0
पोखरा उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण नागरिकहरुले नगरपालिकाभित्र घूस लिने प्रचन धेरै भएको गुनासो गरेका छन् । नगरवासीहरु सामान्य कामका लागि जाँदा पनि कर्मचराीहरुलाई घूस दिनुपर्ने बाध्यता रहेको गुनासो गर्दै उनीहरुले विभिन्न खालका शिफारिस लिनुपर्दा मात्र नभएर फर्मको दर्ता, नविकरण एवं फोहोरमैला शुल्कमा पनि कतिपय कर्मचारीले घूस माग्ने गरेको पीडा पोखेका छन् । घरजग्गाको कर तिर्दा त लाखौं रुपियाँसम्मको वार्गेनिङ हुने गरेको र कर्मचारीहरुले लिएको घूस माथिल्लो तहसम्म पु¥याउनुपर्ने बाध्यता रहेको भन्दै कर्मचारीले आम नागरिकलाई  दुःख दिने गरेको भन्दै उनीहरुले घूसको रकम नदिएमा काममा ढिलासुस्ती हुने र शिफारिस लिनेका लागि पनि अनेक झण्झट दिने गरेको भुक्तभोगी नगरवासीको भनाइ छ ।
शुक्रबार पोखरा उपमहानगरपालिका आफैले  गुणस्तरीय सेवा र विकास निर्माणमा पारदर्शिताका लागि भन्दै आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा अधिकांश नगरवासीले नगरपालिका कार्यालयमा घूस लिने प्रथा बढेको बताएका थिए । कतिपय नगरवासीले सार्वजनिक सुनुवाइमा आफूले भन्न मन लागेका र कर्मचारीले दुःख दिएका कुरा भन्ने अवसर  नपाएको भन्दै संचारकर्मीसंग आफ्ना गुनासो पोखेका थिए । कार्यक्रममा नगरवासीहरुले प्राविधिकहरुले विभिन्न आयोजनाको अनुगमन र निरीक्षणका नाममा उपभोक्ता समितिलाई दुःख दिने गरेको र अनावश्यक आर्थिक समस्या पार्ने गरेको आरोप समेत लगाए । यसका साथै पोखरामा पार्किङको व्यस्थापन हुन नसकेको, मासु व्यवसायलाई अनुगमन गर्ने नाममा केही मासु व्यापारीहरुबाट समेत विभिन्न बहानामा रकम लिने गरिएको, फोहोरमैला व्यवस्थापन निजि क्षेत्रलाई दिएर नगरवासीसंग जवर्जस्ती पैसा अशुल्ने गरिएको र विभिन्न खाले करको दायरामा ल्याइ नगरवासीलाई सुविधा रोक्ने प्रयास नगरपालिकाले गरेको उनीहरुको भनाइ थियो ।
यसैगरी उनीहरुले फोहोर मैला व्यवस्थापनको नाममा निजि क्षेत्रलाई ठेक्का दिइएपनि नगरक्षेत्र स्वच्छ र सफा हुन नसकेको, नगरपालिकाले लिने विभिन्न शीर्षकको कर वैज्ञानिक र व्यवहारिक हुन नसकेको नगरक्षेत्रमा सार्वजनिक शौचालयको निर्माण नभएपनि खुल्ला दिसामुक्त क्षेत्रको नारा दिइएको, छाडा चौपायाको व्यवस्थापन हुन नसकेको तर नगरक्षेत्रबाट गाइ र गोरुको तस्करी भने कायम रहेको, सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षणमा नगरपालिकाको ध्यान नपुगेको र प्लाष्टिक मुक्त नगर समेत बन्न नसकेको भन्दै सहभागीहरुले गुनासो गरे । पोखरा उपमहानगर पालिकाको प्रमुखको समेत जिम्मेवारी सम्हालेका झलकराम अधिकारी लगायत नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु सहभागी कार्यक्रममा नगरवासीहरुले नगरपालिकाका कर्मचारीहरुलाई कार्यालय समयमा भेटन पनि मुश्किल हुने गरेको र नगरपालिकाको सम्पत्ति अर्थात स्रोत र साधनको व्यापक दुरुपयोग भएको गुनासो समेत गरेका थिए । नगरवासीहरुको गुनासो सुनेपछि कार्यकारी अधिकृत झलकराम अधिकारीले आफ्नो कार्यालयमा भएको घूसाखोरी नियन्त्रण गर्ने बताए । उनले कर्मचारीले घूस लिएको वा मागेको प्रमाण पेश भएमा तत्काल कार्वाही गर्ने र अख्तियारमा समेत कार्वाहीका लागि शिफारिस गर्ने आश्वासन नगरवासीहरुलाई दिएका छन् । कार्यकारी अधिकृत अधिकारीले घूस लिने कर्मचारीका बारेमा स–प्रमाण पेश गर्न आग्रह गरेको कुरालाई भने नगरवासीहरुले सहजै स्वीकार गरेनन् । उनीहरुको प्रश्न थियो–‘घूस लिनेहरुसंगबाट के प्रमाण लिन सकिन्छ ?’ अधिकारीले घूसखोरी नियन्त्रणसंगै फोहोरमैला व्यवस्थापन, मासु व्यवसाय व्यवस्थापन, पार्किङ व्यवस्थापन र होर्डिङबोर्ड मुक्त नगर बनाउने प्रतिवद्धता सहित नगरपालिकाले लिने विभिन्न करलाई व्यवहारिक र वैज्ञानिक बनाउन एकीकृत सम्पत्ति कर लागू गर्ने तयारी भैरहेको जानकारी गराए । उनले नगरक्षेत्रका विभिन्न सरोकारवाला संस्थासंग समन्वय गर्ने, सौर्य सडक बत्ति विस्तार गर्ने र विभिन्न स्थानमा सिसिटीभी जडान गरिने समेत बताए । कार्यक्रममा कार्यकारी अधिकृत अधिकारी संगै नगरपालिकाका अन्य कर्मचारीहरुले पाँचबुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।  हस्ताक्षर गर्नेहरुमा पोउमनपाका विभिन्न शाखा तथा विभागका प्रमुखहरु अनन्तप्रसाद कोइराला, शारदामोहन काफ्ले, ओमराज पौडेल, नारायण शर्मा, शिवहरि शर्मा, दुर्गा न्यौपाने, कल्पना बराल, वसन्त चालिसे र चूडामणि तिवारी लगायत रहेका छन् । प्रतिवद्धता पत्रमा घुस नियन्त्रणसंगै, फोहोरमैला ब्यवस्थापन गर्नका लागि तत्कालै अभियान थाल्ने, टोली बिभाजन गरि छड्के अनुगमन गरि सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई पक्राउ गरि १५ हजार रुपैयाँसहित कारबाही गर्ने, सार्वजनिक ठाउँमा फोहोर संकलनका लागि राखिएको बाल्टीबाट समयमै फोहोर फाल्न निर्देशन दिने र तत्कालै २ वटा कन्टेनर ट्याक्टर थप गर्ने, मासु ब्यवसाय ब्यवस्थापनका लागि नगरक्षेत्रमा भएका सबै मासु ब्यवसाय ब्यवस्थापन गर्न तत्काल पहल गर्ने, यसअघि नै ३ सय २५ वटा मासु पसलको अनुगमन भैसकेको, त्यसको प्रतिबेदन तत्कालै सार्वजनिक हुने र सोही अनुसार काम गर्ने, पार्किङ ब्यवस्थापनका लागि दिईएको ठेक्का आगामी असोज २५ गते सकिने र त्यसपछि ब्यवस्थित पार्किङ बनाउने, क्षेत्र विभाजन गरी केही क्षेत्रमा नो पार्किङ पनि घोषणा गरिने र पार्किङ शुल्क समेत घटाउने, होर्डिङ बोर्ड मुक्त नगर बनाउनका लागि होर्डिङ बोर्ड राख्ने काम ठेक्कामा नदिने र पोखरा उद्योग वाणिज्य संघ संग सहकार्य गरिने उल्लेख छ ।
पोखरा उपमहानगरपालिकाको खर्चमा रेडियो तरङ्गले कार्यक्रमको व्यवस्थापन गरेको थियो । कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक हिमिनिधि लौडारीले सहजीकरण गरेको थिए भने नागरिक निगरानी समूहका संयोजक शिवप्रसाद गौतमले अघिल्लो पटक सार्वजनिक सुनुवाईमा जनाईएका प्रतिवद्धताहरु कार्यान्वयनका सम्बन्धमा प्रतिवेदन पेश गरेका थिए । नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्री र नागरिक निगरानी समूहका निवर्तमान अध्यक्ष उत्तम जोशी रहेको ३ सदस्यीय अध्यक्ष मण्डलले कार्यक्रम अघि बढाएको थियो । सार्वजनिक सुनुवाईमा जनाईएका प्रतिवद्धताहरु कार्यान्वयनका लागि प्रकाश पौडेलको संयोजकत्वमा ५ सदस्यीय निगरानी समूह समेत गठन गरिएको छ । समुहमा गम बहादुर गुरुङ, राधिका गिरी, राममोहन आचार्य, उदयराज अधिकारी सदस्य रहेका छन् ।

Post a Comment

 
Top