0
गोल्डेन न्यूज संवाददाता
पर्यटकीय नगरी पोखराका होटलमा अकुपेन्सी हृवात्तै बढेको छ । ‘फेवा नव वर्ष महोत्सव’ले लेकसाइडसहित पोखराका होटल भरिभराउ भएका हुन् । महोत्सव सुरु हुनुअघिसम्म पर्यटक नहुँदा लेकसाइडका होटलका कोठाहरु आधा खाली हुन्थे । तर अहिले पोखराका कुनैपनि होटलहरु खाली छैनन् । लेकसाइडका सबै होटलका कोठाहरु बिहीबार रातिका लागि बुकिङ भइसकेका छन् । केहि दिन अघिसम्म लेकसाइडका होटलमा करीब ४० प्रतिशत मात्र अकुपेन्सी थियो । तर महोत्सव शुरु भएसँगै अकुपेन्सी बढेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचनले बताए । उनका अनुसार महोत्सव शुरु भएको चैत २९ गतेदेखि अकुपेन्सी बढ्दै अहिले ९५ प्रतिशतसम्म अकुपेन्सी रहेको जानकारी दिए । महोत्सवको मुख्य दिन होटलहरु भरिभराउ भएको अध्यक्ष शेरचनले बताए । पोखरामा ६ सय होटलहरु छन् । त्यसमध्ये पश्चिमाञ्चल होटल संघमा ४ सय होटलहरु आबद्ध छन् । ती होटलहरुमा करीब १८ हजार बेड रहेको र प्रायः सबै बेडहरु बिहीबार रातिका लागि बुकिङ भइसकेको उनले बताए । काठमाडौं, चितवनसहित देशका विभिन्न ठाउँबाट नयाँ वर्षको स्वागतार्थ आयोजित ‘फेवा नव वर्ष महोत्सव’को अवसर पारेर आउने पर्यटक बढ्दा अकुपेन्सी बढेको उनको भनाई छ ।

पोखरामा हाल आन्तरिक पर्यटकहरु धेरै आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकको फ्लो बढेको संघका अध्यक्ष शेरचनले बताए । उनका अनुसार कुल पर्यटक संख्याको ६० प्रतिशत आन्तरिक र बाँकी ४० प्रतिशत बाहृय पर्यटक पोखरा आउने गर्छन् । नेपालीको कमाई बढ्नुका साथै रमाइलो गर्ने, घुमफिर गर्ने बानीको विकास हुँदा पर्यटक बढेको उनको ठम्याई छ । अहिले पर्यटक आउने सिजन भएकाले पनि होटलहरु भरिभराउ भएको शेरचनको भनाई छ । पर्यटकहरुका लागि मध्य सेप्टेम्बर देखि मध्य डिसेम्बरसम्म मूख्य सिजन र अहिले मध्य मार्चदेखि अप्रिलसम्म दोश्रो सिजन हो । होटलमा पर्यटक बढेसँगै रेष्टुरेण्टको ब्यापारमा पनि उच्च बृद्धि ल्याएको छ । लेकसाईडका रेष्टुरेण्टहरु भरिभराउ हुनुका साथै ब्यापार पनि उल्लेख्य भएको व्यवसायीले बताएका छन् । त्यस्तै, पर्यटक आगमनमा आएको बृद्धिले प्याराग्लाइडिङ, बञ्जीजम्प, जीप फ्लायर, ट्रेकिङलगायतका क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको छ ।

यसैबीच पश्चिमाञ्चल होटल संघ पोखराले कोमागाने पार्कमा आयोजना गरेको चौधौं फेवा नव वर्ष महोत्सव २०७४ अन्तर्गत तेश्रो दिन बिहीबार भएको पर्यटक दौड प्रतियोगितामा हालसम्मकै सबैभन्दा धेरै दुई सय ६० जनाले सहभागिता जनाएका छन् । रन फर फन नाम दिएर आयोजना गरिएको प्रतियोगितामा फ्रान्सका भान जेमी प्रथम भए । यसैगरी अमेरिकाका बेकर द्वितीय र नेदरल्याण्डका जुरियन तृतीय भएका छन् । त्यस्तै महिला तर्फको प्रतिस्पर्धामा अमेरिकाकी एलिसन प्रथम, अमेरिकाकै एस्ले द्वितीय र अष्ट्रेलियाकी जेन तृतीय भए । विजेता मध्ये प्रथमले पोखरा काठमाडौं उडान टिकट उपहार पाए । आधा घण्टाको प्याराग्लाइडिङ उडानको टिकट दोश्रो पुरस्कार स्वरुप प्रदान गरियो भने तृतीयका लागि पोखरा काठमाडौं यात्राको डिलक्स बस टिकट दिइयो । महिला पुरुष सबै विजेताले मायाको चिनो र विजी वी क्याफे लेकसाइडमा ककटेल डिनरको अवसर पनि प्रदान गरिएको छ । संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचन, निवर्तमान अध्यक्ष भरतराज पराजुली, हानका केन्द्री्रय सदस्य एवं संघका सल्लाहकार विप्लव पौडेल तथा संघका सल्लाहकार गोविन्दराज पहारीले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए । रसियाका एक जना अशक्त निकोले कोजेन्भिन्कोवले पनि बैशाखीको सहारामा दौड पूरा गरे ।  पर्यटक दौडमा यति धेरै पर्यटक सहभागी हुनु पोखराको पर्यटन विकास र प्रवद्र्धनका लागि सकारात्मक पक्ष भएको महोत्सवको पर्यटक दौड उपसमितिका संयोजकद्वय ज्याक तामाङ र केशवराज पहारीले बताए । महिला तथा पुरुष धेरै भन्दा धेरै सहभागी हुनुले महोत्सवको आकर्षण समेत बढ्न गएको संयोजक पहारीले बताए । आफ्नो एकल पहलमै धेरै भन्दा धेरै पर्यटकलाई दौड बारे जानकारी गराएर उपस्थित गराएको उनको भनाई थियो । अर्का संयोजक तामाङले दौडप्रति देशविदेशमा प्रचार–प्रसार समेत बढेका कारण पर्यटकहरु फर्की–फर्की पोखरा आउनेक्रम समेत सुरु भएको बताए । सहभागीहरु खहरेचोक नजिक होटल प्सि प्लाजा अगाडि बाट तीन किलोमिटर दक्षिणको फिस्टेल गेटसम्म दौडिएका थिए । सहभागी सबैलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो । सो अवसरमा पंचै बाजाको तालमा पर्यटकहरु नाचेर रमाएका पनि थिए । विजी वी क्याफेले सहभागीलाई निशुल्क टिसर्ट प्रदान गरेको थियो । आगामी वैशाख २ गते सम्म संचालन हुने महोत्सवलाई नेपाल पर्यटन वोर्डले प्रवद्र्धन गरेको छ भने गोर्खा ब्रुअरीले प्रायोजना गरेको छ ।

Post a Comment

 
Top