0
गोल्डेन न्यूज संवाददाता
स्थानीय तहको निर्वाचनमा लोकप्रिय र क्षमतावान व्यक्तिलाई उम्मेदवार बनाउन कांग्रेस नेतृत्वलाई भ्रातृ संस्थाका प्रतिनिधि एवं पेसागत बुद्धिजीवीले सुझाएका छन् । ‘हाम्रोभन्दा पनि राम्रो उम्मेदवार’ को छनोट गर्न उनीहरूले सुझाव दिएका हुन् । निर्वाचन घोषणापत्र तयार पार्न गठित कांग्रेस नेता महेश आचार्यको संयोकत्वको समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गरेको छलफलमा सुझाव दिने अधिकांशको चासो पार्टीले कस्ता उम्मेदवार बनाउँछ भन्नेमा केन्द्रित थियो । उम्मेदवार चयन गर्दा पार्टी्भित्रको विभाजित मानसिकतालाई त्यागेर बृहत् एकता निर्माण गर्नसमेत उनीहरूले आग्रह गरे । कार्यकारी अधिकारसहितको स्थानीय तहको संरचना निर्माण हुन लागिरहेका बेला पार्टीले पुरानै संरचनामा जस्तो उम्मेदवार छनोट गर्न नहुने उनीहरूले बताएका थिए । ‘अहिलेको स्थानीय तह पहिलाको जस्तो होइन, कार्यकारी अधिकार सम्पन्न स्थानीय सरकार हो,’ छलफलमा सहभागीको जोड थियो, ‘संविधानका अधिकारलाई कार्यान्वयन गर्न सक्ने, कानुन बनाउन सक्ने व्यक्तिलाई उम्मेदवार चयन गर्नुहोस् ।’ पूर्वराजदूत एवं राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष शंकर शर्माले राज्यको स्रोत बाँडफाँड र अधिकारमा अन्योलपूर्ण स्थिति विद्यमान रहेकाले पार्टीले घोषणापत्र बनाउँदा सेवा प्रवाह गर्ने क्षेत्र समेटेर स्पष्ट कार्ययोजना अघि बढाउनुपर्ने बताए । स्थानीय तहको आर्थिक विकासको मुद्दामा नै केन्द्रित गरेर कांग्रेसले घोषणापत्र ल्याउनुपर्नेमा उनको सुझाव थियो । प्राध्यापक संघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद गौतमले उम्मेदवार छनोट गर्दा जित्नेलाई उम्मेदवार बनाउनुपर्ने बताए । ‘स्थानीय तहमा एमालेसँग प्रतिस्पर्धा गर्न कांग्रेसले दायाँबायाँ नहेरी जित्न सक्ने व्यक्तिलाई टिकट दिनुपर्छ,’ उनले भने, ‘यो आफ्नो हो कि होइन भनेर हुन्न, कसलाई टिकट दिँदा जित हासिल हुन्छ, त्यस्तोलाई उम्मेदवार बनाउनुपर्छ ।’  श्रीलंकाका लागि प्रस्तावित राजदूत विश्वम्भर प्याकुरेलले प्रमुख प्रतिपक्ष एमालेले चलाएको ‘नक्कली राष्ट्रवाद’ लाई चिरेर अघि बढ्नुपर्ने बताए । कांग्रेसका डकुमेन्ट राम्रो हुने, मन्त्रीहरूको प्रतिबद्धता पनि राम्रै हुने तर कार्यान्वयनमा केही नआउने कारणले समस्या आएको उनले बताए ।  गुणनिधि तिवारी र विनोद श्रेष्ठले स्थानीयस्तरमा मतदाता सँग भिजेर काम गरेका लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाइएमा कांग्रेसले स्थानीय निकायमा पकड कायम राख्न सक्ने बताए ।  सबैको धारणा सुनिसकेपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सुझावकै आधारमा पार्टी अघि बढ्ने बताए । मस्यौदा समिति संयोजक आचार्यले एक साताभित्र पहिलो मस्यौदा ल्याउने र त्यसमाथि छलफल गराएर वैशाख पहिलो साता पार्टीको निर्वाचन घोषणापत्र ल्याइने बताए ।  उनले संसदीय निर्वाचनको जस्तो नभएर स्थानीय सरकारको अधिकार अन्तर्गत विकास पूर्वाधारलाई घोषणापत्रमा समेटिने उल्लेख गरे । ‘स्थानीय तहमा कृषिसँग सम्बन्धित मुद्दा, पानी, बाटो, सडक सञ्जाल विस्तार, असहाय, वृद्धवृद्धा, महिला, केटाकेटीको हकहित र सुरक्षाका कार्यक्रम, थातथलोको संरक्षणलगायतका विषय समेटिने छन्,’ उनले भने । आचार्य नेतृत्वको समितिले शुक्रबार पार्टीका केन्द्रीय सदस्य र सांसदहरूसँग घोषणापत्रमा समेट्नुपर्ने विषयबारे छलफल गर्ने जनाएको छ ।




Post a Comment

 
Top