0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले निर्वाचन आयोगले गत चैत ५ गते पार्टीको विधानबाट सर्वधर्म, सद्भाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र सम्बन्धी व्यवस्था हटाउने निर्णय विरुद्ध प्रदर्शन एवं आयोगको निर्णयको प्रतिलिपि जलाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत ७ सय ४४ वटै गाउँपालिका र नगरपालिकामा जुलुस सहित निर्वाचन आयोग पुगेर प्रतिलिपि जलाउने कार्यक्रम अन्तर्गत राप्रपा कास्कीको पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस पृथ्वीचोक सृजनाचोक हुँदै निर्वाचन आयोगको क्षेत्रीय कार्यालयमा पुगेर प्रतिलिपि जलाइएको थियो ।  विरोध सभामा बोल्दै प्रमुख अतिथि राप्रपाका सह–महामन्त्री एवं अञ्चल संयोजक हेमजंग गुरुङ्गले पार्टीको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउन निर्णय फिर्ता नगरे पार्टी सरकारबाट हट्न सक्ने समेत चेतावनी दिए । ठूलादल भनाउँदाहरुले विगतका चुनावमा आफ्नो एजेण्डा पारित गरिरहेको अवस्थालाई मध्यनजर गर्दै अहिले तत्काल आएर हाम्रो पार्टीको एजेण्डाहरु हटाउन खोजेकाले उनीहरुको हार मानसिकताको उपज भएको बताए। राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य डा.भिमसेन गुरुङ्ग, पूर्व केन्द्रीय सदस्यहरु कुल बहादुर गुरुङ्ग कुलु, जेवि कुँवर लगायतले स्थानीय तहको चुनाव समयमा नै हुनुपर्ने भन्दै राप्रपाको मुख्य एजेण्डा भनेको संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र कायम भएकोले उक्त मुद्दामा सँधै लडिरहने बताएका थिए। कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष तथा प्रचार–प्रसार संयोजक वरुणबिक्रम राणाले गरेका थिए । राप्रपाको विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउने निर्णय विरुद्ध राप्रपाले बैशाख ८ गते ७२ जिल्लामा विरोध सभा गर्ने र निर्वाचन आयोग अगाडि धर्ना दिने कार्यक्रम तय भएको छ ।





Post a Comment

 
Top