0
गोल्डेन न्यूज संवाददाता
स्थानीय तहको निर्वाचन १७ दिनमात्र बाँकी रहेपनि नेपाली कांग्रेस कास्कीले पोखरा लेखनाथ महानगरको मेयर उपमेयर लगायत अन्य तहका उम्मेदवार चयन गर्न सकेन । महानगरको मेयर उपमेयरको उम्मेदवार चयन गर्ने भन्दै बुधबार बिहान कास्की कांग्रेसको कार्यालयमा करिब ३ घण्टा र साँझ पोखराको होटल ग्राण्डमा करिब ४ घण्टा कार्यसम्पादन समितिको बैठक बसेको थियो तर बैठकमा उम्मेदवार छनौट सम्बन्धी न त कुनै मापदण्डका विषयमा छलफल भयो, न त आकांक्षी उम्मेदवारको बारेमा ।  पार्टीको केन्द्रीय समितिको निर्देशन अनुसार जिल्ला स्तरमा कांग्रेसका जिल्ला कार्यसमितिका पदाधिकारी, अधिवेशनमा सभापतिका निकटतम प्रतिस्पर्धी र जिल्लाका सांसद तथा सांसदका उम्मेदवारहरु सम्मिलित कार्यसम्पादन समिति बनेको र सोही समितिले मेयर उपमेयरको टुङ्गो लगाउने भन्दै बैठकको नाममा बुधबारको दिन बिताएको थियो ।  कार्यसम्पादन समितिले जिल्ला सभापति कृष्ण केसी, उपसभापति हरि आचार्य, सचिव सुदिपमोहन भट्टराई र रामराज लामिछाने, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सह–सचिव भरतबहादुर अधिकारी, सांसदहरु यज्ञबहादुर थापा, शारदा पौडेल, जीवन परियार र वृन्दा राना, सांसदका उम्मेदवार शोभियत बहादुर अधिकारी र महादेव गुरुङका साथै सभापति केसीका निकटतम् प्रतिद्वन्दी शुक्रराज शर्मा कार्यसम्पादन समितिमा छन् ।

कास्की कांग्रेसका प्रमुख नेताहरु सम्मिलित कार्यसम्पादन समितिले मयेरको उम्मेदवारका आकांक्षी ३३ जनाको बारेमा छलफल गर्न नसक्नु, ३३ जनामध्ये बाट ८÷१० जनासम्म पनि छनौट गर्न नसक्नु र उम्मेदवार छनौटका लागि सामान्य मापदण्ड समेत बनाउन नसक्नुले कार्यसम्पादन समितिमा रहेका सबैको सक्षमता र कार्यकुशलतामाथि गम्भीर प्रश्न उठेको छ । पोखराको ठूलो र तारे होटल ग्राण्डमा गएर बैठक बसेपछि मेयरका आकांक्षीहरुको संख्या घटाउँदै एक जनाको नाम छनौट गर्न सकिन्छ भन्ने ठानेका कांग्रेसका नेताहरु तारे होटलको सुविधासम्पन्न बैठक कक्षमा घण्टौं विताए र खानपिन गरेपनि उम्मेदवार छनौट प्रक्रियाका बारेमा छलफलमा प्रवेश समेत गर्न सकेनन् । जसका कारण मेयरको उम्मेदवारका आकांक्षी ३३ जना उपमेयरका आकांक्षी १५ जना सबैको नाम पार्टीको केन्द्रीय कार्यालमा पठाउने निर्णय गर्दै उनीहरु राति करिब ९ बजेतिर आ–आफ्नो गन्तव्यमा लागेका थिए ।  आकांक्षीहरुको नाम बिहीबार काठमाडौं पठाइने र शुक्रबार या शनिबारमात्र केन्द्रले निर्णय गर्ने विश्वास कास्की कांग्रेसको छ । पार्टीका जिल्ला सभापति केसीसहितका पदाधिकारीहरुले कसैको बारेमा छलफल गर्दा नराम्रा कुरा समेत आउने भएकाले त्यसको असर आफूहरुलाई आगामी दिनमा पर्न सक्ने ठानेर मौन रहे भने सांसद र अन्य नेताहरु आफ्नो अनुकुलको व्यक्ति छनौट हुन नसक्ने हो कि भन्ने चिन्ताले चुप लागेर बसे ।  मेयर उपमेयर लगायत स्थानीय तहको निर्वाचनमा आकांक्षी देखिएका केही प्रभावशाली र चुनाव जित्न सक्ने खालका व्यक्तित्वहरु भएपनि त्यस्ता व्यक्ति आफू अनुकुल छन् वा छैनन् भन्ने हेरेरमात्र नेताहरुले बोल्ने गरेको बताइन्छ । कार्यसम्पादन समितिमा रहेका नेताहरुमध्ये एकले चाहेको व्यक्तिलाई अर्कोले स्वीकार नगर्ने परिस्थितिका कारण बैठकमा नेताहरु मौन बसेर घण्टौं विताएको बताइन्छ ।  कतिपय आकांक्षीहरुको प्रभाव आम मतदाता सामू राम्रो रहेपनि आफू अनुकुलका लागि मात्रै उम्मेदवार बनाउने रणनीतिमा नेताहरु सक्रिय देखिएका छन् । उनीहरुले महानगरको मेयर उपमेयर मात्र नभएर गाउँपालिका को प्रमुख उपप्रमुखका साथै वडाध्यक्ष र सदस्यहरु समेत व्यक्तिगत रुपमा सम्पर्क गरि उम्मेदवार बन्न प्रेरित गरिरहेका छन् । जसका कारण मतदाता र जनतामा प्रभाव नभएपनि नेताको उक्साहट र दवावका कारण सबै क्षेत्रमा उम्मेदवारको संख्या धेरै भएको हो । आकांक्षीहरुको संख्या धेरै भएपछि कास्कीका सबैजसो गाउँपालिका र महानगरमा प्रमुख उपप्रमुखमात्र नभएर वडाध्यक्ष र सदस्यहरुको छनौट समेत हुन सकेको छैन । 

