0
चितवन १८ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण जनताले पाएको सास्तीप्रति चिन्ता व्यक्त गरेका छन् । उक्त सडकखण्डको बुधबार स्थलगत निरीक्षण गर्दै उनले पहिरोले जनतालाई सधैँ पीडित बनाइ रहेको हुँदा यसलाई सदाका लागि अन्त्य हुनेगरी काम गर्नुपर्ने बताए। प्रधानमन्त्री देउवाले कुनै पनिबेला पहिरो खस्ला भन्ने डरलाग्दो अवस्था आएको उल्लेख गर्दै ‘बाटोमा कुनै बेला पनि पहिरो आइदेला भन्ने जस्तो डरलाग्दो स्थिति छ, सालसालै पहिरो आउला भन्ने खतरा भयो, अब यो बाटोमा पूरा अध्ययन गरेर पहिरो आउने खतरा सदाका लागि बन्द गर्नुपर्छ, कसरी हुन्छ, यो चौबिसै घण्टा खुला हुने बनाउनुप¥यो,” भने।
चितवनको आँपटारीदेखि करिब २० किलोमिटर क्षेत्र सेती दोभानसम्म स्थलमार्गबाट अनुगमन गर्नुभएका प्रधानमन्त्री देउवा सेती दोभान पुग्दा केही समय अघि मात्रै पहिरो खसेको थियो । त्यसको केही परसमेत पहिरो खसेको जानकारी आएपछि प्रधानमन्त्री देउवालाई सेती दोभानबाट अघि जान सुरक्षा निकायले दिएन । 
सुरक्षा निकायले रोक्दारोक्दै पनि प्रधानमन्त्री देउवाले खै–खै पहिरोसम्म जाउ भन्दै अघि बढ्े । त्यसपछि उनले अध्ययन गरेरै पहिरो सदाका लागि अन्त्य गर्न सम्बन्धीत निकायलाई निर्देशन दिए । 
अनुगमनमा प्रधानमन्त्री देउवासँगै भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायर तथा मन्त्रायलका सचिव देवेन्द्र कार्की, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरे, सडक डिभिजन कार्यालय तथा नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुखसहित अधिकारीहरूको सहभागिता थियो ।
सो अवसरमा मन्त्री बलायरले सडक निर्माण समयमै सक्न कडा निर्देशन दिएको बताउँदै सडकको समस्या सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । “जहिले पनि यो बाटो अवरुद्ध हुँदैआएको छ, यो सदाका लागि अन्त्य हुनुपर्छ”, उनले भने–“यसप्रति मन्त्रालय सजक छ, स्थायी रूपमा समस्या समाधान गर्न मन्त्रालय सदा चिन्तित छ, यो समस्या जनताले भोग्नु नपरोस् भन्नेतिर नै ध्यान गइरहेको छ ।” हेलिकप्टरबाट चितवनको भरतपुरस्थित आँपटारीमा आएका प्रधानमन्त्री देउवासहितको टोली सेतीदोभान पुग्नुअघि करिब १३ किलोमिटर मुग्लिनतर्फ दासढुंगामा आयोजित सार्वजनिक कार्यक्रममा पनि सरिक भए । 
नारायणगढ मुग्लिक सडक आयोजना तथा ठेकेदार पक्षले सडकको वर्तमान अवस्था तथा प्रगतिको बारेमा जानकारी गराएपछि प्रधानमन्त्री देउवाले सडकमा जनताले दुःख पाएकोमा चिन्ता व्यक्त गर्दै निर्माणको काम छिटो सक्न निर्देशन दिए । यस कार्यमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 
छलफलमा भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले मुग्लिन सडक अहिले मन्त्रालयलाई सबैभन्दा ठूलो चुनौतीको रूपमा खडा भएकाले  अप्ठ्यारो ठाउँलाई देखाएर नबस्न निर्माण कम्पनीलाई आग्रह गरे । 
