0
जेठ २४ पोखरा


कास्कीको काहुँ गाविस हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ स्थित काहुँ आधारभूत विद्यालय स्थापना भएको करिब ५ दशक अर्थात ५० वर्ष पुग्न लागेको छ । स्वर्णमहोत्सव मनाउने समय हुन लागेको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या भने ५० भन्दा कम छ । अझ केही वर्ष अघि सरकारले विद्यार्थी संख्या कम भएका विद्यालयहरु एक आपसमा मर्ज गर्ने नीति ल्याउदा उक्त विद्यालयमा ८ जनामात्र विद्यार्थी थिए । स्थापना कालदेखि लामो समयसम्म उक्त विद्यालयमा अध्ययन गरेका धेरै जना विद्यार्थीहरु राज्यका विभिन्न निकायमा उच्च तहमा समेत पुगिसकेका छन् । तर समय बित्दै जाँदा उक्त विद्यालय नजिक काहुँमा खुलेको अर्को विद्यालय विस्तार हुँदै माध्यमिक तहसम्मको पढाइ हुने अवस्थामा पुग्यो भने पोखरा ११ शितलादेवी सामुदायिक विद्यालय पनि यस क्षेत्रको नमूना विद्यालयको रुपमा विकसित भयो ।
दुई छिमेकी विद्यालयले शैक्षिक र भौतिक प्रगति गरेपनि काहुँ सामुदायिक विद्यालयले आफ्नो अस्तित्व जोगाउन समेत कठिनाइ उत्पन्न भएपछि स्थानीय केही अभिभावक र शिक्षकको प्रयास ४÷५ वर्ष यता केही सुधार भएको छ । ८÷१० जनामात्र विद्यार्थी रहेको उक्त विद्यालयमा नसैरीदेखि कक्षा ५ सम्म गरि करिब ५० जना विद्यार्थी अध्ययनरत छन् । ८ जना शिक्षक कर्मचारी रहेकोमा २ जना स्थायी र २ जना करार बाहेक अन्य निजी स्रोतबाट व्यवस्था गरिएको छ ।
विद्यालयको भौतिक विकासका लागि गतवर्ष स्थानीय अभिभावक हरुको प्रयासमा ४ आना जग्गा खरिद गरि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त अनुदान समेत गरि करिब १७ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको छ । पहिलेदेखि कक्षाकोठा संचालन हुँदै आएको भवन भूकम्पका कारण क्षतिग्रस्त भएपनि मर्मत सम्भार गरेर संचालनमा ल्याइएको स्थानीय समाजसेवी तीर्थबहादुर बस्नेतले जानकारी दिए ।
विद्यालयको आर्थिक, भौतिक र शैक्षिक अवस्था नाजूक रहेका कारण स्थानीय व्यक्तिहरुको प्रयासमा विभिन्न संघ–संस्था र व्यक्तिले समेत सहयोग गर्न थालेपछि विद्यालयको समग्र अवस्थामा सुधार हुन थालेको शिक्षक सोमनाथ अधिकारीले जानकारी दिए ।
यसैक्रममा लायन्स क्लव अफ पोखरा लेकसिटीले बुधबार एक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययन गर्ने साना बालबालिकाका लागि मण्टेश्वरी कक्षा संचालनका लागि आवश्यक सबै खाले सामाग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रमका संयोजक तथा स्थानीय बस्नेतकै पहलमा यसअघि पनि विद्यालयमा लायन्स क्लवको तर्फबाट टेवुल कुर्ची लगायतका सामाग्री प्रदान गरिएको थियो ।
क्लवका इलेक्ट प्रेसिडेन्ट मीनराज काफ्लेका अनुसार करिब ५० हजार मूल्य बराबरका दराज र शैक्षिक सामाग्रीहरु क्लवको तर्फबाट हस्तान्तरण गरिएको हो । स्थानीय भन्ज्याङ नर्सरी आमा समूहलाई पनि क्लवले दराज हस्तान्तरण गरेको छ । यसअघि तीर्थ कुमारी गुरुङले २६ हजार रुपैयाँ तथा तीर्थ बस्नेतले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।
सोही कार्यक्रममा सहभागी पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मोहन बाँस्तोलाले विद्यालयको अवलोकन गरेपछि एउटा दराज, १० थान कुर्ची र कार्पेटको तुरुन्तै व्यवस्था गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा विद्यालयको तर्फबाट वडाध्यक्ष बाँस्तोला सहित वडा सदस्यहरुलाई सम्मान गरिएको थियो ।
शैक्षिक सामाग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगराज बाँस्तोला र अम्विका ढुङ्गाना समेतलाई हस्तान्तरण गर्दै लायन्सका पूर्व मल्टिपल काउन्सिल चियर पर्सन दीपक श्रेष्ठले बालबालिकाहरुलाई स्तरीय शिक्षा दिन आग्रह गरे । उनले आफ्नो क्लवले विद्यालयलाई थप सहयोग गर्न समेत तयार रहेको बताए । पूर्व गभर्नर धु्रव थापाले बालबालिकालाई मण्टेश्वरी तालिम प्राप्त शिक्षक–शिक्षिकाले पढाउन आग्रह गरे । उनले ३ वर्ष पहिले लायन्सले सहयोगको कार्यक्रम लिएर आउँदाको अवस्था भन्दा यस पटक विद्यालयको सुधार भएको देख्दा खुशी प्रकट गरे ।
अर्का पूर्व गभर्नर योगेन्द्र प्रधानले नेपाल सरकारले ल्याएको नीतिका कारण विद्यार्थी संख्या कम भएका ग्रामीण क्षेत्र विद्यालय संचालन गर्न समस्या उत्पन्न भएको बताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले स्वर्ण महोत्सव मनाउने अवस्थामा रहेको विद्यालयको दूरावस्थालाई सुधार गर्न लायन्स जस्ता  सामाजिक संघ–संस्था, राजनीतिक दल र जनप्रतिनिधिहरु को समेत ध्यान जानुपर्नेमा जोड दिए । उनले लेकसिटी लायन्सले काहुँको उक्त विद्यालयसंगै धादिङ र पर्वतमा विद्यालय भवन निर्माणमा महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा गरे । काहुँ गाविसका पूर्व अध्यक्ष चित्र प्रसाद लामिछानेले लायन्स जस्ता संस्थाले चासो देखाएपछि विद्यालयको सुधार भएको जानकारी दिए ।
लायन्स क्लव अफ पोखरा लेकसिटीका अध्यक्ष जगदीश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक तीर्थ बस्नेत, भन्ज्याङ नर्सरी आमा समूहकी अध्यक्ष सावित्री लामिछाने, विद्यालयका प्रअ अम्विका ढुङ्गाना, अध्यक्ष योगराज बाँस्तोला लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।


Post a Comment

 
Top