निर्वाचनको मिति वैशाख ३१ तोकिएपनि एकातिर उम्मेदवार छनौटमा भएको ढिलाई र अर्कोतिर राष्ट्रिय राजनीतिमा देखिएको विवादका कारण निर्वाचनका बारेमा आशंका बढ्दै गएको छ । यस्तो अवस्थामा जिल्लामा रहेका नेताहरु उम्मेदवारको योग्यता, अनुभव, निष्ठा र इमान्दारिताका साथै मतदातामा उसको प्रभाव हेरेर उम्मेदवार छनौट गर्नुपर्नेमा आफूलाई प्रभावशाली मान्ने नेताहरुले नै जवर्जस्ती आफू अनुकुलकालाई मात्र उम्मेदवार बनाउन खोज्नुले नेपाली कांग्रेसको पक्षमा देखिएको चुनावी माहौल समेत विग्रने सम्भावना देखिको छ । पटक–पटक विभिन्न निकायमा निर्वाचित भएर राज्यबाट विभिन्न सुविधा लिएका, पटक–पटक पार्टीको विभिन्न तहको जिम्मेवारी लिएका र सांसद तथा मन्त्रीको नाममा राज्यको बजेट आफू निकटका व्यक्ति र संस्थालाई वितरण गर्नेहरुले नै स्थानीय तहको निर्वाचनमा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउन नखोज्दा कांग्रेसलाई निर्वाचनमा गम्भीर असर पर्ने देखिन्छ । यस्तो अवस्थामा पनि नेताहरुले गम्भीरतापूर्वक छलफल नगरि सबै आकांक्षीहरुको नाम केन्द्रमा पठाउने निर्णय गर्नुले उनीहरुको असक्षमता र असफलता देखिएको कास्की कांग्रेसका कार्यकर्ताहरु बताउँछन् ।  कास्की कांग्रेसले केन्द्रमा सिफारिस गर्ने मेयर पदकका आकांक्षीहरुमा सुदिपमोहन भट्टराई, राजेन्द्रमणि लामिछाने, पुष्प भण्डारी, शिव केसी, रामबाबु भण्डारी, नगेनसिंह ठकुरी, नन्दप्रसाद तिवारी, ठाकुर प्रसाद कंडेल र हेममोहन भट्टराई, बाबुराम आचार्य, ऋषिराम काफ्ले, कृष्ण कार्की, परमेश्वर पोखरेल, विमल बहादुर कार्की, फत्तेबहादुर गुरुङ, निर्मल प्रसाद कर्माचार्य, हरि प्रसाद आचार्य, अशोक पालिखे, विश्व घिमिरे र वजिरमान श्रेष्ठ रहेका छन् ।

यसैगरी लोकेन्द्र कोइराला, रजनी केसी, देवदत्त कोइराला, रामजी कुँवर, विन्दुकुमार थापा, वीरेन्द्रनारायण विजुक्छे, देवराज चालिसे, ऋषिराम सापकोटा, विष्णु प्रसाद बाँस्तोला, नरेशशंकर पालिखे र केशर प्रसाद निर्दोषी रामचन्द्र त्रिपाठी र दुर्गा प्रसाद तिमिल्सिना पनि महानगरका मेयरका आकांक्षी छन् । यस्तै उपमेयरहरुका आकांक्षीहरुमा कोपिला रानाभाट, विन्दु सुवेदी, चन्द्रावती पौडेल, विन्दुकुमारी भण्डारी र तारा अधिकारी, अनिता तिमिल्सिना, आनन्दी कार्की राणा, हीरादेवी शर्मा, माया बराल, सीता गुरुङ, शकुन्तला गुरुङ र सरस्वती गुरुङ, शकुन्तला कोइराला र गंगा केसी र मुक्तिप्रसाद तिमिल्सिना रहेका छन् ।

Post a Comment

 
Top