सो अवसरमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पुल र सडकको निर्माणको काम सँगसँगै नगरेकोमा चिन्ता व्यक्त गर्दै शर्तअनुसार काम नभए कारबाही र जरिवाना तथा राम्रो काम गर्नेले पुरस्कार पाएको सुन्न नपाएको भन्दै दुखेसो गरे। यस्तो महत्वपूर्ण बाटोमा ग्राभेल समेत नभएकोमा उनले दुख व्यक्त गरे । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले प्रगति विवरण प्रस्तुत गर्दै अहिलेसम्म ५३ प्रतिशत मात्रै काम सम्पन्न भएको जानकारी गराए ।  आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठले आएका जिज्ञासाको उत्तर दिएका थिए । 
प्रधानमन्त्री कार्यालयको भौतिक निर्माण हेर्ने सचिव चन्द्र घिमिरेले लक्ष्यअनुसारको प्रगति न्यून भएको भन्दै रातिमा पनि काम गर्न आग्रह गरे । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले कुल १० महिना भन्दा बढी म्याद नथपिने जानकारी दिँदै त्यसपछि थप्नुपरे जरिवाना लाग्ने चेतावनी दिए । उनले आगामी चैतसम्ममा कामसक्ने विश्वास व्यक्त गर्नुहुँदै पहिरो रोकथामका लागि नेपालकै  विज्ञ समूह परिचालन गरिएको जानकारी दिए । 
ठेकेदारका पक्षबाट लामा कन्ट्रक्सनका पिताम्बर बडूले कावु भन्दा बाहिरको परिस्थितिले गर्दा काममा अवरोध आएको भन्दै दिनमा चार घण्टा पनि राम्ररी काम गर्न नपाएको गुनासो गरे । सांसद रामकृष्ण घिमिरेले सडकको दुराबस्थाप्रति चिन्ता व्यक्त गरे ।
यसैबीच नारायणगढ मुग्लिन सडकखण्ड निर्माण सम्पन्न हुँदा ३५ मिनेटमै पार गर्न सकिने सडक निर्माण आयोजनाले जनाएको छ ।   प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त सडकको प्रगति विवरणबारे जानकारी दिँदै नारायणगढ सडक निर्माण आयोजनाका प्रमुख चन्द्रनारायण यादवले एक घण्टा १० मिनेट लाग्ने सडक निर्माण सकिएपछि ३५ मिनेटमा पार गर्न सकिने जानकारी दिए । 
उनले साँघुरो ठाउँमा ९ मिटर र अलि खुला ठाउँमा ११ मिटरको सडक निर्माण हुने भन्दै तीनवटा क्षेत्रमा ६ वटा निर्माण कम्पनीले काम गरिरहेको जानकारी दिनुभयो । हरेक निर्माण कम्पनीमा एक÷एक कम्पनी भने भारतीय रहेको प्रमुख यादवले बताए । भारतबाट यहीँ सडक भएर ८० प्रतिशत सामान आयात निर्यात हुने गरेको उनको भनाइ छ । रु तीन अर्ब ६२ करोड बजेट रहेको उक्त सडकको गएको वर्षमा रु एक अर्ब ६० करोड खर्च भएको जानकारी पनि प्रमुख यादवले दिए । 
विसं २०३६ मा नारायणगढ गोर्खा सडकको रूपमा यहाँ उक्ते सडक निर्माण भएको थियो । साँघुरो भएर अहिले नेपाल भारत व्यापार आयोजना अन्तर्गत सडक विस्तारको काम शुरु भएको हो । आयोजनाले अहिले विभिन्न क्षेत्रमा कालोपत्रेको काम शुरु भएको समेत जनाएको छ । गएको वैशाखमा म्याद सकिएपछि पटक÷पटक म्याद थप भएर निर्माणको काम चलिरहेको छ । पहिरोका कारण उक्त सडक उच्च जोखिममा छ । रासस 

Post a Comment

 
Top