0
हरि पन्त
पोखरा २६ चैत्र
पोखराको ट्राफिक व्यवस्थापन को कुरा उठ्न थालेको धेरै वर्ष भइसकेको छ । सडकको क्षमता एउटै भएपनि
सवारी साधनको संख्या दिनदिनै थपिंदै जाँदा पोखराको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। यसका साथै विभिन्न राजनीतिक दलहरु, पार्टीका संघ–संगठनका साथै विभिन्न संघ–संस्थाले पनि प्रदर्शन, नारा, धर्ना र जुलस आयोजना गर्ने स्थान सडक नै रोज्ने गरेका कारण जनतालाई सास्तीमात्र हुँदैन ट्राफिक प्रहरीको टाउको दुखाइको विषय बन्न पुग्छ । पोखराको विभिन्न चोकमा रहेका ठूला आइल्याण्ड, अव्यवस्थित पार्किङ पनि ट्राफिक व्यवस्थापनको समस्या बनेको छ । आइल्याण्ड घटाउन विज्ञले सुझाव दिएपछि ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित निकायमा पहल गरेपनि सार्थकता पाउन सकेको छैन ।
पोखरा महानगरपालिका बनेसंगै ट्राफिक व्यवस्थापनको विषयले चर्चा पाउन थालेको छ ।  सभा समारोहका साथै सामान्य छलफलमा समेत ट्राफिक व्यवस्थापनको कुरा जोडतोडले उठ्न थालेको छ । 
शनिबार पोखरामा आयोजित व्यवसायीहरुको एक कार्यक्रममा पनि ट्राफिक व्यवस्थापनको कुराले प्राथमिकता पायो । चिप्लेढुङ्गा–सिद्धार्थकोचोक व्यवसायी समितिको प्रथम अधिवेशनका क्रममा बोल्ने अधिकांश वक्ताहरुले ट्राफिक व्यवस्थापनका विषयमा कुरा उठाए भने ट्राफिक प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीले विभिन्न सुझाव प्रस्तुत गरे ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ४ का संयोजक सञ्जिव बहादुर कोइरालाले पार्टी तथा संघ–संस्थाले कार्यक्रम गर्दा सडक रोजेको प्रति खुलेर विरोध गर्दै सडकमा आन्दोलन, सभा, धर्ना, जुलुस गर्दा ट्राफिक व्यवस्थापन अस्त–व्यस्तमात्र नभइ व्यवसायीको अधिकार समेत कुण्ठित भएको बताए । ‘सडकमा कार्यक्रम गर्दा राजनीतिक पार्टीलाई क्षणिक लाभ त गर्ला तर दीर्घकालिन रुपमा पार्टीलाई नै घाटा हुन्छ’, उनले भने–‘जनताले सास्ती पाउँछन्, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन्छ, व्यवसायीले व्यवसाय गर्न पाउँदैनन ।’ सडकमा गरिएको कामर्यक्रमबाट जनताले पाएको दुःख तथा व्यवसायीले खेप्नुपरेको समस्या राम्रैसंग हिसाव–किताव गर्ने उनले बताए । उनले भने–‘जनता बुझ्ने भइसकेका छन्, भिजन भएका नेता र राम्रो काम गर्न सक्ने पार्टीलाई मत दिने हुन्, सडकमा आन्दोलन गरेर जनतालाई दुःख दिनेलाई होइन ।’ सडकमा गरिने सबै कार्यक्रममा सधैंका लागि बन्द गरिनुपर्ने उनको जोड छ । 
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका कोइरालाले यस विषयमा पोउवासंघले धेरै अघि पहल गरेको भएपनि राजनीतिक पार्टीले नै अटेर गरेका कारण समस्या समाधान हुन नसकेको कोइरालाले बताए । पोउवासंघको पहलमा फुटपाथ व्यवस्थापन भएपनि उक्त स्थान हाल पार्किङले कब्जा गरेको भन्दै उनले चिन्ता प्रकट गरे । उनले भने–‘हामीले पार्किङका लागि थुटपाथ हटाएका होइनौं । ट्राफिक व्यवस्थापन र सुन्दर सहरको रुपमा पोखरालाई विकास गर्न हो ।’
