0
पोखरा २ असार
पोखराका युवा पत्रकार प्रकाश ढकालको उपचारका लागि पोखरामा क्रियाशील पत्रकारितासंग सम्बन्धित संघ–संस्था र अन्य संघ–संस्थाबाट करिब ३ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । पत्रकार ढकालको श्वास–प्रश्वासमा समस्या उत्पन्न भएपछि १० दिनदेखि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार नै थप उपचारका लागि काठमाडौं पठाइएको छ । ढकालको साथमा नेपाल प्रेस युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटा काठमाडौं पुगेका छन् ।
काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटलका डा. रमेश चोख्यातीलाई उदृत गर्दै काठमाडौंबाट पत्रकार महासंघ कास्कीका उपाध्यक्ष त्रिभुवन पौडेलले दिएको जानकारी अनुसार पत्रकार ढकाललाई ३/४ दिनसम्म अस्पतालमा राखेर उपचार गरिने भएको छ । पत्रकार ढकालको स्वास्थ्यमा क्रमिक सुधार आएको भएपनि थप स्वास्थ्य परीक्षणका लागि काठमाडौं रिफर गरिएको गण्डकी मेडिकल कलेजले जनाएको छ ।
यसैबीच पत्रकार ढकालको उपचारका लागि पत्रकारहरुले व्यक्तिगतरुपमा संकलन गरेको रकमका साथै केही संघ–संस्थाबाट प्राप्त सहयोगबाट उनलाई थप स्वास्थ्य परीक्षणका लागि काठमाडौं पठाइएको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले जानकारी दिए ।
उनका अनुसार पोखराका संचारकर्मी र तिनका संघ–संस्थाबाट रकम संकलन अभियान शुरु भएपछि अन्य संघ–संस्थाबाट पनि हार्दिकतापूर्वक सहयोग प्राप्त भएकोले करिब ३ लाख ५० हजार रुपैयाँ ढकालको उपचारका लागि संकलन भएको छ । ढकालको उपचारका लागि नेपाल पत्रकार महासंघ कास्कीले संस्थागत रुपमा १० हजार, सदस्य पत्रकारहरुबाट ४५ हजार रुपैयाँ संकलन भएको छ । उक्त रकम महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठको पहलमा संकलन भएको हो ।
यसैगरी नेपाल प्रेस युनियन कास्कीले संस्थागतरुपमा १० हजार, कार्यसमिति र सल्लाहकार समेतबाट ४० हजार रुपैयाँ संकलन गरिएको युनियनका अध्यक्ष शिरोमणि बरालले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रकममध्ये केही रकम ढकाललाई हस्तान्तरण गर्न बाँकी छ ।
यसैगरी महिला पत्रकारहरुको संस्था सञ्चारिका समूहले आफ्नो सदस्यहरुबाट संकलन गरेको १८ हजार रुपैयाँ पनि शुक्रबार बिहान हस्तान्तरण गरेको छ । समूहका अध्यक्ष जमुना शर्मा वर्षासहित समूहका पदाधिकारी र सदस्यहरु अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए ।
यसैगरी पोखराका व्यवसायी तारा गिरीले १६ हजार रुपैयाँ, गोरखा मिलन समाजबाट २५ हजार, लायन्स क्लव अफ पोखरा डल्फिनबाट १५ हजार, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विन्दुकुमार थापाले ६ हजार, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष प्रकाश खनालले ५ हजार, रोजिना अफसेट प्रेसले ५ हजार ५, प्रतिक अफसेट प्रेसले ५ हजार, गिरी हार्डवेयरले ५ हजार, विष्णु क्षेत्री गीता खनालबाट जनही ३ हजार रुपैयाँ पत्रकार ढकालको उपचारका लागि संकलन भएको पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति पराजुलीले बताए ।
पराजुलीका अनुसार पत्रकार तथा उपमेयर पदकी उम्मेदवार बनेकी सरस्वती गुरुङले २५ हजार, खेलकूद पत्रकार मञ्चले ७ हजार, चलचित्र पत्रकार संघले ५ हजार, नेपाली कांग्रेस कास्कीले संस्थागतरुपमा १५ हजार र विभिन्न नेता–कार्यकर्ताबाट २० हजार यसअघि नै सहयोग गरिसकेका छन् ।
यसैगरी पोखराको सहारा क्लवले संकलन गरेको १२ हजार ५०० रुपैयाँ क्लवका अध्यक्ष वीरभद्र आचार्यसहितको टोली पोखरा विमानस्थलमै पुगेर पत्रकार ढकाललाई हस्तान्तरण गरेका थिए ।
पत्रकार ढकाल कार्यरत संस्था आदर्श समाज दैनिकले पनि १० हजार रुपैयाँ सहयोग गरिसकेको र थप २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको पत्रिकाका कार्यकारी सम्पादक नविन सिग्देलले जानकारी दिए ।
यसैगरी ढकालको उपचारका लागि लेखनाथ पत्रकार मञ्चले ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मञ्चका कोषाध्यक्ष सन्दिप पौडेलले जानकारी दिए ।

Post a Comment

 
Top