0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र लेकसाईडको ट्राफिक व्यवस्थापनमा सडकमा पार्किङ मुख्य समस्या देखिएको सरोकारवालाले औंल्याएका छन् । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको समन्वयमा बुधबार पोखरामा  आयोजित एक अन्तक्र्रियामा सहभागी विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सरोकार वालाहरुले लेकसाइडमा साँघुरो सडक भएको र सडकमा अव्यवस्थित पार्किङ गर्नुले ट्राफिक समस्या देखा परेको बताए । लेकसाईडमा निजी क्षेत्रलाई पार्किङका लागि व्यवस्थापन गर्न जिम्मा दिएर, लेकसाईड क्षेत्रमा निर्माण हुने व्यापारी प्रायोजनका भवन तथा होटलहरुमा भुइँतलामा पार्किङको व्यवस्था हुनुपर्ने, सार्वजनिक जग्गामा पनि पार्किङको लागि ठाउँ उपलब्ध गराउन सकिने उनीहरुले बताए । 
लेकसाईडको ट्राफिक व्यवस्थापनमा जस्तोसुकै कदम चालेपनि राम्रो कामको पक्षमा आफूहरु लागिपर्ने सरोकारवालाको प्रतिवद्धता छ ।  सामुदायिक जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराईले लेकसाईडको मुख्य चोकहरुमा अनिवार्य रुपमा जेब्रा क्रसिङ राख्नुपर्ने, घर धनीलाई ट्राफिक नियम सम्बन्धी सचेत गराउनुपर्ने, ठूला सवारी साधनलाई लेकसाइडमा प्रवेश निषेध गर्नुपर्ने माग गरे ।  पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले ट्राफिक चुनौती थपिंदै आएकोमा चिन्ता व्यक्त गर्दै बार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दा यस्तो संरचनाले लेकसाईडको ट्राफिक व्यवस्थापन नहुने दाबी गरे । लेकसाईडको सडकलाई व्यवहारिक रुपमा शान्ति क्षेत्र घोषणा गर्न उनले माग समेत गरे ।  जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले पोखरामा सवारी साधनको आयात नीतिले गर्दा पछिल्लोक्रममा सवारी चाप ह्वात्तै बढेको दावी गरे।  लेकसाईडमा ठूला सवारी साधनहर प्रवेशको विषयमा हाल छलफल भईरहेको भन्दै उनले सबै क्षेत्रबाट ट्राफिक नियमको पालना गर्न आग्रह गरे ।  नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले सडकमा डम्पिङ गरे जसरी सडकबाटै पार्किङ हुने सिस्टमको अन्त्य गर्न माग गर्दै कर्तव्य सहितको नागरिक अधिकारको पालना गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले निजी क्षेत्रलाई पार्किङको व्यवस्थापन दिएर सडकमा पार्किङ गर्ने सिस्टमलाई परिर्वतन गर्न आग्रह गरे । सके सपारौं नसके नविगारौं भन्दै उनले हाम्रो पोखरा, राम्रो पोखरा बनाउने अभियानमा सबै एकजुट हुन आग्रह गरे । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम अध्यक्ष भिम पराजुलीले लेकसाईडमा ट्राफिक नियम सम्बन्धी धेरै समस्याहरु रहेकाले त्यसको न्युनिकरण गर्नका लागि सचेतना आवश्यक भएको बताए । कार्यक्रमा टोल विकास समन्वय समिति बैदामका अध्यक्ष गिरीराज अधिकारी, पोखरा ट्याक्सी व्यवसायी समितिका सचिव तुलसी दाहाल, टेसा पोखराका अध्यक्ष नारायण प्रसाद सुवेदी, एगाका उपाध्यक्ष शंकर भट्टराई, महिला समन्वय समिति बैदामका अध्यक्ष बिष्णु केसी, स्थानीय गणेश ढकाल, चन्द्र बहादुर केसी, चेत नारायण पाण्डे लगायतले लेकसाईडलाई पूर्ण रुपमा ‘नो हर्न’ क्षेत्र घोषणा सहित कार्यान्वयन गराउन माग गरेका थिए । उनीहरुले पछिल्लो समयमा सडकमा छाडा चौपाया बढेको भन्दै  छाडा चौपाया व्यवस्थापन गर्न पनि माग गरे । ‘पोखराको ट्राफिक व्यवस्थापनमा हाम्रो प्रतिवद्धता’ विषयक अन्तक्र्रिया कार्यक्रम रेडियो अन्नपूर्णले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको हो । कार्यक्रमको सहजीकरण पत्रकार दिननाथ बरालले गरेका थिए ।




Post a Comment

 
Top