0
साउन ७, पोखरा : कास्कीमा रहेका पन्तहरुको छाता संस्था पन्त समाज नेपाल कास्की शाखाको तेस्रो वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभामा बोल्ने वक्ताहरुले पन्तहरुको पहिचार र अधिकारका लागि पन्तहरु नै एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले विशेषगरि नेपालमा जातीयता र पहिचानको लडाइँ उत्कर्षमा पुगेकाले पन्तहरुका साथै ब्राम्हण क्षेत्रीहरुले आफ्नो पहिचान र अधिकारका लागि बेलैमा सचेत नहुने हो भने समाजमा समाजमा हेपिएर बस्नुपर्ने अवस्था आउने बताएका थिए । 

साधारणसभाको उद्घाटन गर्दै पन्त समाज कास्कीका संस्थापक अध्यक्ष उपप्राध्यापक कल्याण पन्तले आफ्नो पहिचान र अधिकारका लागि लड्न समाज स्थापना गरेर पन्तहरुलाई एकतावद्ध गर्ने प्रयास गरिएको बताए । संचारकर्मी रहेका उनले पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा होस् या मुलुकको हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका पन्तहरुले नै निर्वाह गरेको स्पष्ट पारे । उनले भने–‘पृथ्वीनारायण शाहले मुलुक एकीकरण गर्दा सेनापति पन्त नै थिए । मुलुकका धेरै राजाहरुलाई मार्गदर्शन गर्नेपनि पन्त नै थिए । तर आज पन्तहरु निकै पछाडि परेको महसूस भएको छ ।’ अब विगतलाई सम्झिएर होइन भावी योजनाका साथ समाजलाई अघि बढाउनुपर्ने भन्दै उनले सामाजिक गतिविधिका लागि भातृत्व र वन्धुत्व भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा पन्त भएर सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै अधिवक्ता तथा संरक्षक भूपनीधि पन्त र पोखरा लेखनाथ महानगरपालिकामा निर्वाचित महिला प्रतिनिधि तथा समाजका उपाध्यक्ष प्रभा पन्तलाई सम्मान गरिएको थियो । सम्मान पछि बोल्दै सम्मानित व्यक्तित्व भूपनीधि पन्तले पन्तहरुको इतिहास र भूमिका जति कोट्याएपनि, जति लेखेपनि नसकिने स्पष्ट पारे । उनले भने–‘नेपालका पहिलो विद्यावारिधि गर्ने पनि पन्त थिए । पृथ्वीनाराण शाह तथा हरेक राजाका गुरु पनि पन्त नै थिए । अहिले पनि मुलुकको उच्च तहमा पन्त नै पुगेका छन् ।’ पन्तहरु एकतावद्ध हुन सक्ने हो भने मुलुकलाई सही दिशामा अघि बढाउन सकिने उनले बताए । 
अर्की सम्मानित व्यक्तित्व प्रभा पन्तले छरिएर रहेका पन्तहरु एकतावद्ध हुने प्रयास गर्नु सह्रानीय कार्य भएको भन्दै सामाजिक कार्यमा थप क्रियाशिल बन्न आग्रह गरिन् । 
समाजका सल्लाहकार एवं शिक्षासेवी बाबुराम पन्तले पन्तहरुका लागि आइपर्ने हरेक चुनौतीहरुमा समाज क्रियाशिल भएर अघि बढ्नुपर्ने खाँचो औंल्याए । 
सल्लाहकार श्याम पन्तले पन्तहरुको इतिहास निकै लामो रहेको भन्दै पहिचान र अधिकारका लागि एकता आवश्यक भएको स्पष्ट पारे । 
सल्लाहकार भगवान पन्तले निकै मेहनतका साथ समाज यहाँसम्म आइपुगेको भन्दै समाजलाई अघि बढाउन सबै जागरुक र क्रियाशील भएर लाग्न आग्रह गरे । 
समाजका सल्लाहकार तथा बैंकर्स ज्ञानेन्द्र पन्तले थरकै आधारमा खुलेका संस्थाहरुले अधिकार नै मागेर लाडिरहेका अवस्थामा पुगिसकेको भन्दै पन्तहरुले पनि समाजलाई आर्थिक, भौतिक सम्पूर्ण रुपले सशक्त बनाउनुपर्नेमा जोड दिए ।
उपप्राध्यापक ईन्दिरा पन्तले पन्त समाज स्थापना भएकोमा खुशी व्यक्त गर्दै हाम्रा पूर्खाहरुको विरासतलाई काम राख्नुपर्ने खाँचो औंल्याइन ।
समाजका सचिव दुर्गेषराज पन्तले कठिन परिस्थितिका बाबजूद समाज यो स्थानसम्म आइपुगेको भन्दै सहयोग गर्ने सबैमा आभार प्रकट गरे । 
समाजका अध्यक्ष उपेन्द्रराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद पन्तले आर्थिक प्रतिवेदन प्रस्तुत, कार्यसमिति सदस्य हरि पन्तले स्वागत र संचालन सदस्य रमेश पन्तले गरेका थिए ।  



Post a Comment

 
Top