0
कथाकार मन्दिरा मधुश्रीको कथा कृति ‘बुधनको घोडी’ को पोखरामा शनिबार चर्चा गरिएको छ । हरेक महिनाको अन्तिम शनिबार कुनै किताब वा विषयमाथि परिचर्चा गर्दै आएको ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो ७३ औँ कार्यक्रममा मधुश्रीको सो कृतिमाथि परिचर्चा चलाएका हो । कृतिको चर्चा गर्दै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले ‘बुधनको घोडी’ एउटा राम्रो कथा कृति भएको बताए । 
पुस्तकभित्रका अधिकांश कथा अब्बल रहेका भन्दै समीपले मन्दिराको लेखन शैलीको प्रशंसा गरे । ‘फरक फरक विषयवस्तुमा पनि कथाको बुनोट र प्रस्तुतिको शैली उच्च कोटिको रहेको छ’ समीपले भने, ‘ती कथा पढिरहँदा मन्दिरा मधुश्रीको आगमन नेपाली आख्यान विधाका लागि उल्लेखनीय छ भन्ने लागेको छ ।’ कथाकार मधुश्रीले साहित्यकारहरुमा इमानदारी हुनुपर्नेमा जोड दिइन् । आफूले समाजमा देखेका र भोगेका घटनालाई इमानदारीपूर्वक प्रस्तुत गरेको भन्दै उनले राम्रा सृजना हुँदा हुँदै पनि प्रकाशकहरुले वास्ता नगर्ने परिपार्टीप्रति दुखेसो गरिन् । खोक्रो आडम्बरमा बाँच्ने समाजको यथार्थ देखाउनु आफ्नो लेखनको उद्देश्य भएको मधुश्रीको भनाइ थियो ।  कार्यक्रमका अध्यक्ष तथा सोसाइटीका उपाध्यक्ष केशवशरण लामिछानेले आगामी वैशाख महिनामा मीनराज वसन्तको उपन्यास ‘मुदिर’माथि उदिपराज ढुङ्गानाले परिचर्चा गर्नुहुने जानकारी दिए । सोसाइटीका सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा सरस्वती प्रतीक्षा, गीता पोखरेल, गीता तिवारीलगायतले टिप्पणी गरेका थिए ।




Post a Comment

 
Top