0
गोल्डेन न्यूज संवाददाता
साविकको पोखरा उप–महानगरपालिका र लेखनाथ नगरपालिका सहित केहि गाविस गाभिएर बनेको पोखरा लेखनाथ महानगरपालिका ब्यवस्थापन एबं सुधारका लागि २८ बँुदे कार्ययोजना सार्वजनिक गरिएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले १५ दिन देखि दुई बर्ष सम्मको समयावधिमा गर्न सकिने गरी ब्यवस्थापन एबं सुधारका कार्ययोजना सार्वजनिक गरेका हुन् । बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको कार्ययोजना अन्तर्गत १५ दिन भित्र महानगरको सेवालाई छिटो , छरितो एबं प्रभावकारी बनाउने, घरबाटो सिफारिश एबं जग्गा खण्डीकरण (प्लटिङ्ग) नियन्त्रण एबं ब्यवस्थित गर्ने, प्लाष्टिक झोला नियन्त्रणमा अनुगमनलाई तीब्रता दिने, कार्यालयमा नागरिक बडापत्र तथा गुनासो संकलन पेटिका राख्ने उल्लेख छ । कार्ययोजनामा १५ दिन भित्र ३३ वटै वडामा सचिव सहित कर्मचारी ब्यवस्थापन गर्ने, वडाबाट प्रदान गरिने सेवाको विवरण प्रकाशन गर्ने र साविकको लेखनाथमा हप्तामा दुई दिन कार्यकारी अधिकृत लगायत सम्बन्धित महाशाखा प्रमुख तथा कर्मचारी पुगेर सेवा दिने उल्लेख गरिएको छ । महानगरपालिकाको कार्यालय साविककै पोखरा उपमहानगरपालिका कार्यालय रहेको स्थानमा भएकाले लेखनाथबासीलाई सेवा प्रवाहमा सहजता प्रदान गर्न हप्ताको दुई दिन यसअघिकै कार्यालयमा पुगेर सेवा दिइने कार्यकारी अधिकृत पौडेलले बताए । त्यस्तै आगामी १५ दिन भित्र वस्ती विकास निर्दे्शिका कडाइको साथ कार्यन्वयन गर्ने र गैह्रकानुनी रुपमा भएका प्लटिङ्ग रोक्ने प्रतिबद्धता जनाइएको छ । कार्यकारी अधिकृत पौडेलले ३० दिन भित्र फोहोर मैला ब्यवस्थापन, फुटपाथ तथा छाडा चौपाया ब्यवस्थापन, ट्राफिक ब्यवस्थापन, शुसासन ब्यवस्थापन गर्ने अठोट ब्यक्त गरेका छन् । जस अनुसार १ देखि ३३ वडा सम्म आवश्यकताका आधारमा फोहोर उठाउने समय तालिका बनाउने, बजार क्षेत्र तथा राजमार्गको सफाइलाई बढी प्रथामिकता दिने उल्लेख छ । यसैगरी फुटपाथ ब्यवस्थापनका लागि फुटपाथमा थुपारिएका निर्माण समाग्री तत्काल हटाउन लगाउने, ट्राफिक ब्यवस्थापन अन्तर्गत आगामी ३० दिन भित्र पार्किङ्ग ब्यवस्थापनको सम्झौता कार्यन्वयन गर्ने, यात्रुको लागि बस पकेट निर्माण गर्ने, ईलेक्ट्रोनिक बस प्रतिक्षालय बनाउने, स्मार्ट ट्राफिक आइल्याण्ड राख्ने लगायतका विषय समेटिएका छन् । यहि समयाबधिमा नक्सापास लाई ब्यवस्थित बनाउने समेत उल्लेख गरिएको छ ।
महानगरभित्र रहेका ताल तलैया संरक्षणलाई प्रथामिकता दिदै ३ महिनाभित्र तालको सिमा पहिचान गर्ने, मानविय अतिक्रमण रोक्ने, तालको माटो हटाउने कार्ययोजना छ । साथै यसै समयावधिमा प्राकृतिक सम्पदाहरु को संरक्षण एबं ब्यवस्थापनका लागि मौजुदा चौतारी, पोखरी, तालतलैया, नदीनाला, मठ मन्दिरहरुको अभिलेखिकरण गर्ने बताइएको छ । सार्वजनिक जग्गाको संरक्षणका लागि ३३ वटै वडासँग विवरण माग गर्ने र सार्वजनिक जग्गाको संरक्षणका लागि निर्देशिका तयार गरी कार्यन्वयनमा ल्याउने उल्लेख छ । नगरक्षेत्रभित्र सार्वजनिक शौचालयको अभाव रहेकाले आगामी तीन महिना भित्र अहिले भएका दुई वटा शौचालयलाई थप ब्यवस्थित बनाउदै थप तीन स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि सारिएको छ ।  सुधार योजनामा ६ महिनाभित्र महानगरको प्रोफाइल तयार गर्ने, टोल विकास संस्थाको कामलाई थप प्रभावकारी बनाउने, १ बर्ष भित्र महानगरमा बसोवास गर्ने ७० बर्ष नाघेका बृद्धबृद्धा एबं अपाङ्गता भएका ब्यक्तिका लागि नगर क्षेत्रमा निःशुल्क बस सेवा सुरु गर्ने, क्षेत्रीय बसपार्क निर्माण कार्यलाई ब्यवस्थित रुपमा अघि बढाउने, पोखरा सभागृहलाई मर्मत एबं सुधार गर्ने तथा दुई बर्ष भित्र महानगरमा चक्रपथको अबधारणलाई अघि बढाउने कार्यकारी अधिकृत पौडेलले बताए । कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सह सचिव डा. हरि पौडेलले सार्वजनिक गरिएका सुधार योजना कार्यन्वयनमा ध्यान दिन आग्रह गरे । उनले संबिधानले परिकल्पना गरे अनुसार स्थानीय तह कार्यन्वयनमा ल्याउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । निर्वाचन सम्पन्न भएपछि निर्वाचित हुने पदाधिकारीका लागि पनि स्थानीय तह सञ्चालन सम्बन्धमा मन्त्रालयले क्षमता अभिबृद्धिको लागि तालिम दिने र निर्वा्चित जनप्रतिनिधिलाई सघाउन कर्मचारीलाई पनि अभिमुखीकरण दिने कार्ययोजना रहेको जानकारी गराए ।

Post a Comment

 
Top