0
पोखरा १६ जेठ
ए लेभल एक्स्पर्ट तथा बुढानीलकण्ठ स्कुल, काठमाडौंका प्रिन्सिपल केशर खुलालले ए लेभलको पाठ्यक्रम अत्यन्त लचिलो, गुणस्तरीय, वैज्ञानिक र व्यवहारिक हुने बताएका छन् । पोखराको न्यूरोडस्थित नोभेल एकेडेमी पोखराले आयोजना गरेको  ‘डिजाइन योर फ्युचर’ विषयक क्यारियर काउन्सेलिङ सेमिनारमा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।  हरेक ३/३ वर्षमा पाठ्यक्रम परिमार्जित गरी समय सापेक्ष र अद्यावधिक गरेर विषयवस्तु सान्दर्भिक र नियमित बनाउनु ए लेभलको अर्को विशेषता भएको खुलालले स्पष्ट पारे । उनले विश्वप्रशिद्ध क्याम्ब्रिज विश्वविद्यालय, युकेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त ए लेभल शिक्षाले विद्यार्थीको शैक्षिक विकासका लागि मात्रै नभएर व्यक्तिगत विकासमा पनि टेवा पुर्याउने बताए ।
ए लेभल अध्ययनको सम्भावना र चुनौतीका बारेमा समेत विशेष जानकारी गराउँदै उनले आफ्नो अध्ययन गर्ने विषय चयन गर्दा विद्यार्थीहरुले आफ्नो चाहनाका साथै अभिभावकको लगानी गर्न सक्ने क्षमतालाई समेत विचार गर्नुपर्नेमा जोड दिए । 
एसईई (एसएलसी) परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई एसईईपछि के पढ्ने, कुन क्यारियरका के कस्ता सम्भावना, चुनौती र उनीहरुले आफूहरुलाई कसरी तयारी गर्ने भन्ने विषयमा विशेष जानकारी दिन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा करिब २०० विद्यार्थी सहभागी थिए । 
नोभल एकेडेमीका अपरेसन म्यानेजर मिनु सिङले एकेडेमीको चिनारी र उपलब्ध शैक्षिक कार्यक्रमहरु ए लेभल, बि फार्मेसी, बीएससी नर्सिङ, बिबिए तथा एमबिएको बारेमा विस्तृत जानकारी गराएका थिए । 
कार्यक्रममा एकेडेमीका पूर्व विद्यार्थीहरु, संजय श्रेष्ठ, राजन पन्थी र शुभला देवकोटाले नोभेल एकेडेमीमा ए लेभल अध्ययन गर्दाको अनुभवहरु सुनाएका थिए ।
कार्यक्रममा गण्डकी बोडिङ्ग स्कुलका प्रिन्सिपल रवि बरालले एसईई दिएर बसेका विद्यार्थीहरुलाई आफ्नो परिवार, समाज र देशको नाम उच्च राख्ने काम गर्न आग्रह गरे । 
पृथ्वीनारायण क्याम्पसका प्राध्यापक प्रा.डा. यादव शर्मा गौडेलले विद्यार्थीहरुले सधंै कठिन बाटो मात्रै रोज्नुपर्ने नभई सजिलै बाटोबाट पनि आफ्नो र देशको भविष्य उज्जवल बनाउन सकिने बताए । 
नोभेल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले एकेडेमीले ए लेभल अध्यापनको १५ वर्षको अवधिमा पनि आफ्ना विद्यार्थीहरुले देश–विदेशमा प्रगति गरेकोमा खुसी लागेको बताए । उनले शिक्षा क्षेत्रमा उत्कृष्टतातर्फको आफ्नो प्रयास निरन्तर जारी रहेको समेत स्पष्ट पारे । उनले उत्कृष्ट ६ जना विद्यार्थीहरुलाई आंशिक छात्रवृत्ति समेत प्रदान गर्दै यहि जेठ २० गतेका प्रवेश परीक्षा हुने समेत जानकारी दिए । 
कार्यक्रमको सहजीकरण  एकेडेमीका जीएसएम को–अर्डिनेटर दीपेन्द्र पहारीले गरेका थिए ।



Post a Comment

 
Top