0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दललाई चुनावमा अन्तर्घातीको मात्रै सतर्कता जरुरी रहेको बताएका छन् । पोखराको चिप्लेढुंगामा बुधबार ४ नम्बर प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले नगर र गाउँपालिकाको निर्वाचनका लागि उमेदवारीको टिकट दिन योग्य प्रतिनिधि चयनको अधिकार क्षेत्र र जिल्ला कार्यसमिति लाई दिइएको बताए । स्थनीय तह निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिकाको मेयरका आकांक्षी दिनहुँ बढ्दै गएको थाहा पाएका सभापति देउवाले जिल्लामा अत्यधिक सहमतिमा उम्मेद्वार तोक्नुपर्ने बताए। ‘चुनावमा अत्यधिक सहमति हुनुपर्छ । जिल्ला समितिले उम्म्ेदवारको बारेमा उपयुक्त निर्णय गर्नुपर्छ,’ देउवाले भने,–‘काठमाडौंले सबैतिर गरेर सात–आठसय व्यक्तिबाट छान्न सक्दैन ।’ उम्मेद्वार को उठाउँदा जित्न सकिन्छ भन्ने जिल्लाभित्र थाहा हुने भएकोले जित्नसक्ने व्यक्तिलाई मात्र टिकट दिने उनले बताए । ‘तेरो र मेरो नभनौ । अधिकतम सहमति गरेर जिल्लाले निर्णय लिनुपर्छ,’ देउवाले भने, –‘जसले जितेपनि मैले जितेको हो भन्ने हुनुपर्छ । अहिले टिकट नपाएपनि दोश्रो चुनावमा हामीले हेर्नेछौं ।’ ‘पार्टीको क्षेत्रीय र जिल्ला समितिले मात्रै आफ्ना ठाउँबाट को योग्य हो भन्ने थाहा पाउन सक्छ, केन्द्रमा नामावली पठाएर सही मान्छे चिन्न सकिँदैन,’ उनले भने–‘चुनावमा पार्टी हार्छ भने त्यो अरुका कारण नभएर आफ्नै पार्टीका अन्तर्घातीको कारण हुन्छ । कांग्रेस अरुसँग हार्दैन, हारे कांग्रेससँगै हार्छ । त्यस्तालाई छाडिँदैन ।’ स्थानीय निकाय निर्वाचनलाई संविधान कार्यान्वयन को महत्वपूर्ण अवसर भएको बताउँदै उनले जिल्ला जिल्लाबाट आएका नेता–कार्यकर्तालाई टिकटका लागि योग्य उमेदवार चयन गर्न समेत आग्रह गरे । पार्टीबाट उम्मेदवारीको टिकट पाउनेलाई सबैले सघाउनुपर्ने उनले बताए । २०१५ सालको वीपी कोइरालाको प्रधानमन्त्रित्वको सरकारको स्मरण गर्दै उनले मुलुकमा समावेशी अधिकारका अवसरको अभ्यासमा आफ्नो पार्टी अग्रणी रहेको दाबी गरे । ‘कर्णाली, महिला, मधेसी, आदिवासी जनजाति, दलित, समाजमा पछि परेकाहरूले अधिकार पाउनुपर्छ भन्ने कांग्रेसको मान्यता हो,’ उनले भने–‘पृथ्वीनारायण शाहले देश एकीकरण गर्दा पनि त्यो बेला लडाइँको अग्रमोर्चामा हुने आदिवासी जनजाति हुन्, देश सबैको हो ।’
देउवाले पहाडी र मधेसीबीच द्वन्द्व सृजना गरेर देशलाई टुक्राउने षड्यन्त्र भइरहेको समेत बताए।   अधिकार माग्दा एमालेले मधेसीलाई भड्काएको आरोप लगाएका उनले वृद्धभत्ताको व्यवस्था गरिनुको पछाडि सरकारको दिनसक्ने आर्थिक हैसियत बनाउने काम आफ्नो पार्टीले गरेको दाबी गरे । ‘पैसा हामीले ल्याएको हो, विदेशीले कांग्रेसलाई पत्याउँछ,’ उनले भने,–‘हाम्रो पार्टीले जिते वृद्धभत्ता दोब्बर बनाइदिन्छौं ।’ 
सभामा कांग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले नेकपा एमाले र राप्रपाको चर्को आलोचना गरे । उनले एमालेमाथि जनतामा भ्रम छरेको र विकास विरोधी भएको आरोप लगाए । एमालेलाई गाली गर्न करिब पाँच मिनेट समय खर्चेका उनले समस्या उब्जाउने काममात्रै एमालेले गर्दै आएको आरोप लगाए । नेता पौडेलले भने–‘एमाले पार्टीको कामा जनतामा भ्रम छर्नु मात्र हो ।’ एमालेले सँधै उल्टो काम गर्ने परेको भन्दै उनले हिजो रेलिङ तोडेर काम गर्न नदिएको र अहिले कांग्रेसले केही गर्न नदिएको स्पष्ट पारे । उनले राप्रपाको पनि चर्को आलोचना गरे । गाई देखाएर झुक्याउँदा भन्दै उनले भने,–‘जनताले बढारेर फलिदिएको राप्रपा फेरि कहाँबाट आयो ?’ मधेसी मोर्चाले चुनाव बहिस्कार ग¥यो भने संघीयता नै खतरामा पर्ने भन्दै उनले प्रश्न गरे–‘संघीयता नै खतरामा पारेर तपाईहरु हिरो बन्ने ?’ उनले मधेसवादी दलहरूलाई स्थानीय निकाय निर्वाचनको अभ्यासबाट नभाग्न आग्रह पनि गरे । ‘उहाँहरू अधिकारका लागि लड्नु भएको हो, संविधानले प्रदेश र स्थानीय निकायलाई दिएको अधिकार अब चुनावबाट नेतृत्व हातमा लिएर अभ्यास गर्नुपर्छ,’ उनले भने–‘प्रदेशलाई अधिकार दिँदा जनतालाई स्थानीय तहमा अधिकार सम्पन्न बनाउनु पनि हाम्रो दायित्व हो ।’ 
कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले पनि पार्टीको जितका लागि विद्रोही उठ्ने र अन्तर्घात गर्ने काम हुन नहुने भनाइ राखे । कोइरालाले स्व. गिरिजा प्रसादको सम्झना गर्दै भने–‘गिरिजाबाबु भन्नु हुन्थ्यो मलाई कसैको डर लाग्छ भने त्यो आफ्नै छायाँसँग लाग्छ । त्यो भनेको कांग्रेस हा¥यो भने हराउने कांग्रेस नै हुन्छ ।’ पार्टीले उमेदवारी चयनको अधिकार स्थानीय नेतृत्वका लागि स्थानीय तहलाई नै दिएकाले समझदारीमा टिकट लिन योग्य छानेर जित्न सघाउनुपर्ने उनले बताएका थिए ।
पूर्व महामन्त्री कृष्ण सिटौलाले कुनैपनि बहानामा निर्वाचन टार्न र सार्न नमिल्ने बताए । जनतालाई लाठामुंग्रा, खुकुरी देखाएर आफ्नो पक्षमा पार्ने दिन गएको उनले बताए । ‘निर्वाचन जनताका लागि हुन लागेको हो । कुनै विशेष नेता र सामान्तका लागि होइन,’ उनले भने,–‘त्यसैले निर्वाचन बिथोल्नु परिवर्तन नचाहनु हो ।’ महामन्त्री शंशांक कोइरालाले एकजुट भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
गृहमन्त्री समेत रहेका नेता बिमलेन्द्र निधिले एमालेका शीर्ष नेताले संविधान धरापमा पार्न खोजेको आरोप लगाए । पहाड र मधेसलाई फुटाउने प्रयासमा एमाले रहेको उनले बताए । ‘एमालेका शीर्ष नेता नै संविधानमा विश्वास गर्दैेनन्, संघीयता, लोकतन्त्र, गणतन्त्र र निर्वाचन प्रक्रियामा खतरा रहे त्यसमा एमालेको दोहोरो चाल छ,’ उनले भने ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा भएको सभालाई नेताहरू कृष्ण सिटौला,  गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, शारदा पौडेल, उमा अधिकारी, जीतजंग बस्नेत र नयनसिंह महरलगायतले सम्बोधन गरेका थिए । आमसभामा कास्कीसहित आसपासका जिल्लाहरु बाट पनि नेता कार्यकर्ता उपस्थित थिए । आमसभा सुरु हुनुअघि पोखराको रानीपौवा, सभागृहचोक, नदीपुर र बाग्लुङ बसपार्कबाट शुरु भएको जुलुस कार्यक्रमस्थल मानवअधिकार चोकमा आएर सभामा परिणत भएको थियो ।

