0
गोल्डेन न्यूज संवाददाता
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा नेपाल प्रहरीका लागि एक दिने अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय मैत्री ब्यवहारका लागि आयोजित अभिमुखीकरणमा जिल्ला प्रहरी कार्यालय कास्की सहित मातहतका प्रहरी युनिटबाट पदिक, विल्लादार र जवान गरी झण्डै ३० जना सहभागी थिए । कग्लोवल फण्डको एमएसए एचआइभी कार्यक्रम र सेभ द चिल्ड्रेनको सहयोगमा निलहिरा समाजले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारीलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा बुझाउदै प्रहरी र समुदाय विच सौहार्दपूर्ण वातावरण निर्माण गर्न खोजिएको हो । निलहिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालका अनुसार प्रहरी कर्मचारीको क्षमता अभिबृद्धिका साथै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमैत्री ब्यवहारका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । प्रहरीले यो समुदायका ब्यक्तिहरु प्रति गर्ने ब्यवहार सुधारका लागि पनि अभिमुखीकरण कार्यक्रम सार्थक हुने उनको विश्वास छ ।  कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पंख्यक समुदायको अधिकारमा वकालत गर्दै आएकी अधिकारकर्मी भूमिका श्रेष्ठले यौनिक अभिमुखीकरण र लैङ्गिक पहिचानको विषयमा जानकारी गराएकी थिइन् । यौनिक तथा लैङ्गिक अल्पंख्यक समुदायप्रति समाजले हेर्ने दृष्टिकोण र गर्ने ब्यवहार पहिलेको तुलनामा सुधार भएपनि अझै जागरणको खाँचो रहेको उनले बताइन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरामा प्रमुख सूर्य बहादुर देउजाले अपराधिकरण, विभेद र दुब्र्यवहार प्रति सजक हुन प्रहरी कर्मचारीलाई आग्रह गरे । यौनिक तथा लैङ्गिक अल्पंख्यक समुदाय प्रति प्रहरीको ब्यवहार अन्य नागरिक सरहनै हुनुपर्नेमा उनले जोड दिए । आयोगले यो समुदायका अधिकारको विषय अन्तर्राष्ट्रिय स्तरमा उठान गरिरहेको उनले स्पष्ट पारे ।  इन्सेक पश्चिमाञ्चल क्षेत्रीय प्रमुख शिव खकुरेलले यौनिक तथा लैङ्गिक अल्पंख्यक समुदायप्रति समाज र राज्य अझै पूर्णरुपमा सकारात्मक हुन नसकिरहेकाले संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयनमा ल्याउनुपर्ने खाँचो औल्याए ।

प्रहरी नायब निरीक्षक स्थानेश्वर चापागाइँले अभिमुखीकरणले प्रहरी कर्मचारीको पेशागत क्षमतामा निखारता ल्याउने काम गरेको बताए । यो समुदाय प्रति प्रहरीले आगामी दिनमा मैत्रीपूर्ण ब्यवहार गर्ने उनको प्रतिबद्धता छ । कार्यक्रममा बोल्दै तेस्रोलिङ्गि विन्दिया गौतम र समलिङ्गि राज क्षेत्रीले पहिलेको तुलनामा घरपरिवार, छरछिमेक र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै आएको बताए । उनीहरुका अनुसार कानुन कार्यान्वयन तहमा रहेका प्रहरी कर्मचारीको पनि यौनिक तथा लैङ्गिक अल्पंख्यक समुदायमैत्री ब्यवहारको भने अझै खाँचो छ । निलहिरा समाजले देशभर प्रहरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । जस अनुसार पोखरापछि राजधानी काठमाडौं सहित भैरहवा, धनगढी, मोरङ्ग, चितवन र नेपाल गञ्जमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने निर्देशक ढकालले बताइन् ।









Post a Comment

 
Top