0

पोखरा २५ साउन : नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको पाचौं अधिवेशन एवं तीजको अवसरमा दर खुवाउने कार्यक्रम पोखरामा हुँदेछ । कार्यक्रम आगामी भदौ ३ गते हुनेछ । उक्त अवसरमा धादिङ जिल्लाका निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको मञ्चका अध्यक्ष वेनी पाठकले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य, सांसद एवं पूर्व मन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा सहभागी हुने अध्यक्ष पाठकले जानकारी दिए । पाठकका अनुसार नेकपा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठी, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, धुनीवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, नेत्रावती गाउँपालिकाका प्रमुख दुर्गाकुमार शाक्य (नारायण), गंगाजमूना गाउँपालिकाका प्रमुख बलबहादुर अधिकारी, सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवाल, गल्छी गाउँपालिकाका प्रमुख कृष्णहरि श्रेष्ठ, थाक्रे गाउँपालिकाका प्रमुख रामकुमार आचार्य र ज्वालामुखी गाउँपालिका का उप–प्रमुख जानुका सिंखडा पनि कार्यक्रममा सहभागी हुनेछन् । 
कार्यक्रम सम्पन्न गर्नका लागि मञ्चका सल्लाहकार संयोजक वीरबहादुर थापा मूल संयोजक, अध्यक्ष वेनी पाठक अतिथि सत्कार संयोजक, उपाध्यक्ष प्रेम थापा मञ्च व्यवस्थापन संयोजक, सह–सचिव योग प्रसाद सापकोटा प्रचार–प्रसार संयोजक, कोषाध्यक्ष समीर अर्याल अर्थ संकलन संयोजक र सदस्य वेदबहादुर तामाङ युवा परिचालन संयोजक रहेको प्रचार–प्रसार संयोजक योग प्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार कार्यक्रमको प्रचार–प्रसारलाई तीव्र पारिएको छ भने कार्यक्रम मूल संयोजक थापाका अनुसार कार्यक्रमको सबै तयारीलाई तीव्र बनाइएको छ ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले यो कार्यक्रमलाई महत्वका साथ हेरिएको छ । अधिवेशनबाट मञ्चको नेतृत्व लिन आधा दर्जनले चाहना गरेका छन् । नाम नखुलेका तर भित्र–भित्रै लविङ गरेर नेतृत्व लिन चाहनेको संख्या करिब एक दर्जन रहेको बुझिन्छ । वर्तमान अध्यक्ष वेनी पाठकले नै नेतृत्व दोहोर्याउने सम्भावना वलियो रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार बाहिर खुलेर नलागेपनि उनले भित्रिरुपमा अझ एक कार्यकाल नेतृत्व दोहोर्याउने सम्भावना छ । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै अध्यक्ष पाठकले घुमाउरो भाषामा भने–‘सबै साथीहरुले मलाइ पुनः नेतृत्व लिन आग्रह गरेका छन् तर मेरो चाहना भने छैन ।’ पाठकले नेतृत्वमा चाहना गरे सर्वसम्मत हुने सम्भावना रहेको पनि बताइन्छ ।
 नेतृत्वमा चाहना गर्ने अन्य व्यक्तित्वहरुमा सल्लाहकार परिषद संयोजक वीरबहादुर थापा, वरिष्ठ उपाध्यक्ष अर्जुन खतिवडा, उपाध्यक्षद्वय शेरबहादुर अधिकारी र प्रेम थापाका साथै वर्तमान सचिव गोकर्ण अधिकारी रहेका छन् । वीरबहादुर थापा वर्तमान नेतृत्व चयन गर्दा पनि अध्यक्ष पदका दावेदार थिए । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर पनि वीरबहादुरले वर्तमान अध्यक्ष वेनी पाठकलाई नेतृत्व सुम्पिएका थिए । यसैका कारण पनि उनी यसपटक नेतृत्वका प्रमुख दावेदार मानिन्छन् । उनी जे गरेर भएपनि मञ्चको नेतृत्व नछाड्ने मनस्थितिमा छन् ।
नेतृत्वमा चाहना गरेका वरिष्ठ उपाध्यक्ष खतिवडा पनि नेतृत्व लिन खुलेर लागेका छन् । स्रोतका अनुसार उनले आफू निकटका नेता कार्यकर्ताहरुसंग लविङ समेत थालिसकेका छन् भने उपाध्यक्षद्वय शेरबहादुर अधिकारी र प्रेम थापाले नेतृत्व लिन चाहना गरेपनि उनीहरुको सम्भावना ज्यादै न्यून रहेको छ । तर प्रेम थापा वरिष्ठ उपाध्यक्ष पदको बलियो दावेदार रहेको समेत बताइन्छ । कतिपय कार्यकर्ताले प्रेम थापासंग सबैलाई मिलाएर अघि बढ्न सक्ने खुबी भएको भन्दै थापालाई नै अध्यक्ष बनाउन पार्टी नेतृत्वलाई दवाव दिइरहेको स्रोत बताउँछ । थापा जिल्लामा पनि प्रभावशाली व्यक्तित्वका रुपमा परिचित छन् ।
वर्तमान अध्यक्ष पाठकले वीरबहादुर थापा र अर्जुन खतिवडालाई नेतृत्व सुम्पन तयार नरहेको बताइन्छ । पाठकले आफ्नो विकल्प खोज्नुपरेमा वर्तमान सचिव गोकर्ण अधिकारीलाई नेतृत्व सुम्पन चाहेका छन् । यसो हुन सके निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल पनि सहमत हुन सक्ने सम्भावना रहेको स्रोत बताउँछ । लम्साल बाहिरीरुपमा वीरबहादुरले नेतृत्व गर्नुपर्छ भन्दै गरेपनि भित्रिरुपमा थापालाई नेतृत्व दिन तयार नभएको बताइन्छ । एमाले केन्द्रको दुई लाइन संघर्ष मञ्चमा पनि रहेकाले दुवै खेमालाई पदाधिकारीमा मिलाएर अघि बढ्नुपर्नेमा कार्यकर्ताहरुले जोड छ । विशेषगरि मञ्चमा संस्थापन पक्ष हावी भएपनि  जिल्लाबाट आउने नेताहरुको प्रत्यक्ष प्रभाव नेतृत्व चयनमा पर्न सक्ने देखिन्छ । किनकि जिल्लामा एमाले संस्थापन पक्षको भन्दा माधवकुमार नेपाल पक्षको प्रभाव बढी छ । मञ्चको सचिव पदमा वर्तमान सह–सचिव योग प्रसाद सापकोटा र कोषाध्यक्ष समीर अर्यालको चर्चा छ भने कोषाध्यक्ष पदमा सरस्वती श्रेष्ठ सरु र सरोज कुँवरको नाम चर्चामा छ ।

Post a Comment

 
Top