0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले विकसित पोखरा, संवृद्ध पोखरा र सुखी पोखरेली बनाउन एमाले तयार रहेको बताएका छन् । एमाले चुनाव प्रचार–प्रसार समिति पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ को कार्यालय तथा पार्टी कार्यालय समेत उद्घाटन गर्दै अध्यक्ष थापाले आफू पोखराको महानगरको अवधारणा मेयर बन्दा नै अघि बढाएको उक्त कार्यले बल्ल सार्थकता पाएको बताए । उनले भने–‘जसको नीति उसकै नेतृत्व भने जस्तै महानगरको अवधारणा र विकासको थालनी एमालेले नै गरेकाले अबको नेतृत्व अन्य पार्टीले गर्न सक्दैन ।’ पोखरा ४ मा पटक–पटक कांग्रेसले निर्वाचन जितेपनि केही गर्न नसकेको भन्दै उनले एक पटक एमालेलाई मत दिएर हेर्न आग्रह गरे । उनले पोखरा–४ महानगरकै सेन्टर पर्ने भएपनि अन्यत्रजस्तो विकास हुन नसकेको भन्दै यस क्षेत्रलाई संवृद्ध र सबैभन्दा उत्कृष्ट वडा बनाउन एमाले तयार रहेको स्पष्ट पारे ।  चिप्लेढुङ्गा चोकमा रहेको विपिको शालिकको केही आकर्षण नभएर आफू मेयर हुँदा वाटर फाउन्टेन बनाएपनि पछि कांग्रेसले नै भत्काएको थापाले आरोप लगाए । उनले भने–‘विपिको शालिकलाई आकर्षक बनाउन मैले वाटर फाउण्टेन र ट्राफिक लाइटको व्यवस्था गरेको भएपनि पछि कांग्रेसले नै भत्कायो र अझै पनि बन्न सकेन ।’ उनले महानगरको वडा ४ को कार्यालय र श्रीकम्प्लेक्स बजार आफ्नै पहलमा निर्माण भएको भन्दै पोखरा–४ को विकासमा एमालेले गम्भीर भएर सोच्ने स्पष्ट पारे ।  प्रजातन्त्रको रक्षाका लागिमात्र पटक–पटक जनताले भोट दिएको भएपनि कांग्रेसकै कारण प्रजातन्त्र पटक–पटक धरापमा परेको भन्दै उनले एमालेले जित्ने गरि जनताको सेवक भएर काम गर्न उम्मेदवार तथा कार्यकर्तालाई निर्देशन दिए । एमाले कास्कीकी उप–सचिव प्रभा कोइरालाले पोखरा–४ मा एमाले सधैं कमजोर हुँदै आएको भएपनि यसपटक निकै बलियो भएको दावी गरिन । जनताले एमालेलाई खोजिरहेको भन्दै उनले जनताको सेवामा र चुनावी अभियानमा दह्रोसंग लाग्न उम्मेदवार तथा कार्यकर्ताहरुलाई निर्देशन दिइन ।एमाले कास्कीका सचिवालय सदस्य तथा पोखरा ४ का इन्चार्ज मदनकाजी श्रेष्ठले एमालेले मुलुकका लागि दिएको योगदान र सरकारमा बसेर गरेका काम र भावी दिनमा पनि खेल्न सक्ने भूमिकाका बारेमा बुझ्न पार्टीको नीति तथा कार्यक्रम राम्रोसंग अध्ययन गर्न आग्रह गरे । भौगोलिक हिसावले पोखरा ४ सानो भएपनि विकासमा निकै पछि परेको उनले गुनासो गरे । 
पोखरा–४ को अध्यक्ष पदको एमाले उम्मेदवार कृष्ण प्रसाद पराजुली (ढाकामोहन) ले आशन्न चुनावमा आफू विजयी भए पोखरा–४ को विकासमा प्रतिवद्ध भएर लाग्ने बताए । पोखरा ४ का सबै सडक पक्की तथा ढलान, सबै टोलमा सोलार बत्ति राख्नुका साथै फिर्केखोला संरक्षण र ठूला चोकहरुलाई थप व्यवस्थित बनाउने उनको मुख्य प्रतिवद्धता छ ।  एमाले पोखरा–४ का अध्यक्ष शंकर बहादुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नवराज बाँस्तोलाले स्वागत र पत्रकार कञ्चन थापाले कार्यक्रम संचालन गरेकी थिइन ।  आशन्न स्थानीय तहको निर्वाचनमा पोखरा–४ मा एमालेबाट अध्यक्ष पदमा कृष्ण प्रसाद पराजुली (ढाकामोहन) अध्यक्ष, महिला सदस्यमा कल्पना गौतम, दलित महिलामा कमला सिके, खुल्ला सदस्यमा अनिलबहादुर कोइराला र अब्दुल हमिद मियाले उम्मेदवारी दिएका छन् । उम्मेदवारीको घोषणा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले गरेका थिए ।



Post a Comment

 
Top