0
गोल्डेन न्यूज संवाददाता
नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले व्यवसायी र मजदूरहरु एक रथका दुई पाङ्गा भएको बताएका छन् ।  नेपाल यातायात मजदुर संघ कास्कीको सातौं अधिवेशनलाई शनिवार पोखरामा सम्वोधन गर्दै उनले व्यवसायी र मजदूरको सम्वन्धले नै हरेक उद्योग धन्दा कलकारखाना फस्टाउने भन्दै मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए। मजदुरका समस्या सुल्झाउन सबै एकजुट हुनुपर्ने भन्दै उनले आउँदो स्थानीय तहको निर्वाचनमा कांग्रेसको जोसुकै उम्मेद्वार उठेपनि उसलाई जिताउन सबै मजदूरहरु एक भएर लाग्नुपर्ने बताए । ट्रेड युनियन कांग्रेस प्रदेश नं ४ का संयोजक मुरारी शर्माले आफ्नो अधिकार लिनका लागि सम्पूर्ण मजदूरहरु एक हुनुको विकल्प नरहेको बताए ।  सो अवसरमा संस्थाले मुरारी शर्मा र कुलराज गुरुङलाई सम्मान गरेको थियो । यातायात मजदुर संघ कास्कीका अध्यक्ष जीतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ४ का संयोजक किरणवावु पन्त, जिल्ला नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष कुलदेवी बराल, केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कमल पौडेल अथक, विश्वप्रकाश बराल, केदार पौडेल, नेपाल स्वतन्त्र मजदूर संगठन गण्डकीका अध्यक्ष विष्णुवहादुर खत्री, माधव गौतम, लालुमाया रेग्मी र युनियनका सचिव अर्जुन खनालले बोलेका थिए ।  




Post a Comment

 
Top