इतिहासकै ठूलो सभामा’

अघिल्लो साता पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखरामा एमालेले जस्तो सभा गर्न कसैले हिम्मत नगर्ने बताएपछि अन्य पार्टी तरङ्गित बन्यो । ओलीको त्यो भनाइलाई कांग्रेसले इगो बनाउँदै चुनौतीको रुपमा पनि लियो । कास्की कांग्रेसले एमालेको भन्दा ठूलो र त्यही ठाउँमा कार्यक्रम गर्नका लागि सम्पूर्ण शक्ति खर्च ग¥यो, तयारीलाई व्यापक बनायो । सोही बमोजिम नै काँग्रेसको  चुनावी आमसभामा जनसागर उर्लियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर ४ मा एमालेले जत्रो सभा कसैले गर्न सक्दैन भनेको कुराबाटै सम्बोधन सुरु गरेका देउवाले पोखरा आएर कांग्रेसको सभा हेर्न चुनौती समेत दिए । पोखरामा अहिलेसम्म भएका कुनैपनि पार्टी र काँग्रेस स्वयंकै आमसभा भन्दा अभूतपूर्व शक्ति प्रदर्शन भएको नेताहरु बताउँछन् । कांग्रेस कास्कीका युवा नेता भानु ढकाल भन्छन्–‘अहिलेसम्म पोखरामा भएका कुनैपनि सभाहरुमा यति धेरै जनता सहभागी भएका छैनन् । यो अभूतपूर्व हो ।’  प्रदेश ७ बाट सुरु गरेको चुनावी अभियान पोखरा आएर अभूतपूर्व बनेको नेताहरुले बताएका छन्। काँग्रेस नेताहरुले जनसागरका हिसावले यो काँग्रेसका लागि ऐतिहासिक भएको पनि बताएका छन् । कैलाली, दाङ भन्दा पोखरामा थामिनसक्नु जनसागर उर्लियो । पोखराको जनलहर देखेर कांग्रेस नेताहरु नै आश्चर्य चकित भए । कांग्रेसको सभामा उर्लिएको जनसागर देखेपछि एमालेका नेताहरुले धेरै जिल्लाबाट जनता ल्याएकाले धेरै देखिएको बताउन थालेका छन् । उनीहरुले भनेका छन्–‘एमालेको सभाका कास्कीका मात्र जनता थिए । तर कांग्रेसको सभामा ४ नं. प्रदेशका सबै जिल्लाका नेता कार्यकर्ता र जनता आएका छन् । अनि धेरै हुँदैन त ?’




Post a Comment

 
Top