनेकौं प्रकारका उतार चढाव आए पनि सूचना प्रविधिको विकास, सञ्चार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रै प्रगति हुँदै गएको मान्नु पर्छ । त्यसअघि स्वास्थ्योपचार र स्वास्थ्य शिक्षाका लागि पनि भारतमा नै जानु पर्ने ठूलो बाध्यता रहेको थियो । तर पछिल्लो समयमा भारतीय सरकारले नेपाली विद्याथीृहरुका लागि छात्रवृत्ति एवं अन्य सुविधा प्रदान गरेर तथा भारतीय शिक्षण संस्थामा हुने गरेको गुणात्मक शिक्षाका कारण नेपाली विद्यार्थीहरुको आकर्षण भारतीय शिक्षण संस्थामा देखिएको छ ।
राजनीतिक र सांस्कृति दृष्टिकोणले जस्तै धार्मिक दृष्टिले पनि नेपाल भारत सम्बन्ध एक अर्का बीच कहिल्यै पनि टुट्न र छुट्न नसक्ने देखिन्छ । नेपालको मुक्तिनाथदेखि रामेश्वरम् आदि तीर्थ स्थलहरू नेपाल र भारतका जनताका आस्थासँग जोडिएका विषय हुन् । बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दूहरुको पवित्र धाम पशुपतिनाथ,  जनकपुरकी सीता र आयोध्याका रामको विवाह सम्बन्ध आदिले अहिले पनि विगतदेखि नै नेपाल भारतबीचको मैत्री  सम्बन्धको अनुपम उदाहरण हामीसँग रहेको छ ।
त्यस्तै गरी अन्य धार्मिक तीर्थस्थलहरु, ऐतिहासिक महत्वका स्थानहरु, सांस्कृतिक पर्वहरु,  सामाजिक सम्बन्धहरु, पारस्परिक राजनैतिक सम्बन्ध र आर्थिक सम्बन्ध आदिले पनि नेपाल भारत सम्बन्धलाई जोड्ने काम गरेका छन् । यस किसिमको सम्बन्धलाई नेपाल र भारत बीचको कहिल्यै टुट्न र छुट्न नसकिने सम्बन्धको रुपमा जानकारहरु परिभाषित गर्दछन् । त्यसैले राजनीतिक रुपमा दुई देशका जनताबीच भएको सहकार्य जस्तै धार्मिक भावनाका कारण पनि नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बन्न पुगेको छ ।  
सदिऔंदेखि नेपाल भारत बीच रहेको खुला सीमाले दुबै मुलुकका नागरिकहरूको लागि सहज रुपमा आवतजावतको सुविधा मिलेको छ । यसले पनि स्वाभाविक रुपमा अन्य मुलुकहरूसंगको सम्बन्ध भन्दा नेपाल भारत सम्बन्धमा केही फरक र मौलिक आयामहरु थपेको छ । खुल्ला सीमाको सकारात्मक पक्ष एकातिर देखिन्छ भने अर्कोतिर सुरक्षा, मानव बेचबिखन, लागू पदार्थ ओसारपसार, चोरी तस्करी जस्ता  समस्याहरुको पनि सामना गर्नु परिरहेको अवस्था छ । यस बारेमा दुबै राष्ट्रबीचको गम्भीर ध्यान आकृष्ट भई परिवर्तित सन्दर्भलाई ध्यानमा राखी समय अनुसार दुवै मुलुकले भोग्नुपर्ने समस्याको समाधानका लागि उपयुक्त विकल्प सोच्नु वर्तमानको आवश्यकता हो । 
नेपालका अधिकांश नदीनालाहरू उत्तरबाट दक्षिणतर्फ बगिरहेका छन् । ती नदीहरू सबै हाम्रो छिमेकी राष्ट्र भारत हँुँदै समुद्री सतहमा मिसिन पुग्छन् । महाकाली जस्ता ठूला नदीहरू सीमानदीको रूपमा रहेका छन् । यस्ता नदीहरूको उपयोग गर्ने सबालमा साझा दृष्टिकोण र समझ्दारीको आवश्यकता पर्दछ । यसका साथै कोशी, गण्डकी कर्णाली जस्ता नदीहरू पनि विद्युत उत्पादनका ठूला स्रोतका रूपमा रहेका