0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघले पोखरा भ्रमणमा आएको  चिनियाँ युवाहरुको टोलीलाई स्वागत गर्दै पोखराको भौगोलिक, साँस्कृतिक, आर्थिक, पर्यटन लगायतका विविध क्षेत्रबारे जानकारी गराएको छ । नेपाल–चीन युवा आदान–प्रदान कार्यक्रममार्फत नेपाल भ्रमणमा आएको सो टोलीको सम्मानमा बुधबार आयोजित कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाल र चीनको सम्बन्ध देवताको पालादेखि नै सुरु भएको बताए ।
‘मञ्जुश्रीले काठमाडौंको चोभारमा खड्गले हान्दै पानीका निकास खोलेपछि त्यहाँ बस्ती बसेको किंवदन्ती छ’, अध्यक्ष पालिखेले नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै भने–‘भृकुटीको तिब्बतमा भएको विवाहले त हामीबीच झन गहिरो पारिवारिक सम्बन्ध नै स्थापित भएको छ ।’ उनले मित्रराष्ट्र चीन नेपालको भरपर्दौ विकास साझेदार समेत रहेको भन्दै  जनस्तरको सम्बन्ध विकासका लागि यस्ता भ्रमणहरु फलदायी हुने विश्वास व्यक्त गरे। 
पोखराले चीनका केही नगरहरुसँग भगनी सम्बन्ध स्थापना गर्नुको उद्देश्य समेत जनस्तरको सम्बन्ध बिस्तार नै भएको उनको भनाई थियो । उनले ठूलो चीनबाट नेपाल भ्रमण गर्नेहरुको संख्या बढाउनका लागि पहल गर्न सम्बन्धित निकायहरुसँग आग्रह पनि गरे । 
५३ सदस्यीय चिनियाँ टोलीका नेता तथा चिनिया युवा महासंघका कार्यवाहक उपमहासचिव वाङ फेङले यातायातको सहज पहुँच नहुँदा नेपाल घुम्न चाहने चिनियाहरुलाई समस्या परेको बताए । धेरैजसो चिनियाहरुलाई सुन्दर नेपालको बारे जानकारी नहुँदा उनीहरु अन्यत्रै जाने गरेको उनको भनाई छ। सन् २०१५ मा नेपाल आउने चिनियाँहरुको संख्या सोही वर्ष भारत भ्रमणमा निस्कनेभन्दा ४० गुणा बढी भएको चर्चा गर्दै उनले सजिलो र सस्तो हवाई तथा स्थल मार्गको सुविधाले चिनिया पर्यटक बढ्ने विश्वास दिलाए ।
नेपाल आश्चर्यजनक रुपले सुन्दर रहेको भन्दै उनले छिमेकीको सम्वृद्धिका लागि सहयोग गर्न चीन सधैँ तत्पर रहेको स्पष्ट पारे । ‘चीनले अगाडि सारेको वान बेल्ट, बान रोड (एक क्षेत्र, एक सडक) को अवधारणा छिमेकीको सम्वृद्धिको चाहनाले निर्देशित रहेको छ’,उनले भने–‘चीन यो क्षेत्रमा आफ्नो लगानी बिस्तार समेत गर्न चाहन्छ ।’
 उनका अनुसार सन् १९४९ मा स्थापना भएको चिनियाँ युवा महासंघ चिनिया सरकार मातहत रहन्छ । यसमा चीनभर रहेका १ हजार ४०५ वटा राष्ट्रिय कार्यकारी सदस्यसहित ९४ हजार जना कार्यसमिति सदस्य रहन्छन् । संघले  करिब ३० करोड युवाहरुको हितमा काम गर्ने नेता वाङ फेङले बताए । केही वर्षयता नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले युवा आदान प्रदान कार्यक्रम संचालन गर्दै आइरहेको छ । 
युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलियाका अनुसार दुई देशका युवाहरुबीच अनुभव आदान प्रदान एवं सहकार्यको वातावरण निर्माणको लागि यो अभियान संचालन गरिएको हो । चिनियाँले पोखराको नेपालको अन्य पर्यटकीय क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । चीनसँग मात्र नभएर दक्षिण एसियाका अन्य देशहरुसँग पनि नेपाल सरकार युवा मन्त्रालयले यस्तो अभियान संचालन गरेको उनले बताए । 
पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले संचालन गरेको कार्यक्रममा चिनिया टोलीका सदस्यहरुले नेपालको खनिज उद्योग, पर्यटनलगायतका क्षेत्रमा लगानीका सम्भावनाहरु, चिनिया स्वयंसेवक परिचालन लगायतका विषयमा जिज्ञासा राखेका थिए ।







Post a Comment

 
Top