0
पोखरा १४ साउन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब केही महिनाभित्रै दुवै तहको निर्वाचन हुने भएकाले निर्वाचनको तयारीमा जुट्न कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पोखरामा कास्की कांग्रेसका केही नेता र कार्यकर्तासंगको भेटघाटमा नेता पौडेलले अब हुने निर्वाचनमा नेपाली कांग्रेसले विजय प्राप्त गर्न नसके लोकतन्त्र र नागरिक अधिकार नै संकटमा पर्ने बताए । 
शनिबार साँझ पोखराको लेकसाइडस्थित गुडवील होटलमा आयोजना गरिएको भेटघाट कार्यक्रममा कास्की कांग्रेसका केही पदाधिकारी र सदस्य तथा केही नेता र केही पत्रकार सहभागी थिए । कार्यक्रममा सहभागी कांग्रेसका नेता कार्यकर्ताले स्थानीय तहको चुनावमा कांग्रेस पराजित हुनुमा केही राष्ट्रिय मुद्धा र केही उम्मेदवार चयन प्रक्रिया तथा केही सांगठानिक कमजोरी जस्ता कारण प्रमुख रहेको बताएका थिए । 
कास्कीको स्थानीय तहको निर्वाचनमा पराजित भएका केही उम्मेदवारले अन्तर्घातका कारण मात्र नभएर पार्टी संगठनको कमजोरीका कारण आफूहरु चुनावमा पराजित भएको बताएका थिए भने चुनावमा उम्मेदवार बनेकाहरुले उम्मेदवार चयनमा नै कमजोरी भएका कारण सोचे अनुरुपको नतिजा आउन नसकेको भन्दै चिन्ता प्रकट गरेका थिए ।  चुनावको विषयमा गम्भीर समीक्षा गरि दोषीलाई कार्वाही गर्न सके आगामी निर्वाचनमा कांग्रेस पहिलोशक्ति बन्ने कार्यकर्ताहरुको विश्वास थियो । 
पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा कांग्रेसको दोस्रो स्थानमा पुगेकोमा वरिष्ठ नेता पौडेलले समेत चिन्ता प्रकट गरे । उनले भने–‘अब हुने तेस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले धेरै स्थानमा विजय प्राप्त गरेपनि एमालेको बराबरी जस्ता स्थानमा आउन सक्ने तर पहिलो पार्टी हुने अवस्था भने मैले देखेको छैन ।’
नेता पौडेलले प्रदेश तहको निर्वाचनमा चार नं. प्रदेश सहित सबै स्थानबाट नेपाली कांग्रेसलाई पहिलो शक्तिको रुपमा जिताउनुपर्ने मा जोड दिए । ‘अब हुने निर्वाचनमा कांग्रेसले हार्ने र एमालेले बहुमत प्राप्त गर्ने स्थिति आयो भने त्यो देश र जनताका लागि दुर्भाग्य हुनेछ’, नेता पौडेलले भने–‘लोकतन्त्र र नागरिक अधिकार माथि चुनौती थपिनेछ र  सर्वसत्तावाद हावी हुनेछ ।’
अब हुने निर्वाचन पूर्व कांग्रेसको सबै तहको कार्यकर्ता सक्रियता पूर्वक संगठन निर्माण र जनताको काममा लाग्नुपर्नेमा जोड दिंदै उनले भने–‘आम सर्वसाधारण, यूवा, वेरोजगार तथा कृषकको हितका लागि रचनात्मक कार्यक्रम गरेर सबैको मन जित्न सक्नुपर्छ ।’
नेपाली कांग्रेसको भागमा परेका मन्त्रालय भन्दा पनि कांग्रेसभित्र पौडेल समूहले प्राप्त गरेका विभिन्न मन्त्रालयको नामै लिएर पौडेलले भने–‘तपाइँहरु ती मन्त्रालयबाट हुन्े कामका लागि योजना लिएर आउनुस् म तुरुन्त काम गर्न लाउनेछु ।’ नेता पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीमा नयाँ उर्जा थप्नका लागि नयाँ ढङ्गले सोच्न र गुटवन्दी अन्त्यका लागि पहल गर्न आफूले आग्रह गरिरहेको समेत स्पष्ट पारे ।


Post a Comment

 
Top