0
गोल्डेन न्यूज संवाददाता
कास्कीको पोखरा महानगरको मेयरमा राप्रपा कास्कीबाट करिब दर्जन बढी नेताले दाबेदारी गरेका छन् भने उपमेयरमा ४ जनाले इच्छा देखाएका छन् । पार्टीको सोमबार भएको बैठकमा नेताहरूले दाबेदारी पेस गरेका हुन् । पार्टीबाट मेयरमा केन्द्रीय सदस्य डा. भीमसेन गुरुङ, पूर्व केन्द्रीय सदस्यहरू रोमबहादुर भण्डारी र विष्णुदेवी गुरुङ, पोखराका पूर्व मेयर भीमसेन थापा, पोखरा नगर अध्यक्ष रमेश बहादुर खत्री र साविक लेखनाथका पूर्व मेयर विष्णु पोखरेलले दाबी गरेका छन् । यस्तै, कास्की अध्यक्ष जयलाल पुन, पूर्व जिल्ला उपसभापति महेन्द्रबहादुर कार्की, पूर्व लेखनाथ अध्यक्ष कृष्णराज गिरी, क्षेत्र नं १ का अध्यक्ष नारायण गुरुङ र जिल्ला सदस्य प्रेम मल्लले पनि मेयरमा उम्मेदवार बन्न चाहेका छन् । मेयरको अनुपातमा उपमेयरमा भने चासो कम देखिएको छ । उपमेयरमा जिल्ला उपाध्यक्ष हरिदेवी अधिकारी, क्षेत्र नं. २ अध्यक्ष गीता गुरुङ, जिल्ला सहसचिव धनुमाया कोइराला र कास्की कोषाध्यक्ष रञ्जना सेन पौडेलले उम्मेदवार हुने आकांक्षा देखाएका छन् । राप्रपा कास्कीले विकास, निर्माणका मुद्दा पहिचान र स्थानीय तहको घोषणापत्र तयारी गर्न जिल्ला उपाध्यक्ष विष्णुप्रसाद पोखरेलको संयोजकत्वमा समिति गठन गरेको राणाले बताए । आकांक्षीहरूको नाम सिफारिस गरी महानगर परिचालन समितिले चाडै केन्द्रमा पठाउने जिल्ला उपाध्यक्ष एवं प्रचार समिति संयोजक वरुणविक्रम राणाले जानकारी दिए । यसैबीच नेपाल कम्युनिष्ट पार्टी संयुक्त प्रदेश नं. ४ का इन्चार्ज प्रेमकाजी गुरुङले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् । पार्टीको हालै भएको केन्द्रीय समिति बैठकले मेयरसहित स्थानीय तह निर्वाचनमा पोखरा महानगरकाका उम्मेदवार तय गरेको हो । यसैगरी, पोखरा वडा नं ५ मा लालबहादुर सिके, वडा नं ९ मा गणेशप्रसाद तिमिल्सिना, वडा नं. १६ मा डम्बरबहादुर थापा (भूपेन्द्र), वडा नं. १७ मा विष्णुप्रसाद शर्मा र वडा नं. २३ मा चन्द्रबहादुर थापालाई वडा अध्यक्षमा उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ । नेकपा संयुक्तबाट उपमेयरमा पार्वती तिमिल्सिना, रुपा गाउँपालिका प्रमुखमा दीपकराज पौडेलले उम्मेदवारी दिने तय भएको पार्टीका कास्की सचिव डम्बरबहादुर थापा (भूपेन्द्र) ले जानकारी दिए ।







Post a Comment

 
Top