नगरपालिकाले पार्किङ शुल्क उठाएर गैरकानूनी काम गरिरहेको भन्दै यसलाई पोखरावासीले सधैं सहेर बस्न नुहने उनको भनाइ छ । उनले पार्किङ कुनै निजी खाली जग्गामा गर्नुपर्ने भएपनि उक्त जग्गा पछि जग्गा धनीले पाउँदैनन् कि भन्ने आशंकाले जग्गा पाउन समस्या भएको बताए ।
अर्को प्रसङ्गमा उनले पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीका लागि जति गर्नुपर्ने हो त्यति गर्न नसकेको स्पष्ट पारे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले पार्किङ व्यवस्थापन, आइल्याण्ड तथा मानव अधिकारचोकको चौतारो भत्काएमा ट्राफिक समस्या आधा हल हुने विश्वास व्यक्त गरे। उनले व्यवसायी संग  ट्राफिक व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गर्दै उनले भने–‘पसल अगाडि पार्किङ गर्दैमा व्यापार बढ्छ भन्ने सोचाइ त्यागेर घर नजिक पसल भएका व्यवसायीले सवारी–साधन सडकमा नल्याइदिनुस् । यसो गर्दा पनि ट्राफिक व्यवस्थापनमा मद्धत पुग्छ ।’
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष विन्दु कोइराला सुवेदीले ट्राफिक व्यवस्थापनका लागि निजी साधन चढ्न छाडेर सार्वजनिक साधनमा यात्रा गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिइन । निजी साधनमा यात्रा गर्न निरुत्साहित र सार्वजनिक सवारी साधनमा यात्रा गर्न प्रोत्साहन गर्ने हो भने ट्राफिक समस्या आधा हल हुने उनको विश्वास छ । अर्को प्रसङ्गमा उनले व्यवसायीका सबै समस्या समाधानमा पोउवासंघले पहल गर्ने स्पष्ट पारिन् । 
पोउवासंघका सदस्य तथा सुनचाँदी आभूषण संघका अध्यक्ष किसान सुनारले पोखराको ट्राफिक व्यवस्थापनमा बेलैमा ध्यान नदिने हो भने यसले विकराल रुप लिन सक्ने बताए । यस विषयमा ट्राफिक प्रहरी कार्यालय, महानगरपालिका, सडक डिभिजन तथा प्रशासन समेत अग्रसर हुनुपर्ने खाँचो औंल्याए ।
चिप्लेढुङ्गा सिद्धार्थचोक व्यवसायी समितिका सचिव मोती भुजेलले ट्राफिक उभिने चोकमा शालिकहरु उभिएकाले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको भन्दै शालिकहरुलाई संग्रहालयमा राख्नुपर्नेमा जोड दिए। 
समितिका सल्लाहकार कृष्ण बहादुर गुरुङले पोखराको मुख्य बजार चिप्लेढुङ्गाको पार्किङलाई अन्यत्रै लैजानुपर्नेमा जोड दिए । उनले पसल अगाडि पार्किङ नगरिए व्यापार हुँदैन भन्ने मानसिकता व्यवसायीले त्याग्नुपर्ने बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका समितिका अध्यक्ष देवबहादुर (डिवि) भुजेलले चिप्लेढुङ्गाको ट्राफिक व्यवस्थापनमा व्यवसायीले पनि अग्रसरता देखाएकाले ट्राफिक प्रहरीलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिवद्धता जनाए । उनले पोखराको चिप्लेढुङ्गालाई प्रदेश नं. ४ कै उत्कृष्ट व्यापारिक क्षेत्रको रुपमा विकास गर्न समिति प्रतिवद्ध भएर लाग्ने स्पष्ट पारे । उनले भने–‘समितिको पहलमा सरसफाइ, सुरक्षा, व्यवसायिक एकता भएको छ । अब व्यवस्थित, प्रदुर्षण मुक्त, ध्वनिप्रदुर्षण मुक्त, ट्राफिक जाम मुक्त बनाउन सम्बन्धित निकायलाई सहयोग गर्न तयार छौं ।’
कार्यक्रममा चिप्लेढुङ्गा महिला सेवा समितिकी अध्यक्ष रमा पराजुलीले चिप्लेढुङ्गालाई उत्कृष्ट बजार बनाउन आफूहरुले पनि सघाउने बताइन । 

Post a Comment

 
Top