छन् । यी नदीहरूबाट उत्पादन गरिने विद्युतले निकै ठूलो आवश्यकतालाई पूरा गर्न सक्दछन् । यसका साथै साना ठूला गरी झण्डै ६ हजार नदीनालाहरू नेपालमा छन् । जसबाट साना जल विद्युत आयोजनाहरू सञ्चालन गरेर नेपाली जनताको ऊर्जाको आवश्यकतालाई पूरा गर्न सकिने प्रशस्त आधारहरू छन् । यस तथ्यलाई मध्यनजर गर्दै भारतीय लगानीकर्तालाई नेपाल भित्र्याउन सके भविष्यमा दुवै देशको उर्जा संकट समाधान हुनेमात्र नभएर आर्थिक विकासले फड्को मार्न सक्दछ । जलस्रोतको उपयोग गर्ने सन्दर्भमा नेपाल भारतबीचको सम्बन्धलाई समानताको आधारमा साझा हित हुने गरी नीति तयार गर्नु जरुरी छ । दुवै देशले आथिक एवं अन्य लाभ लिनका लागि मैत्रीपूर्ण रुपमा ठूला आयोजनाहरु संचालन गर्ने अवस्था सृजना हुन सके जनस्तरमा पनि यसले राम्रो प्रभाव पार्ने निश्चित छ । यसका लागि विगत लामो समयदेखि प्रयत्न हुँदै आएको पनि पाइन्छ । तर यसलाई जुन ढंगले जुन उचाइमा उपयोग गर्न सकिन्छ त्यस्तो खालको सहज र विश्वसनीय वातावरण अझै बन्न सकेको छैन । तसर्थ दुवै देशको सरकारको स्तरमा मात्र नभएर जनस्तर र कुटनीतिक तहबाट समेत नयाँ परिवेशमा समानताका आधारमा विभिन्न आयोजना संचालन गर्ने स्थिति ल्याउन जरुरी छ । यसले नेपाल भारतबीचको सम्बन्धलाई अझै उचाइमा पु¥याउन मद्धत गर्दछ ।
विगतमा नेपाल भारतका बीचमा थुप्रै सन्धि सम्झौताहरु भएकान छन् । यस्ता सन्धि सम्झौतालाई आलोचनाको दृष्टिकोणमात्र नहेरी सकारात्मक दृष्टिकोणले हेर्न र सोही अनुरुप नीति बनाउन सके दुवै देशलाई फाइदा पुग्छ । विगतमा कोशी र गण्डक सम्झौता अनुसार निर्माण भएका परियोजनाहरूबाट नेपाल र भारतले के–कति लाभ लिन सके र दुई देश बीचको सम्बन्धलाई यी आयोजनाहरूले विश्वसनीय एवं प्रगाढ बनाउन कतिको भूमिका खेले भन्ने बारेमा अब गम्भीर बहस र छलफल हुनु पर्ने देखिन्छ । यी परियोजनासँग जोडिएका नेपाल भारतका विभिन्न भूभाग र स्थानीय सर्वसाधारणलाई पारेको असरबारे पनि दुवै देशको सम्बन्धित निकायबाट ध्यान पुग्न जरुरी छ ।  यदि तिनीहरुमा बदलिदो परिवेश अनुसार पुनरावलोकन गरी नयाँ ढङ्गले अगाडि बढ्न सकिएन भने अब त्यसले निम्त्याउन सक्ने खतरा बारे हाम्रो दृष्टि समय मै पुग्न पर्ने देखिन्छ  । केही वर्षअघि कोशी ब्यारेजको तटबन्ध फुटेर नेपाली भूमिमा पारेको जनधनको ठूलो क्षतिको घाउ अझै निको हुन सकेको छैन । फेरि त्यस्तै डरलाग्दो अवस्था नआउला भन्न पनि सकिंदैन । गण्डक क्षेत्रको परियोजनासँग जोडिएका भूभाग र प्रभावित क्षेत्रका नेपाल भारतमा बसोबास गरिरहेका जनताले जब वर्षातको मौसम शुरु हुन्छ तब रात्रीमा जाग्राम बस्नु पर्ने बाध्यता रहेको गुनासो गरिरहनुले पनि दुवै देशको ध्यान यस विषयमा जानुपर्दछ भन्ने बुझाइ आम जनताको छ । कतै नदी डुबान त कतै नदी कटानका समस्याहरू अत्यन्तै गम्भीर रहेका छन् । यस बारेमा दुई देशबीच गम्भीर बहस भई यसको समाधानका लागि सार्थक पहल हुनु पर्ने देखिन्छ ।  परियोजना निर्माण ताकाको अवस्था, आवश्यकता र अहिलेको अवस्था र आवश्यकताप्रति ध्यान दिएर गम्भीरतापूर्वक काम गर्ने हो भने दुई देश बीचको सम्बन्धका बारेमा कसैले आलोचना गर्ने अवस््था आउँदैन ।
