0

पोखरा १८ साउन ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक वसन्तकुमार शर्माले महिनावारी पैसा (हप्ता) उठाउनेलाई ठेगान लगाउने चेतावनी दिएका छन् । नव आगन्तुक प्रहरी निरीक्षक शर्माको स्वागतमा पृथ्वी होटल व्यवसायी समिति पोखराले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही टोले गुण्डाहरुले धम्क्याउँदै महिनावारी उठाईरहेको जानकारी आएको र तुरुन्तै नरोके ठेगान लगाउने चेतावनी दिएका हुन् । 
‘केही व्यक्तिहरुले धम्क्याउँदै महिनावारी (हप्ता) उठाउने गरेको सुनेको छु’–उनले भने,‘तपाईंहरुले ति व्यक्तिहरुलाई महिनावारी पैसा उठाउन छोडिदिनका लागि खबर सुनाई दिनुहोला, यदि छाडेनन् भने म कठोर बन्छु र ठेगान लगाईदिन्छु ।’ पोखराको मुख्य केन्द्र लेकसाईड बैदामको प्रमुख भएर एक हप्ताअघी आएका निरीक्षक शर्माले यौन अखडा पनि ध्वस्त पार्ने समेत चेतावनी दिए । आफू जागिर खान मात्र पोखरा नआएको बताउँदै उनले भने–‘पोखराका होटल तथा रेष्टुरेण्टहरुमा विकृति छ भने आजै अन्त्य गर्नुस्, मलाई केही ईन्फरमेसनहरु आएका छन्, यदि ती त्यस्ता विकृतिहरु बन्द भएनन् भने म आफैले बन्द गराउँछु ।’ 
होटलमा छापा मार्दा निर्दोष परे स–सम्मान जहाँ लगेर छाड्नुपर्ने हो त्यहिं छाडिदिने तर दोषीलाई कानूनी कार्वाही गरेरै छाड्ने दृढता व्यक्त गर्दै उनले भने–‘महिला कर्मचारी नै नराख्नुस् म भन्दिनँ, तर कर्मचारी हो भने डे«स दिनुस् ता कि कर्मचारी र अन्य चिनियोस् ।’ ईन्सपेक्टर शर्माले होटलमा आउने पाहुनाको सम्पूर्ण विवरण राख्न सुझाव दिदै भने–‘कहाँबाट आएको ? किन आएको ? कति दिन बस्ने ? के गर्ने ? र कहाँ जाने ? सबै विवरण लिनुस्, शंकास्पद भए प्रहरीलाई खबर गरेर सहयोग गर्नुस् ।’ त्यस्तो जानकारी दिए जो व्यक्ति त्यस्ता काममा संलग्न हो त्यसलाई मात्र कार्वाही गर्ने तर होटल व्यवसायीलाई केही पनि नगर्ने उनले प्रतिबद्धता जनाए ।
शर्माले प्रहरीले पनि दुःख दिएको भए आफूलाई जानकारी गराउन आग्रह गर्दै त्यस्ता प्रहरीलाई कार्वाही गर्ने बताए । उनले भने,‘म प्रहरीलाई पनि सुधार्छु, तपाईंहरुलाई दुःख दिने नियतले कुनै प्रहरीले नगद वा जिन्सी मागेर दुःख दिइरहेको छ भने गोप्य रुपमा मलाई जानकारी दिनुस्, म त्यस्ता प्रहरीलाई पनि ठेगान लगाउँछु ।’ 
पोखराको शान्ति सुरक्षाको लागि कुनै सम्झौता नगर्ने उद्घोष गर्दै उनले त्यसका लागि होटल व्यवसायीसहित सम्पूर्ण पोखरेलीलाई सहयोग गर्न आग्रह गरे । उनले भने–‘तपाईंहरुले जे सहयोग गर्नुहुन्छ, त्यो भन्दा म तपाईंहरुलाई दोब्बर सहयोग गर्छु ।’ सबैको सहयोग मिलेमात्र आफूले शान्ति सुरक्षा बहाल गर्नसक्ने उनले बताए । उनले आफूले विकृति–विसंगति रोकेर शान्ति सुरक्षा बहाल गर्न नसके पोखरा छाडेर जाने तर सम्झौता गरेर नबस्ने उद्घोष गरे ।
प्रहरी निरीक्षक शर्माले गृहमन्त्री जनार्दन शर्मासँग पत्रपत्रिकामा आएजस्तो कुनै साईनो नभएको प्रष्ट्याए । गृह जिल्ला दुवैको रुकुम भएकाले हल्ला चलेको बताउँदै उनले भने–‘तपाईंहरुले पत्रपत्रिका तथा रेडियो, टेलिभिजनमा जे पढ्नु भएको छ, जे सुन्नु भएको छ, त्यो सत्य होईन, हामीबीच त्यस्तो नाता सम्बन्ध छैन ।’ 
कार्यक्रममा बोल्दै पृथ्वी होटल व्यवसायी समिति पोखराका अध्यक्ष कमलप्रसाद न्यौपानेले यसअघि राति ११ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न प्रशासनले स्वीकृति दिएकाले त्यसलाई निरन्तरता दिन आग्रह गरे । उनले आफ्नो क्षेत्रका होटलहरुमा यौन व्यापारजस्ता विकृति विसंगति नहुने भन्दै यदि कसैले गरेको पाइए कार्वाही भोग्न तयार रहेको बताए । उनले शान्ति सुब्यवस्था र सुरक्षा दिएर निर्वाध रुपमा होटल सञ्चालन गर्ने वातावरण निर्माणका लागि पनि आग्रह गरे । पृथ्वी होटल व्यवसायी समिति पोखराका संस्थापक अध्यक्ष एवम् निवर्तमान अध्यक्ष रिजन शेरचनले प्रहरी र व्यवसायीबीच नङ र मासुको सम्बन्ध रहेकाले यसलाई कायम राख्नुपर्ने बताए । 
उनले अन्य ठाउँमा अपराध गरेर पोखरा लुक्ने ठाउँ बनाएको पाइएकाले यसलाई निरुत्साहित गर्न प्रहरीले भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक शर्मालाई होटल व्यवसायी समिति पोखराका अध्यक्ष कमलप्रसाद न्यौपाने, संस्थापक अध्यक्ष रिजन शेरचनसहित पदाधिकारी तथा सदस्यहरुले माला र फूलको गुच्छा प्रदान गरेर स्वागत गरेका थिए ।
पृथ्वी होटल व्यवसायी समिति पोखराका अध्यक्ष कमलप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष हरिप्रसाद पाण्डेले स्वागत र सचिव वालकृष्ण निउरेले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top