0
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा कास्कीका राजनीतिक दल भने योग्य उमेदवार छान्नमा व्यस्त देखिएका छन् । जनताको माझमा लोकप्रिय, स्वच्छ छवि र निर्वाचित भएपछि जनताको पक्षमा काम गर्नसक्ने खालका उम्मेदवार छान्ने कसरतमा यहाँका दल लागेका हुन् । नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण केसीले वैशाख २ वा ३ गतेभित्रमा  सबै उम्मेदवारको टुङ्गो लगाईसक्ने दाबी गरे ।  उम्मेदवारका आकांक्षीहरूको नाम सङ्कलन गर्ने काम भइरहेको र जिल्ला कार्यसमितिको बैठकले  तीमध्येबाट योग्य उम्मेदवार छनोट गर्ने उनले बताए ।   नयाँ संरचना अनुसार जिल्लामा पार्टी सङ्गठन विस्तार गर्दै गरेको एमाले कास्कीका कार्यालय सचिव बैनबहादुर क्षेत्री बताउछन् । वडा अध्यक्ष र सदस्यको उम्मेदवारका लागि ३० गतेभित्र सम्बन्धित महानगर तथा गाउँपालिकाका वडाले जिल्लामा सिफारिस गरिसक्ने उनले जानकारी दिए। वैशाख ४ गते बस्ने सो दलको बैठकले उम्मेदवारको टुङ्गो लगाउने जनाइएको छ ।   नेकपा माओवादी केन्द्रका स्थानीय नेता विश्वप्रकाश लामिछानेले चैत ३१ गतेभित्र महानगर, गाउँपालिका र वडाका उम्मेदवारको टुङ्गो लगाइसक्ने बताए । पार्टीले नयाँ संरचनाअनुसार जिल्लाका सबै ठाउँमा सभा, सम्मेलन, बैठक गरिहेको उनले जानकारी दिए ।   
“राप्रपा अभियान महिला अग्रस्थान” भन्ने मूलनाराका साथ राप्रपाले महिलालाई विशेष स्थान दिनलागेको पार्टीका जिल्ला अध्यक्ष जयलाल पुनको विचार छ । उनका अनुसार राप्रपा अन्य पार्टीसँग तालमेल गर्ने तयारीमा समेत छ । मतदाताको मत आकर्षित गर्न  अरु पार्टीले पुरुष उम्मेदवार उठाएका ठाउँमा राप्रपाले महिला उठाएर जित सुनिश्चित गर्ने रणनीतिमा रहेको अध्यक्ष पुनले बताए । दलहरूका कार्यकर्ता पनि टिकट लिन नेताको घर दैलोमापुग्न थालेको देखिन्छ । केहीले त विभिन्न सञ्चार माध्यमबाट आपूm उठ्ने भनेर प्रचार–प्रसार समेत गर्न थालेका छन् ।

नेपालको क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उपप्रमुख जित्न यहाँका प्रमुख दल नेपाली काँग्रेस, एमाले, (माओवादी केन्द्र) र राप्रपाका नेता  दिनहुँजसो बैठक गरिरहेका छन् ।
महानगरपालिकाका ३३ वटा वडा, चार गाउँपालिका र वडाका पद आफनो पक्षमा पार्न सबै दल लागिपरेको देखिन्छ । जिल्लामा सबै पदबाट ३७० जना जनप्रतिनिधि निर्वाचित हुने छन् । 
जिल्लामा २३ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा पार्टी दर्ता गरेका छन् । रासस


Post a Comment

 
Top