1
 पोखरा ५ साउन
कास्कीमा खुल्ला दिशामुक्त अभियान प्रभावकारी बन्दै गएको एक अनुसन्धानले देखाएको छ । कास्कीलाई केही वर्षअघि नेपालकै पहिलो खुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा गरिएको थियो ।
खुल्ला दिशामुक्त क्षेत्रको प्रभावकारिताका बारेमा पोखरा र अष्ट्रेलियाका २० जना विद्यार्थीहरुले अनुसन्धान गरेका थिए । उनीहरुको अनुसन्धानबाट कास्कीमा खुल्ला दिशामुक्त अभियान प्रभावकारी बन्दै गएको भएपनि केही प्रतिशत अझै बाँकी रहेको खुलेको छ। उनीहरुले कास्कीको लेखनाथस्थित शिशुवा, वेगनास, गगनगौंडा र हेमजाको विभिन्न क्षेत्रमा १० दिन लगाएर स्थलगत अनुसन्धान गरेका थिए ।
युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलियाका १०, पोखराको ला–ग्राण्डी इन्टरनेशनल कलेजका बीपीएच संकायका ७ र पोखरा विश्वविद्यालयका ३ गरि २० जना विद्यार्थीहरु सहभागी थिए । अनुसन्धानका क्रममा उनीहरुले पत्ता लगाएका विषयहरुलाई ला–ग्राण्डी इन्टरनेशनल कलेजमा आयोजित एक कार्यक्रममा प्रस्तुत गरिएको थियो। विद्यार्थीहरुले आफूहरुको अनुसन्धान अझै पूर्ण नभएकाले थप अनुसन्धान गर्ने बताएका छन्। अनुसन्धानमा कञ्चन नेपालले सहजीकरण गरेको थियो ।
अनुसन्धानमा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै ला–ग्राण्डकी इन्टरनेशनल कलेजका संस्थापक अध्यक्ष देवराज चालिसेले विद्यार्थीहरुको अनुसन्धानले सरकारी निकायलाई थप कदम अघि बढाउन सहयोग पु¥याउने बताए ।
कलेजका प्राचार्य ई. किरण केसीले विद्यार्थीहरुको मेहनत र अनुसन्धानप्रति आफू निकै खुशी भएको भन्दै थप मेहनत गरेर अघि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए । उनले पोखरामा अन्तर्राष्ट्रियस्तरको अनुसन्धान हुनु पोखरा र पोखरेलीका लागि खुशीको विषय भएको भएको भन्दै यस्ता विषयको अनुसन्धान र गुणस्तरीय शिक्षामा कलेजले रचनात्मक भूमिका खेल्ने बताए ।
उक्त अवसरमा डिडब्लू एसएस क्षेत्रीय कार्यालयका अधिकृत मिना श्रेष्ठ, कञ्चन नेपालका टीम लिडर गजेन्द्र सिंह, युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलियाका प्रोफेसर जेन हेवर्थ र डा. जुली सन्डर्स लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 


Post a Comment

 
Top