0
पोखरा १४ साउन
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा रहेको सिद्धार्थ टोल विकास संस्थाले महिलाहरुका लागि निःशुल्क स्तन तथा पाठेघर क्यान्सर परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गर्यो। शनिबार आयोजित कार्यक्रममा मिडसन कास्कीले प्राविधिक र परिभाषित मेडिकल फर्माले औषधि सहयोग गरेको थियो । उक्त अवसरमा १२५ जना महिलाहरुले आफ्नो स्वास्थ्य परीक्षण गराएकोमा ५ जनामा क्यान्सरको सम्भावना देखिएको मिडसन कास्कीका कार्यक्रम संयोजक निलम महर्जनले  जानकारी दिइन। 
कार्यक्रमको उद्घाटन गर्दै वडा नं. ४ का वडाध्यक्ष शंकर प्रसाद बाँस्तोलाले पोखरा लेखनाथ महानगरपालिकाले नगरवासीको स्वास्थ्यका लागि करिब ८ करोड बजेट विनियोजना गरेकाले उक्त बजेटको भरपुर उपयोग गर्न आग्रह गरे । उनले जटिल रोग लागेका व्यक्तिहरुलाई सिद्धार्थ टोल विकास संस्थाको सिफारिस लिएर आए वडा कार्यालयले सक्दो सहयोग गर्ने स्पष्ट पारे । उनले भने–‘स्वास्थ्यका लागि बजेट छुट्टिइसकेको छ । अब छिट्टै प्रत्यक वडामा हेल्थ डेक्स स्थापना हुन्छ ।’ पुरातन संस्कारबाट महिलाहरु बाहिर निस्कनुपर्नेमा जोड दिंदै वडाध्यक्ष बाँस्तोले महिलाहरुले लाज र शंकोच मानेर कुनैपनि रोग लुकाउन नहुने बताए । बेलेमा सचेत हुन सके भविष्यमा निरोगी भएर बाँच्न सकिने उनले स्पष्ट पारे । वडाध्यक्ष  बाँस्तोलाले संस्थाका लागि २ थान पंखा समेत हस्तान्तरण गरेका थिए । 

संस्थाका सल्लाहकार मदनकाजी श्रेष्ठले स्वास्थ्य र स्वास्थ्य शिक्षा सबै जनताको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिए । सामाजिक क्षेत्रमा क्रियाशिल सिद्धार्थ टोल विकास संस्थाले स्वास्थ्य क्षेत्रमा पनि सक्रिय हुनु निकै खुशीको कुरा भएको भन्दै उनले यसको सिको सबै संघ–संस्थाले गर्न सके कुनै पनि महिलाहरु रोगको शिकार हुन नपर्ने बताए । 
टोल विकास संस्था समन्वय समितिका अध्यक्ष केशव ढकालले वडा नं. ४ मा रहेको १६ टोल विकास संस्थामध्ये सिद्धार्थ टोल विकास संस्था उत्कृष्ट रहेको बताए । उनले सिद्धार्थ टोल विकासले स्वास्थ्यसंग सम्बन्धित कार्य गरेकोमा प्रशंसा गरे । उनले भने–‘संस्थाको सामाजिक गतिविधि निकै प्रशंसनीय थिए । अब स्वास्थ्य क्षेत्रमा पनि पाहिला अघि बढाएर निकै राम्रो काम गरेको छ ।  यो कार्यक्रम महिलाहरुका लागि निकै उपयोगी हुन्छ ।’ यस किसिमको कार्यक्रम सबै टोल विकास संस्थाले गर्ने हो भने कुनै पनि महिला कुनै पनि रोगबाट पीडित भएर एवं पिल्सिएर बस्न नपर्ने उनले स्पष्ट पारे । 
संस्थाकी अध्यक्ष गोमादेवी कोइराला सुवेदीले रोग लुकाएर बस्दा महिलाहरुले स्वास्थ्यका साथै सामाजिक एवं मानसिक समस्या भोग्नुपर्ने भन्दै रोग लुकाएर नबस्न आग्रह गरिन् । उनले भनिन्–‘म पुरानो पुस्ता र नयाँ पुस्ता बीचको महिला हुँ । पहिले–पहिले जतिसुकै जटिल रोग भएपनि लुकाएरै राख्ने चलन थियो । अहिले त्यो अवस्था छैन । महिलाहरु यो रोगहरुबारे विस्तारै खुल्दै जान थालेका छन् ।’ कुनैपनि महिलाले यस्ता रोगबाट दुःख नपाउन् भन्ने उद्देश्यले  कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारिन् ।  
संस्थाकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक भवानी माकाजूले कार्यक्रमबाट सानो कुरा जानेपनि महिला स्वास्थ्यका लागि बहुउपयोगी हुने बताइन । स्तन तथा पाठेघर क्यान्सर नजानेरै हुने भन्दै उनले बेलैमा सचेत हुन सके भविष्यमा दुःख नपाइने स्पष्ट पारिन् । 
संस्थाकी सचिव सीमा कोइरालाले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत स्तन तथा पाठेघर सचेतना कार्यक्रम आयोजना गरिएको भन्दै यसको भरपूर उपयोग गरेर स्वास्थ्य लाभ लिन आग्रह गरेकी थिइन ।
मिडसन कास्कीका कार्यक्रम संयोजक निलम महर्जनले लाज र शंकोच नमानि आफ्नो रोग सबैसामु  राख्न आग्रह गरिन् । उनले पहिला आफ्ना श्रीमान, त्यसपछि घर परिवारलाई यो रोगबारे जानकारी गराउँदै चिकित्सकको सल्लाह बमोजिम उपचार गरि समाजमा पनि यो रोगबारे जनचेतना फैलाउन आग्रह गरिन् । 
उक्त अवसरमा निमल महर्जन, जसमाया जिरेल, पूजा भण्डारी, बन्दी गुरुङ, कविता पौडेल, मनिषा राना, निशा श्रेष्ठ र गीता ढकालले महिलाहरुको स्तन तथा पाठेघरको परीक्षण गर्दै यो रोग सम्बन्धी सचेतना गराएका थिए ।



Post a Comment

 
Top