0
पोखरा २६ चैत्र
चिप्लेढुङ्गा–सिद्धार्थचोक व्यवसायी समितिको अध्यक्षमा पुनः देवबहादुर (डिवि) भजेल चयन भएका छन् ।
समितिको शनिबार सम्पन्न प्रथम अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । भुजेल पोखरा भाँडा व्यवसायी समितिका अध्यक्ष र पोखरा उद्योग वाणिज्य संघका सदस्य समेत हुन् । समितिको उपाध्यक्षमा पूर्ण बहादुर थापा, सचिवमा मोती भुजेल, सह–सचिवमा दुर्गा सुनार र कोषाध्यक्षमा लक्ष्मण न्यौपाने र सह–कोषाध्यक्षमा प्रमोद लिगल चयन भएका छन् । समितिको सदस्यहरुमा पिताम्बर लामिछाने, विष्णु प्रसाद अधिकारी, नविन श्रेष्ठ, किरणराज लामिछाने, मनोज श्रेष्ठ, लक्ष्मण श्रेष्ठ र विश्व राना चयन भएका छन् भने अनिल ढेवाजू र राजेन्द्र बजीमयलाई मनोनित गरिएको छ ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ४ का संयोजक सञ्जिव बहादुर कोइरालाले पोखरा महानगरपालिकाले लागू गरेको एकीकृत सम्पत्ति कर नतिर्न व्यवसायीलाई उर्दी गरेका छन् । उनले नगरपालिकाको गतिविधि मन नपरेर आफूले हालसम्म एकीकृत सम्पत्ति कर नतिरेको भन्दै अन्य व्यवसायीलाई पनि नगरपालिकाको गतिविधि नसच्चिएसम्म एकीकृत सम्पत्ति कर नतिर्न उर्दी जारी गरेका हुन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेको कोइरालाले नगरपालिकाले एकीकृत सम्पत्ति कर लिन बिल लिएर घर–घरमै पुग्नुपर्ने बताए । उनले भने–‘पानी र वत्तिको जसरी एकीकृत सम्पत्ति करको पनि बिल आउनुपर्छ । यो कुरा नपाको एकीकृत सम्पत्ति कर नियमावली १४ नं. बुँदामा पनि उल्लेख छ ।’ उनले नपाले घरमा बिल नल्याउँदासम्म आफूले कर नतिर्ने समेत उद्घोष गरे । एकीकृत सम्पत्ति कर पाँच वर्षसम्म बढाउन नपाइने व्यवस्था भएपनि दुई वर्षमै कर बढाएर नपाले नियम विपरित काम गरिरहेको उनले आरोप लगाए ।
कोइरालाले यस्तो उर्दी गरेपछि कार्यक्रममा सहभागी व्यवसायीहरुले आश्चर्य प्रकट गर्दैै जिम्मेवार व्यक्तिले नै यस्तो भन्न नमिल्ने बताएका थिए ।

Post a Comment

 
Top