महाकाली नदीलाई दुवै देशको साझा नदीको रुपमा समेत मानिने भएकोले यसको उपयोगका सन्दर्भमा त दुबै देश बीच गम्भीर बहस र छलफल भइरहेको छ । यस अघि निर्माण भएका टनकपुर ब्यारेज लगायतका परियोजनाहरूले नेपाल भारतको साझा हितमा कस्तो प्रभाव पारेका छन् भन्ने विषयमा पनि दुबै देशका अधिकारीहरु बीच मित्रवत संवाद हुनु पर्ने देखिन्छ । महाकाली नदीसंग जोडिएको पञ्चेश्वर परियोजना त्यसमा पनि समग्र प्याकेजका रूपमा सहमति र सम्झौता भएको बहु चर्चित महाकाली सम्झौता र त्यसको अहिलेसम्मको कार्यान्वयनको पक्षले कस्तो संकेत दिइरहेको छ ? यस बारेमा पनि नयाँ शिराबाट विवेचना हुनु पर्ने देखिन्छ । यसैगरी नेपाल प्राकृतिक वैभव र सुन्दरताका दृष्टिले अत्यन्तै सम्पन्न भए पनि एउटा भूपरिवेष्ठित राष्ट्र भएको हुनाले अन्तर्राष्ट्रिय जगतसंगको व्यापार र पारवाहनका लागि  द्विपक्षीय वा बहुपक्षीय सन्धि सम्झौता गर्नैपर्ने अवस्था रहेको छ । विश्वव्यापी रुपमै सूचना प्रविधि र विकासका नयाँनयाँ मोडेलमा आएको युगान्तकारी परिवर्तनका सन्दर्भमा नेपाल भारतका साथै विश्वका अन्य मुलुकहरुसँगको सम्बन्धमा पनि नयाँ परिभाषा आवश्यक छ ।
दुबै देश बीचका सवारी साधनहरुको आवतजावतका सन्दर्भमा पनि  केही समस्याहरु देखिएका छन् । नेपालका सडकहरुको क्षमता भन्दा  बढी लोडका भारतीय सवारी साधनहरु ठूलो संख्यामा गुड्दा त्यसले समस्या सिर्जना गरेको बुझाइ कतिपयको छ । तसर्थ यस विषयमा पनि दुवै देशबीच उपयुक्त नीति तर्जुमा गर्नु जरुरी छ । नेपालको आर्थिक समृद्धिका लागि भारतले लगानी गर्नुपर्ने आवश्यकता छ । यदि नेपालको पूर्वाधार विकासमा भारतले पर्याप्त लगानी गरेको अवस्थामा त्यसको फाइदा भारतलाई पनि हुनेछ ।
नेपाल र भारत बीच ऐतिहासिक अवस्थादेखि जनस्तर र कुटनीतिक तहबाट कायम भएका  सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानु अहिलेको आवश्यकता हो । दुबै देशको समान हितका आधारमा नेपाल भारतको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु लाई परिवर्तित सन्दर्भ अनुसार सार्वभौमसत्ता सम्पन्न जनताको मतबाट छानिएका जनप्रतिनिधि सम्मिलित संसद तथा संविधानसभाले नयाँ ढङ्गबाट परिभाषित गर्न सके र सोही अनुसार समय सान्दर्भिक नीति बन्न सके दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण र दिगो हुन सक्छ भन्नेमा सबै विश्वस्त छन् । तसर्थ यो विषयमा सबैको ध्यान पुग्ने हो भने नेपालले पनि आर्थिक एवं भोतिक विकासका लागि छिमेकी मुलुक भारतबाट थुप्रै अवसर र लाभ प्राप्त गर्न सक्नेमा दुई मत

Post a Comment

 
Top