0
कांग्रेस नेता ऋषि काफ्ले
हरि पन्त
सरकारले आगामी वैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा कास्कीमा चुनावी रौनक बढ्दै गएको छ । कास्कीमा क्रियाशील राजनीतिक दलहरुले आ–आफ्नै ढङ्गले चुनावी प्रचार र तयारीलाई तीव्र पारेका छन् । भौगोलिक हिसावले मुलुककै ठूलो पोखरा लेखनाथ महानगर पालिकाको पहिलो मेयर बन्न विभिन्न पार्टीबाट दर्जनौंले चाहना गरेका छन् । नेपाली कांग्रेसबाट पनि मेयर बन्न चाहना राख्नेको संख्या दर्जन बढी छ । मेयर बन्न चाहना राखेका कास्की कांग्रेसका नेताहरुले पत्रकार भेटघाट, सामाजिक संजालमार्फत प्रचार र नेता तथा कार्यकर्ता भेटघाटलाई तीव्र पारेका छन्। यसैक्रममा युवा नेता ऋषिराम काफ्लेले पनि पोखरा लेखनाथ महानगरको मेयर बन्ने आकांक्षा राखेका छन् । बाहिर खासै खुलेर नलागेपनि उनले पार्टीका केन्द्रीय नेताहरुसंग लविङ,  कार्यकर्ताहरुसंग आन्तरिक भेटघाट र छलफललाई तीव्र परेका छन् । 
शिक्षण पेशा छाडेर करिब ३० वर्ष कांग्रेसको राजनीति गरेका काफ्ले लामो समय कांग्रेसको भातृ संस्था नेपाल तरुण दल कास्कीको नेतृत्व र केन्द्रीय सदस्य भएर काम गरेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीति गरेका उनले भारतको वनासरमा रहेर आइएस्सीको अध्ययन गर्दा कांग्रेसको अन्तरदेशीय केन्द्रीय कार्यालयको सचिव भएर काम गरेका थिए । २०३८ सालदेखि कांग्रेसमा आवद्ध नेता काफ्लेले कांग्रेस पोखरा–१५ को कोषाध्यक्ष, सभापति हुँदै नगर क्षेत्रीय सदस्य समेत भएर काम गरेका थिए । 
कांग्रेसको १२औं महाधिवेशन बाट महासमिति सदस्य समेत बनेका उनी १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका थिए । यसका साथै केही अघि पोखरामा सम्पन्न नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ ।
२०२३ सालमा जन्मिएका काफ्ले मुलुकको विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै पटक–पटक गरि करिब २ वर्ष प्रहरी हिरासत र जेल जीवन बिताएका छन् । पार्टी र कार्यकर्तामाझ सरल र नरम स्वभाव, वैद्धिक व्यक्तित्वको रुपमा चिनिएका काफ्लेले विभिन्न राजनीतिक, शिक्षण, धार्मिक र सामाजिक  संघ–संस्थाको नेतृत्व गरिसकेका छन् ।
पोखरा लेखनाथ महानगरपालिकाको भावी मेयर बन्ने चाहना गरेका काफ्ले पोखरालाई सफा, सुन्दर, व्यवस्थित, संवृद्ध र नमूना शहर बनाउन चाहन्छन् । यसका लागि पोखरामा रिङ्गरोड निर्माण, पार्किङ व्यवस्थापन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र संचालन, अत्याधुनिक बसपार्क निर्माण, औद्योगिक क्षेत्र स्थापना, बाटो, ढल, वत्ति र पानीको भरपर्दो व्यवस्था गर्ने काफ्लेको योजना छ ।
वैदेशिक रोजगारबाट भित्रिने रेमिट्यान्सको सही सदुपयोग गर्दै विदेशिने युवा पिंढी तथा महिलाहरुलाई मुलुकभित्रै स्वरोजगारयुक्त बनाउने, प्रशासन लाई भ्रष्टाचारमुक्त बनाई चुस्त र सुशासन कायम गर्दै पोखरालाई हरेक तवरले चलायमान बनाउने नेता काफ्लेको योजना छ ।
भौगोलिक वनावट, प्राकृतिक सुन्दरता र सोही अनुसारको हावापानी, पर्यटकीय, खेलकूद, धार्मिक र शिक्षाको दृष्टिकोणले समेत उत्कृष्ट मानिएको पोखरालाई विश्वस्तरको संवृद्ध सहरको रुपमा विकास गर्न  विषयगत विशेषज्ञको राय सुझाव अनुसार योजना निर्माण र कार्यान्वयन गर्ने उनको प्रतिवद्धता छ । 
यसैगरी पोखरा विश्वविद्यालय को थप विकास र स्तरोन्नति गर्दै पोखरालाई दक्षिण एशियाकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने नेता काफ्लेको लक्ष्य छ । प्राकृतिक स्रोत र साधनमा नेपाल विश्वकै उत्कृष्ट मुलुक भएरपनि राजनीतिक खिचातानीका कारणले बिग्रिएको भन्दै काफ्लेले मुुलकलाई संवृद्ध बनाउन गरिब, उत्पीडित र अवसरबाट बञ्चित भएकाहरुलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 
लामो समय राजनीतिमा सक्रिय भएको, पार्टी र पार्टीका विभिन्न संघ–संगठनको नेतृत्व गरेकाले पनि आफू मेयरका लागि योग्य व्यक्ति भएको उनको दावी छ । उनले कांग्रेसका धेरै नेता तथा कार्यकर्ताले आफूलाई मेयरमा चुनाव लड्न सुझाव दिइरहेको भन्दै पार्टीले टिकट दिएमा आफूले सहज रुपमा मेयरको चुनाव जित्ने विश्वास छ ।

Post a Comment

 
Top